Lalitpur Metro-9, Chyashal Balkumari, Lalitpur, Nepal
12 Months, 7 Days & 24 Hours Available for all.
+977 985 109 8889
डा. लक्ष्मणप्रसाद ज्ञवाली, नेपालको प्रथम नेत्रहीन अधिवक्ता The first Blind Advocate of Nepal Dr Laxman Prasad Gnawali.

वहस पैरवी र सामाजिक परिवर्तन

जनवकालत पैरवी वा वहस जेसुकै नामबाट बुझिए पनि यसको सार एउटै हुन जान्छ । कुनै एउटा बिषयमा राज्यको ध्यानाकर्षण गर्नु परेमा यो माध्यम लिइन्छ । कानून निर्माणका समयमा कुनै पनि बिषयमा स्पष्ट व्यवस्था गर्न नसकिएका अथवा छुट्न गएका तर सार्वजनिक रुपमा प्रत्यक्ष असर पार्ने अवस्थाका बिषय वस्तुहरु यसमा पर्छन् । स्पष्ट रुपमा ऐन कानूनमा बोल्न नसकियता पनि व्यवहारमा यसको असर पर्नाले आम नागरिकहरुले प्रत्यक्ष महशुस गर्नु परेका तथ्यहरुलाई सार्वजनिक सरोकारका बिषयमा लिन सकिन्छ । कानूनले प्रत्यक्ष रुपमा उपचारको व्यवस्था गर्न नसकेका तर व्यवहारमा आइपर्ने त्यस्ता सवालहरुलाई न्यायिक निकायको आदेशबाट नजीर कायम गरी मातहत निकायमा लागू गराउने प्रावधान हुन्छ ।
विधायिकी कानूनले सकेसम्म सबै सम्बन्धित क्षेत्र समेट्ने प्रयास गर्छ । विधायिकाले सम्बन्धित बिषयमा कानून निर्माण गर्दा धेरै कुराहरुको ख्याल गरेको हुन्छ तर पनि यस प्रकार विविध क्षेत्र समावेश गर्दा गर्दै पनि देश काल र परिस्थिती अनुकुल परिवर्तित परिवेश अनुसार केहि अपूर्णता रहन्छ । निर्माण अवधिमा विद्यमान नभएको नयाँ परिस्थिती जब देखा पर्छ त्यसबेला कानून लागु कर्ताले सहज रुपमा यसलाई लिन सकिरहेको हुँदैन । त्यस्तो अवस्थामा यसको निराकरणको लागि राज्यको तेस्रो अङ्ग न्यायपालिकाको सर्वोच्च निकायबाट यसको निकास लिनु पर्छ । यसका लागि राज्यको मूल कानूनमा उपचारको व्यवस्था गरिएको हुन्छ । यसै उपचारको सहाराबाट समय समयमा नयाँ नयाँ सिद्धान्तहरु प्रतिपादन गरिन्छ र सबै मातहत निकायलाई बाध्यकारी रुपमा लागू गराईन्छ । हाम्रो परिवेश वा प्रचलनमा धेरै प्रकारका पैरवीहरुको चलन रहेको छ । यस्ता बहस वा वकालत वा पैरवी आम प्रचलनमा भएका पुराना बुझाइहरुलाई समयानुकुल परिवर्तन गर्ने गरिन्छ । राज्य सबै कुराको मुल स्रोत हो । यसमा असिमित स्रोत साधनको क्षमता रहन्छ । कानुनहरु कार्यान्वयन गर्दा यहि स्रोत साधनको सिमितता देखाएर राज्य पन्छीन खोज्छ तर आम नागरिकले राज्यमा निहित अनन्त स्रोतलाई आधार मानी बहस र पैरवी मार्फत आफ्ना अधिकार बहाली गराउने प्रयत्न गर्छन् । कुनै समयमा अत्याधिक प्रचलन र लोक प्रियता हासिल गरेको कुरा फेरि अर्को समयमा काम नलाग्न सक्छ । त्यसैले जुन व्यक्तिले आफ्नो पालामा जे जति मात्रामा उपभोग वा चलन गरेको त्यो व्यक्ति अर्को नयाँ प्रवृत्तीमा रुपान्तरण हुन निकै कठिन मान्दछ । राज्य व्यवस्थामा पनि तत्काल प्रचलित कानून परिवर्तन गरी लागू गर्नु पर्ने अवस्था आउँदा यसलाई सहज रुपमा लिइएको पाइन्छ । समाज र समुदाय सञ्चालनमा पनि पूराना प्रथा परंपरालाई नयाँ पुस्ताले मात्र परिमार्जित रुपमा ग्रहण गर्न सक्छ । आफ्नो पालमा प्रचलमा रहेका कुराहरु नै आफूलाई सहज महशुस हुन्छ । घर परिवारदेखि समुदाय चाहे जहाँसम्म हामी जान खोजौं त्यहाँ नजानिँदा खालको स्थिरता