कानुन कार्यान्वयनमा सरकारी उदासीनता : अपाङ्गता भएका व्यक्तिहरूको हालत जस्ताको तस्तै
अपाङ्गता भएका व्यक्तिहरूको अधिकारको क्षेत्रमा विशेष गरी तीन प्रकारका विभेदहरू कायम रहेको पाइयो ।.....
अपाङ्गता भएका व्यक्तिहरूको अधिकारको क्षेत्रमा विशेष गरी तीन प्रकारका विभेदहरू कायम रहेको पाइयो । पहिलो विभेद घर परिवारबाट हुने गर्छ । त्यसै गरी दोस्रो भेदभाव समाजबाट गर्ने गरिन्छ । अनि तेस्रो विभेद राज्यबाट हुने गरेको छ । यी तीनै प्रकारका विभेदबाट अपाङ्गता भएका व्यक्तिहरूलाई उन्मुक्ति दिइ अन्य सर्वसाधारण नागरिक सरहको हक अधिकार स्थापना गरेर उनिहरूलाई परिवार समाज र राज्यमा सम्मानित जीवन विताउने वातावरण सिर्जना गर्नका निम्ति विगत लामो समयदेखि चली आएको आन्दोलन हालसम्म पनि कायम रहेको छ । विश्व समुदायमा राजनैतिक, आर्थिक, सामाजिक तथा प्राविधिक सबै परिवर्तनहरू दिन दुगुना र रात चौगुना विकसित भइरहेको बेलामा पनि अपाङ्गता जगतले विभिन्न तहमा अपमान, अवहेलना, विभेद, पक्षपात, अपमान जनक व्यवहारका विरुद्ध लागि रहन पर्नु एक्काइसौं शताब्धीको विडम्बना हो ।
हाम्रो समुदाय विभिन्न जातजाति, भाषाभाषी, धर्म, वर्णका परिवारहरूको संमिश्रणबाट बनेको छ । यहाँका अधिकांश परिवार ग्रामिण वस्तिहरूमा छन् । देशको भौगोलिक बनावट, विकासको अवस्था आदिले गर्दा विभिन्न ठाउँहरूमा जनचेतनाको स्तरपनि फरक फरक अवस्थामा रहेको छ । शहरिया होस वा ग्रामिण, धनी होस वा गरिव शिक्षित वा शिक्षाको अवसरबाट बञ्चित सबै प्रकारका परिवारमा विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरू हुने गरेको पाइन्छ । सबै प्रकारका परिवारहरूमा विद्यमान रहेको अपाङ्गता कुन व्यक्तिमा कुन बेला कस्तो रुपमा देखा पर्छ भन्न सकिँदैन । त्यसैले अपाङ्गताको प्रकृति व्यापक र अनौठो छ । यस्तो सर्वव्यापी प्रकृतिको अपाङ्गतालाई अधिकांश परिवारले सहज र मानव विविधताको रुपमा स्वीकार्न नसकेको अवस्था छ । परिवारमा कोही अपाङ्गता भएको व्यक्ति छ भने त्यो परिवारले अन्य व्यक्तिहरू सरहको व्यवहार नगरी फरक किसिमको व्यवहार गर्ने गरेको विभिन्न रिसर्चहरूको रिपोर्टबाट प्रमाणित भएको छ । विशेष गरी घरपरिवारमा अपाङ्गता भएको सन्तान छ भने सकेसम्म लुकाएर राख्ने उसलाई अरूका सामु चिनाउन हिचकिचाउने र उसलाई घर परिवारका सबै निर्णयकारी भूमिकामा संलग्न नगराउने जस्ता विभेदकारी व्यवहारहरू हुने गरेका छन् । त्यति मात्र होइन अपाङ्गता भएका व्यक्तिहरूलाई परिवारको सूचना, सहभागिता र सम्पत्तीको अधिकारबाट समेत बन्चित गर्ने गरेको विभिन्न अनुसन्धानहरूबाट प्रमाणित भएको छ । संविधानले सुनिश्चित गरेका अन्य हकहरू जस्तै गोपनियताको हक, परिवारको हक शिक्षा स्वास्थ्य लगायतका मौलिक हक आदिमा पनि समस्या देखिएको छ ।
