आज अक्टोबर १५ हामीले विश्व सेतोछडि दिवस मनाइ रहदा सेतोछडि र यसको प्रयोग बारेमा पनि ध्यान दिनु पर्छ । कतिपय अल्पदृष्टियुक्त व्यक्तिहरूले सेतोछडि प्रयोग गर्न हिचकिचाउने गरेको पाइन्छ । ह्वाइटक्यान सेफ्टि डे भनेर सुरक्षाको दृष्टिमा यो दिवस मनाउन थालेको भएपनि उनिहरूले यसलाई गम्भिरतापूर्वक लिएको पाइदैन । सामान्यतया लो भिजन समस्या हुने व्यक्तिहरू दृष्टिविहिन जस्तो नदेखिने अर्थात देख्ने व्यक्तिहरू जस्तो देखिने हुनाले अन्य व्यक्तिहरूलाई उनिहरूले देख्न सक्दैनन जस्तो लाग्दैन । तर उनिहरूले अरुले जसरी देखेर निर्णय लिन पनि सकिरहेका हुदैनन । यसले गर्दा मानिसहरूमा भ्रम पैदा हुनजान्छ । यसमा लो(भिजनहरूले आफ्नो पहिचान दिन नसक्नु उनिहरूकै कमजोरी रहन्छ । यसले उनिहरूको जिवन जोखिम बनाइरहेको हुन्छ । यसबारे लो(भिजन व्यक्तिहरू निकै चनाखो हुनु जरुरी छ ।
संसारका सबै दृष्टिविहीनहरूले प्रयोग गर्ने, विशेष प्रकारबाट निर्मित सेतो रङ्गले रङ्गाइएको लौरो लाई नै ध्जष्तभ अबलभ सेतोछडि भनिन्छ । यो सबै नदेख्ने व्यक्तिहरूको न्यूनतम भन्दा पनि न्यूनतम आधारभूत आवश्यकताको साधन हो । दृष्टिविहीनहरू सेतोछडि विना आफु स्वतन्त्र रुपमा आवागमन गर्न सक्दैनन् । यसको उत्पत्ति कहिले र कहाँ भयो भन्ने कुराको जानकारी सहित यसको प्रयोग कसरी गरेर जीवन जोखिमबाट जोगाउन सकिन्छ भन्ने कुरा महत्वपूर्ण हो । यसको ऐतिहासिक पृष्ठभूमिकेलाएर हेर्दा संसारका धेरै देशहरूले आफ्ना दृष्टिविहीन नागरिकहरूलाई सहुलियत रुपमा उपलब्ध गराउदै आएको भएपनि हाम्रो देशमा भने यसको प्रयोग गर्न निकै दुर्लभ जस्तो छ । संबन्धित क्षेत्रमा कार्यरत संघसंस्थाहरुले दिने सहयोग बाहेक अरु उपाय भएको पाइदैन । हुनतः पछिल्ला दिनहरूमा राज्यपक्षबाट पनि यसमा सामान्य चासो देखाउन खोजेको पाइन्छ । राज्यले अन्य नागरिक सरह नेत्रहीनहरूलाइ पनि स्वतन्त्रता पूर्वक आवत जावत गर्न पाउने संवैधानिक मौलिक हकको प्रयोग स्वरुप सेतोछडि स्वदेशमै उत्पादन गरी प्रदान गरिने कुरा बजेट भाषण मै उल्लेख गरेको छ । तर दृष्टिविहिनहरूले सहजै रुपमा सेतोछडि पाउन सकेको अवस्था भने छैन ।
विभिन्न देशहरूमा प्रयोग हुदै आएका सेतोछडिहरू आकार प्रकारका आधारमा विभिन्न भागमा वर्गीकरण गरेको पाइन्छ । जेजति प्रकारमा बाडिएको भए पनि नदेख्ने व्यक्तिले सहजरुपमा सेतोछडि पाउन सकेको छ कि छैन भन्ने कुरा महत्वपूर्ण हो । राज्यले दृष्टिविहीन नागरिकहरूका लागि कति महत्व दिएकोछ भन्ने कुरा राज्यबाट यसको उत्पादन गरिने अवस्थाबाट थाहा पाउन सकिन्छ । हाम्रोदेशमा हालसम्म कसैले पनि सेतोछडिको उत्पादन