कायम गर्न चाहने र परिवर्तन गर्न चाहने बिचको द्वन्द्व चलिरहेको हुन्छ । अघिल्लो पुस्ता स्थिरताको पक्षमा हुन्छ भने नयाँ पुस्ता सकेसम्म धेरै परिवर्तन गर्न चाहने प्रकृतिका हुन्छन् । धेरै पूराना कुराका आधारमा नियन्त्रण कायम राख्न खोज्ने प्रकृतिका पाइन्छन् भने समयको गतिलाई समेत उछिनेर पूरानो भन्ने नाममा सद्दे र असल ग्रहण योग्य कुराहरु समेतलाई परिवर्तन गर्न पनि पछि नपर्ने नयाँ पुस्ताको प्रकृति हुन्छ ।
धेरै पूरानो समयदेखि राम्रो र परिवर्तनशिल विकासको मान्यता बोकेका कतिपय प्रथा परंपराहरु नयाँ समाज बनाउने नाममा यत्तिकै विस्थापित भएको पाइन्छ । समाजमा विभिन्न किसिमले धेरै जन सरोकारका विषयहरु ओझेल परेका छन् । स्वास्थ्यका दृष्टिले हरेक मानवले पालना नगरी नहुने परंपरा धर्मका नामबाट सञ्चालित हुनजाँदा आस्तिक र नास्तिकका बिचको द्वन्द्वको तारो बन्न पुगी बहुमत र अल्पमतको गणितीय फन्दाबाट विस्थापनमा परेको पाइन्छ । हाम्रो जीवन जुन प्राकृतिक संयन्त्रबाट चलि रहेको छ त्यहि नै संसारमा विकास र परिवर्तनको समेत भोगाधिकार कायम रहेको हुन्छ । मानव आवश्यकता युग अनुसार फरक र परिवर्तन हुँदै जान्छ । एक जमानामा जातीय छुवाछुतको अवस्था निकै डरलाग्दो धर्मको घेराबाट निर्देशित थियो भने आज आएर मानव अधिकार अन्तर्गत सबै मान्छे एकै हुन् भन्ने अवधारणाको विकास हुन पुगेको छ । समाजमा हैकम जमाउने व्यक्तिहरुको दबाव र निर्विवेकी पनको सिकारमा सम्पूर्ण समुदाय गाँजिएको थियो । कामका आधारमा सम्मान नभइ जात वा उसको घरानाको आधारमा मर्यादा कायम गर्ने चलन थियो । तर त्यस्ता चलनबाट आम समुदायको धेरै हिस्सा पीडित भएको हुनाले वकालत वा पैरवी मार्फत विस्तारै यस्तो प्रचलनलाई परिवर्तन गर्दै आइयो । प्रथा परंपरामा संशोधन गर्दै विस्तारै गरेको र भएको परिवर्तन तथा विकासलाई सहज रुपमा ग्रहण र स्विकृति दिन नसक्ने पुस्ता अल्पमतमा परी अस्तित्वहीन बनाइए जसले गर्दा मानव विकासमा ठुलठूला परिवर्तन र नयाँ नयाँ सम्भावनाहरुको विकास भयो ।
हरेक समाज कुनै न कुनै कानूनद्वारा सन्चालित हुन्छ । कैंयौं कानूनहरु अलिखित रुपमा समाजमा प्रचलनमा रहेका हुन्छन् । त्यस्ता अलिखित मान्यताहरु लिखित कानूनको तुलनामा निकै शक्तिशाली मानिन्छन् । समाजमा विद्यमान मान्यता परिवर्तन गर्न ठूलो अधिवाचनको जरुरत पर्दछ । लिखित कानूनहरु विधायिकाले सहज रुपमा संशोधन गर्न सक्छ भने सामाजिक मान्यताहरुलाई लामो समयको वकालत वा पैरवीबाट मात्र विस्तारै परिवर्तन गर्न सकिन्छ । त्यसकारण कतिपय अवस्थामा परंपराको रुपमा गलत प्रवृत्ती र अवधारणाहरु पनि सामाजिक मान्यताका रुपमा लामो समयसम्म समुदायमा कायम रहिरहन्छन् जसले गर्दा धार्मिक मान्यतामा समेत प्रश्न चिन्हहरु देखा पर्दछन् ।
कुनै कुनै प्रचलनहरु तत्कालिन आवश्यकताले गर्दा सिर्जना भएका भएपनि त्यसको समयानुकुल बुझाइका अभावमा पछिसम्म समुदायमा जकडिइ रहेका हुन्छन् । समयको परिवर्तन र विकासको गतिलाई सहज रुपमा स्विकार गर्न नसक्ने कोहि व्यक्तिहरुको समाजमा कायम रहने बोलवालाले गर्दा यस्ता अनावश्यक र असान्दर्भिक परंपराहरु पनि हाम्रो समाजमा सामाजिक मान्यताका रुपमा चलन चल्तिमा व्यवहारमा सामना गर्नु परिरहेको छ । यस्ता खाले परंपरालाई हामी रुढिवादी चिन्तन वा अवधारणा भन्ने गर्दछौं । यस्ता रुढिवादी चिन्तनलाई व्यापक सामाजिक वहसबाट मात्र परिवर्तन गर्न सकिन्छ । यस्तो बेला परिवर्तनकारी र यथास्थितिवादी बिच ठूलो द्वन्द्व चल्छ ।यसको उदाहरणका रुपमा नेपालको गणतन्त्रलाई लिन सकिन्छ ।