सरकारबाट निशुल्क रुपमा प्राप्त हुने औषधिहरू समेत परिवारका अन्य सदस्यहरूले उपलब्ध नगराएका कारण मृत्यू हुन पुगेका अपाङ्गता भएका व्यक्तिहरूको संख्या पनि कम छैन । साङ्ग सन्तति सरिको शिक्षा प्राप्त गर्न नपाउने कुरालाई त नियतिकै रुपमा स्वीकारिएको छ । अंशबाट ठगिनु, वैवाहिक जीवन परिकल्पनामा मात्र सिमित हुनु, घरमै बाधेर राख्नु वा घर निकाला गरिने जस्ता व्यवहारहरू पनि परिवारबाट गरिने गम्भीर विभेदहरू हुन् । सबै पारिवारिक कृयाकलापहरूमा संलग्न हुनबाट बञ्चित हुनु पर्ने, घरमा पाहुना पाछा आएको बेला नदेखाउनु वा कोठामै थुनेर राख्नु, परिवारको गच्छे अनुसार खान लाउनसमेत नदिनु पनि घरायसी विभेदको गम्भीर पक्ष हो ।
समाजमा अपाङ्गता भएका व्यक्तिहरूको स्थान खोजियो भने त्यो पनि त्यति सन्तोषजनक छैन । व्यक्तिको अन्य क्षमतालाई ओझेल पार्ने मुख्य कारक तत्त्व अपाङ्गता हो । घर परिवारबाट प्रताडित अपाङ्गता भएका अधिकांश व्यक्तिहरू समाज र समुदायबाट पनि अपमानित र अवहेलित छन् । समाजको कुनै पनि निर्णायक भूमिकामा अपाङ्गता भएका व्यक्तिहरूको खासै खोजि हुने गरेको पाइदैन । समाजका गन्यमान्य भनाउँदाहरूले ओँठे सहानुभूति प्रदर्र्शन गर्ने गरे पनि अवसर आएको अवस्थामा सकेसम्म अपाङ्गता भएको व्यक्तिलाई प्रवेश दिइँदैन । अवसर दिन नपर्दा खुवै प्रशंसा गर्नेहरूले पनि मौका आउँदाभने साङ्गलाई नै अवसर प्रदान गर्छन् । यसको कारण भनेको अपाङ्गता नै हो । सार्वजनिक निर्णयहरूमा समान सहभागिताको अवसर हाम्रो समुदायमा छैन । व्यक्तिको क्षमता भन्दा पनि उसमा निहित अपाङ्गता समाजको हरेक क्षेत्र प्रवेशको तगारो हो । हुनत कानूनले समान अवसर को सुविधाबाट कसैलाई पनि बन्चित गर्न खोजेको छैन तर व्यवहारमा यसको ठीक विपरित अपाङ्गतालाई अवरोध देखाउँदै विभिन्न मौकाहरूबाट विमुख पारिने चलन परम्परा नै बनी सकेको छ । जति सुकै ट्यालेन्ट भए पनि अपाङ्गता उसको ट्यालेन्सीको अवरोध हुन पुगेको छ । समाजमा अपाङ्गता भएका व्यक्तिहरुलाई विभिन्न उपनामले चिनाउन खोज्ने, अलिक तल पारेर बोल्ने, अपमान जनक व्यवहार दर्शाएर उसलाई हीनताबोध गराउन खोज्ने प्रवृत्ती समाजका अभिन्न अङ्ग बनिसकेका छन् । त्यसो त सामाजिक अपराध पनि समाजको अभिन्न अङ्ग नै हो ।
अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धीले निर्देशित गरेका कैयौ प्रावधानहरू हेर्दा समाजमा अब अपाङ्गताले कुनै अवरोध गर्छ जस्तो लाग्दैन तर हाम्रो समाजमा विद्यमान रहेको रुढीवादी चिन्तन र अपाङ्गता प्रतिको धारणामा परिवर्तन आउन अझै निकै समय लाग्न सक्छ । यसमा समाज मात्र दोषी छैन । सरकारले नै कानुन कार्यान्वयन गर्नमा देखाइरहेको लापर्वाही पनि अर्को कारण हो ।
त्यसै गरी राज्यपक्षले पनि अपाङ्गता भएका व्यक्तिहरूको पूर्ण व्यवस्थापन तर्फ कुनै ध्यान दिन सकेको छैन । कानून निर्माणकै समयमा विधायकहरूद्वारा पूरातनवादी सोँचमा परिवर्तन ल्याउन सकेको अवस्था छैन । अपाङ्गता भन्ने वित्तिकै सेवा सुविधा दिने भन्ने चिन्तनबाट ग्रसित नीति निर्माताहरूले अपाङ्गता भएका व्यक्तिहरूलाई उत्पादनशील नागरिकको भूमिकामा सोच्न नसक्दा यस्तो अवस्था आएको हो । जुन व्यक्तिसँग जे क्षमता छ त्यसको पूर्ण सदुपयोग गर्ने नीति सरकारको नभइ अपाङ्गता हुने वित्तिकै व्यक्तिलाई निकम्माको दर्जामा राखी हेरिने दृष्टिकोणका कारण कैयौं अपाङ्गता भएका व्यक्तिहरू निश्क्रीय जीवन विताउन बाध्य बनाइएका छन् । व्यक्तिहरूमा निहित क्षमताको सहि पहिचान गर्न नसक्नु राज्यको कमजोरी हो । राज्यबाट उचित कानून निर्माण गरी सही कार्यान्वयन गर्न नसक्दा सबै अपाङ्गता भएका व्यक्तिहरू राज्यबाट विभेदित भएको महशुस गरिएको छ । राज्यद्वारा निर्मित कानूनहरूमा गरिएका विभिन्न व्यवस्थाहरूको कार्यान्वयन भएन भनी न्यायालयबाट परमादेश समेतको आदेश गराउन पर्ने अवस्थालाई राज्यद्वारा गरिएको भेदभावपूर्ण व्यवहार भन्न सकिन्छ । नेपालका सन्दर्भमा सर्वोच्च अदालतले दर्जनौ रिटहरू मार्फत सरकारलाई कहिले परमादेश कहिले उत्प्रेषण जस्ता आदेशद्वारा कानून कार्यान्वयन गराउन प्रयत्न गरेको छ । कहिले बहिराहरूको विशेष आवश्यकतालाई ध्यानमा राखी विशेष आदेश जारि भएको छ त कहिले मानसिक अपाङ्गता भएका व्यक्तिहरूको विशेष जिवन यापनका सम्बन्धमा विशेष आदेश गरेको छ । गत डेढ दशकदेखि सर्वोच्च अदालतले अपाङ्गता भएका व्यक्तिहरूका विभिन्न मुद्दामा विभिन्न आदेशहरूद्वारा अपाङ्गता भएका व्यक्तिहरुको अधिकार स्थापना गर्न, सेवा सुविधा प्रदान गर्न तथा समसामयिक विषयमा विभिन्न फैसलाहरू गरेको छ । तर राज्यको सर्वोच्च न्यायिक निकाय सर्वोच्च अदालतका विभिन्न इजलाश समेतबाट भएका आदेश, निर्देशन तथा फैसलाहरूको उचित कार्यान्वयन हुन नसक्दा अपाङ्गता भएका व्यक्तिहरूले राज्यद्वारा नै विभेदित भएको महशुस गर्न बाध्य छन् ।