थालेको छैन । छिमेकि मुलुकहरुबाट खरिद गरेर ल्याउने र विभिन्न संघसंस्थाहरू मार्फत विक्रिवितरण गरिने काम भइरहेको छ । हुनत खेत बाँझो राखेर चामल किन्ने राज्यमा सेतोछडि उत्पादन भएन भनेर गुनासो गरिनु कति उचित होला तर पनि दृष्टिविहीन नागरिकहरूको नभै नहुने सहायक सामाग्री उत्पादनमा चासो नराख्नु भनेको सिङ्गो वर्ग प्रतिको वेवास्ता नै हो । विशेष वर्गको लागि कति ध्यान दिनसकेको छ भन्ने सूचकको रुपमा यस्ता व्यवहारलाई लिन सकिन्छ । राज्यले सबैकुरा नाफामुखि दृष्टिले मात्र पनि हेर्नु हुदैन ।
आमरुपमा आर्थिक दुरावस्थाबाट जिवन गुजारि रहेका दृष्टिविहीन नागरिकहरूका लागि अहिले सेतो छडिनै दुर्लभ बनेको छ । यदि राज्यले विभेदको अन्त्य गर्ने नीति लिने हो भने यस्ता कुराहरूमा ध्यान पुराउन सक्नु पर्छ । हाम्रो समाजमा दृष्टिविहिनहरूलाई सेतोछडि उपलब्ध गराउने कुरा विशेष सहुलियत हो भन्ने गलत बुझाई रहेको छ । संविधानले प्रदान गरेको मौलिक हक प्रयोग गर्न नभै नहुने कुरा लाई राज्यले विशेष सहुलियतको रुपमा लिनु हुदैन । दृष्टिविहीन व्यक्तिले सेतोछडि बिना हिड्डुल गर्न सक्दैनन् भने उनिहरूको यो न्यूनतम आधारभूत आवश्यकता हो । यसलाई विशेष सहुलियत भनेर बुझिनु हुदैन । आधारभुत आवश्यकताभन्दा थप सहुलियत दिइएमा विशेष सुविधा हुन सक्छ तर नभैनहुने कुरा विशेष सहुलियत होइन ।
हामीले पहिचान सहि दिन सकेनौ भने यसमा अरुको दोष रहदैन । यसको जवाफदेही पनि आफै हुनु पर्छ । दुर्घटना आफ्ना कारणले गराइनु हुदैन । पूर्णदृष्टिविहिन व्यक्तिहरूलाई अरुले सहजै पहिचान गर्न सक्ने र अल्पदृष्टियुक्तहरूलाई पहिचान गर्न गारो पर्नेहुनाले यसमा सम्बन्धित पक्ष नै चनाखो हुन आवश्यक छ । अलिअलि देख्ने व्यक्तिलाई म नदेख्ने हो भन्न मन लाग्दैन होला तर सुरक्षाका कारणले पनि पहिचान सहित हिड्नु पर्छ । कमदेख्ने व्यक्तिमा एकप्रकारको कन्फ्युजन रहिरहेको हुन्छ । कुनै वस्तुको पहिचान सहिकिसिमले गर्न अप्ठेरो पर्छ । आफूले देखे जस्तो लाग्ने तर वस्तु पहिचान नहुने समस्या हुन्छ । अर्को कुरा पूर्ण दृष्टिविहिनहरूले जस्तो सहजरुपमा सोध्न समेत हिचकिचाहट रहेको हुन्छ । त्यस्ता समस्याले धेरै ठाउँमा गाह्रो पारेको हुन्छ। सजिलै कसैसँग व्यक्त गर्न पनि नसकिने र पहिचान गरि पूर्णता दिन पनि नसकिने समस्या लो(भिजनमा रहेको हुन्छ ।