मान्य सामाजिक परिवर्तनको लहर सहज रुपमा आत्मसाथ गर्न नसक्ने पुस्ता समाजमा जब अल्पमतमा पर्छन तब मात्र नौलो मान्यता Value को स्थपना हुन जान्छ । यस्तो मान्यता पनि अर्को नयाँ पुस्तालाई साँगुरो भइ फेरी अझ विकसित र आधुनिक मूल्य र मान्यता समाजमा स्थापना हुन जान्छन् । गतिशिल संसारको यात्रामा परिवर्तन निरन्तर प्रकृया हो । परिवर्तन बिनाको विकास कुनै हालतमा पनि परिकल्पना गर्न सकिन्न ।
कुनै बेला मान्छेलाई बिशेषाधिकारका रुपामा मात्र प्राप्त हुने अधिकार कालान्तरमा नागरिक अधिकारको रुपमा स्थापित हुन्छन् । एक गुगमा पढ्ने लेख्ने काम बोल्ने न्याय पाउने कुरा केहि सिमित वर्गका व्यक्तिहरुलाई मात्र प्राप्त हुन्थ्यो भने अहिले मानव भए वापत प्राप्त हुन्छ । त्यस्तै कुनै समाजमा नागरिक अधिकारका रुपमा स्थापना भएको अधकार कुनै समाजमा संघर्ष मार्फत बहालीका लागि क्रान्ति गरिरहनु परेको छ । त्यसैले समाजको विकासको मात्राका आधारमा अधिकार र कर्तव्यहरु निर्धारण हुने गरेको पाइन्छ । जमाना विकासको मात्राको अनुपातमा स्थापना हुने मूल्य र मान्यताहरु फरक फरक अवस्थामा महशुस हुन सक्छन् । कुनै समाजमा स्वतन्त्रताको अवस्था हेर्दा आज पनि मानवीय अधिकारको सवाल बन्न पुग्छ भने स्वतन्त्रता पनि अधिकारको रुपमा स्थापना नभएका समुदायमा परिवर्तनका निम्ति अझै संघर्ष गर्नु पर्ने स्थिति छ । स्वतन्त्रताको मात्रा त्यहाको विकास र परिवर्तनले निर्धारण गरेको हुन्छ ।
संसारको गतिशिलताका आधारमा स्वतन्त्रतालाई समाजले स्विकार्ने गर्छ । विश्व वातावरणको असर आज संसारका सबै मानव र प्राणिहरुमा प्रत्यक्ष रुपमा परेको छ । कुनै जमानामा ढुङ्गो पल्टेर मान्छेलाई मार्यो भने त्यस निर्जिव ढुङ्गालाई जेल हाल्ने चलन भएको पाइन्छ । यस्तै पशुले मानिसको हत्या गरेमा त्यसलाई जेलमा थुन्ने जस्ता अव्यवहारिक मान्यताहरु क्रमशः सुधार हँदै आएका छन् । परिवारको एक जना सदस्यले अपराध गरेमा त्यसको सजाय अन्य सदस्यलाई समेत दिने प्रचलन हाल आएर अन्त्य भइ फौजदारी अपराध जसले गर्छ त्यो मात्र सजायभागी बन्नु पर्ने चलन आएको छ ।
यसरी मानवीय र सामाजिक मान्यताहरुको परिवर्तन व्यवहारिक रुपमा लागू हुने अवस्था कायम हुनुमा पैरवी र जनवकालतको ठूलो भूमिका छ । विकृत मान्यताहरुको अन्त्य र व्ववहारिक मूल्य र मान्यताहरुको स्थापना गर्न अझ पनि सशक्त जनवकालतको आवश्यकता रहन्छ । यस्ता जनवकालतहरु सामाजिक मूल्य मान्यता परिवर्तन गर्नका निम्ति प्रयोग गरिन्छ भने लिखित र विधायिकि कानूनहरु परिवर्तन गर्न सार्वजनिक सरोकार सवालका माध्यमबाट राज्यको मूल कानूनका आधारमा सर्वोच्च न्यायिक निकायबाट गराइन्छ । यसरी जनवकालत र सार्वजनिक सरोकार सवालको पैरवीबाट अलिखित र मूल्य मान्यता तथा लिखित कानून Advocacy द्वारा परिवर्तन र स्थापित गरिन्छ ।

अन्नपुर्ण पोष्ट मा प्रकाशित