मुलुक अहिले प्रजातान्त्रिक शासन व्यवस्थाबाट स्तरोन्नति भई लोकतान्त्रिक शासन व्यवस्था अँगाल्ने चरणमा आइपुगेको छ । यो चरणमा आइपुग्दा समेत अपाङ्गता भएका व्यक्तिहरूले लोक कल्याणकारी राज्यको अनुभूति गर्न पाएका छैनन् । विगतका दिनहरूमा जस्तै अपमानजनक शब्दहरूबाट संबोधित हुनु पर्ने अवस्था समेत राज्यले सुधार गर्न सक्दैन भने अन्य धेरै अपेक्षा कति गर्न सकिएला ? विधायकहरूद्वारा निर्माण गरिने कानूनहरू सरकारले कार्यान्वयन गर्न उदासिनता देखाउनु विभेदको अर्को उदाहरण हो । संविधानले सुनिश्चित गरेका मौलिक हकहरूमा भएका प्रावधान समेतलाई ढुक्कसँग उपभोग गर्न नपाउनु संवैधानिक सर्वोच्चताको मर्र्यादा विरुद्ध हुन्छ । संविधान र विभिन्न कानूनहरूमा लेखिएका कुराहरू कार्यान्वयन गर्नु गराउनु सरकारको प्रमुख दायित्व हो । यदि सरकारले यसको उचित कार्यान्वयन गर्न आलटाल गरेमा न्यायपालिकाले सचेत गराउने गर्छ । यसरी सचेत गराइरहँदा पनि कार्यान्वयन नहुनु भनेको सिधै विभेद गरिनु हो ।
समग्रमा हेर्दा राज्य सबैभन्दा जिम्मेवार बन्नु पर्छ । राज्यले कानूनको पूर्ण पालना गर्ने हो भने समुदाय र समाज स्वतः सचेत भई सामाजिक विभेदको अन्त्य हुन्छ । सामाजिक विकृतिमा क्रमशः कमि हुँदै जान्छ । हरेक समुदाय र समाज अपाङ्गता भएका व्यक्तिहरू प्रति सकारात्मक बन्दै जाँदा त्यस समाज अन्तर्गतका कुनै पनि परिवारमा पारिवारिक विभेदको गुन्जायस रहने छैन ।
यसरी अपाङ्गता भएका व्यक्तिहरू प्रति कायम रहेको तीन तहको भेदभावको अन्त्यका लागि हामीले तीनै तहमा सशक्त सचेतना मूलक कार्यक्रमहरू सञ्चालन गर्नु पर्छ । जसले परिवारबाट नै शोषण दमन व्यहोर्नु परेको छ त्यसले समाजमा परिवर्तनका लागि खासै भूमिका खेल्न सक्दैन । पारिवारिक विभेदको दलदलमा जकडिनु नपरेका व्यक्तिहरूले मात्र सामाजिक परिवर्तन गराउन ठूलो भूमिका खेल्न सक्ने छन् । अपाङ्गता भएका व्यक्तिहरूद्वारा नेतृत्व गरिएका संघसंस्थाहरूको सशक्त नेतृत्वमा राज्यस्तरको पैरवी गरी सरकारले गर्ने विभेदको अन्त्य गर्न सकिन्छ । यी सबै कार्यका लागि अपाङ्गता भएका व्यक्तिहरू आफू सचेत र सक्षम हुनु पर्छ । सबल सक्षम र सचेत व्यक्तिहरूको वकालतबाट मात्र राज्यस्तरबाट हुने गरेका विभेदको अन्त्य गराउन सकिन्छ । अहिलेको समय भनेको हरेक पक्षबाट सचेत हुने र आफ्ना सवालहरूलाई सम्बन्धित निकायमा मर्यादित रूपले प्रस्तुत गर्दै जानु पर्ने समय हो भन्ने कुरामा कसैको दुई मत नहोला । अन्यथा यस मामिलामा सरकारले सधै बुझ पचाइरहनेछ र दुर्गममा जीवन बिताउन बाध्य अपाङ्गता भएका व्यक्तिहरूको हालत जस्ताको तस्तै रहनेछ ।