यसै कारणले अर्जेन्टिनाले न्यूनदृष्टीवालाहरूको लागि हरियो छडि प्रयोग गर्ने कानून बनाएकोछ । दृष्टिविहीनहरू र अल्पदृष्टिविहीनहरूले प्प्रयोग गर्ने छडि केवल रङ्गमा मात्र फरक हो । अन्य बनावटमा कुनै भिन्नता हुदैन ।नेपालमा भने यस प्रकारको भिन्नै कानून छैन । यहाँ त दृष्टिविहीन, श्रवणदृष्टिविहीन र न्यूनदृष्टियुक्त सबैका लागि एकै प्रकारको सेतो छडि प्रयोग हुदै आएको छ । पहिचान दिने क्रममा सेतो, सेतोमा रातो बेल्ट लगाइएको र हरियो आदि दृष्टि क्षमताको आधारमा फरकफरक संकेत राखिनु राम्रै हो तर हाम्रो देशमा यस प्रकारको कुनै विशेष व्यवस्था कानूनले गर्न सकेको छैन । सेतो छडि सुरक्षाको दृष्टिले नभैनहुने कुरा हो तर न्युनदृष्टि वालाहरूले खासै प्रयोग गरेको पाइदैन । यसरी हाम्रो समाजमा दृष्टिविहीनहरुलाई हेरिने हेपाहा दृष्टिकोणका कारण उनिहरूले सकेसम्म आफू दृष्टिविहीन भएको कुरा सार्वजनिक गर्न रुचाउदैनन । यदि समाजले विभेदपूर्ण व्यवहार नगर्नेहो भने सबैले आफ्नो पहिचान सजिलै सँग खुलाएर हिड्न चाहने थिए । सेतो छडि प्रयोगमा समेत सामाजिक दृष्टिकोणको महत्वपूर्ण भूमिका रहेको हुन्छ ।
हुनतः राज्यस्तरबाटै यसको जिम्मा लिने हो भने सबै दृष्टिविहिनहरू सेतो छडिको खोजिमा भौतारिइ रहनु पर्ने थिएन । हाम्रो समाजमा अपाङ्गता र गरिबि एक अर्काका परिपूरक बनेका छन। तैपनि आर्थिक रुपमा सम्पन्न व्यक्तिहरूलाई यसको कुनै समस्या पर्दैन तर विपन्नहरूलाई भने सामान्य सेतोछडि पनि अप्राप्य जस्तो भएको छ । विपन्न गरिबहरूले यो सजिलै उपभोग गर्न पाएका वा सकेका छैनन। यस्ता संवेदनशिल कुराहरूमा पनि सोर्सफोर्स वा भनसुन आदिको प्रभाव पर्नु देशको लज्जास्पद अवस्था हो । राज्यका विभिन्न स्रोतहरूमा सबैको एकनासको पहुच रहेको हुदैन । हाम्रो जस्तो विकासशिल मुलुकमा सबैकुरा सिस्टममा अभ्यस्त भै सकेका हुदैनन । यहि व्यवस्थाको कमजोरीको फाइदा उठाउँदै विचौलियाहरूले यस्ता संवेदनशिल वस्तुहरूमा समेत कमिशनको खेल खेलिरहेका हुन्छन । दृष्टिविहिनहरूको क्षेत्रमा काम गर्ने उद्देश्यले हाम्रो देशमा विभिन्न संघसंस्थाहरू नखुलेका पनि होइनन । तर जे भएपनि ती संघसंस्थाहरूसमेतलाई विचौलियाहरूले आफ्नो फन्दामा पारेर कमिशन खाएका हुन्छन । कुन कुरामा कति संवेदनशिल बन्नु पर्नेहो सोका बारेमा ध्यान पुर्याउन नसक्नु धेरै विशेष संस्थाको कमजोरी रहेको छ ।
नेपाल सिआरपिडिको पक्षराष्ट्र समेत हुनाले सो महासन्धिमा उल्लेख भएका सबै प्रावधानहरू अक्षरशः पालना गर्नु पर्ने बाध्यता रहेको छ । सिआरपिडिको धारा २० “ व्यक्तिगत गमनशिलता” मा आवागमनको अधिकारलाई सुनिश्चित गरिएको छ । हाम्रो देशमा सिआरपिडिको घरेलुकरण समेत गरी ऐन बनाईएको छ । संघीय बजेट २०७९(८० को २१० नं। बुदामा सरकारले सहायक सामाग्रिको स्वदेशमै उत्पादन गर्न प्रोत्साहन गर्दै अपाङ्गता भएका व्यक्तिले प्रयोग गर्ने सहायक सामग्रीको उत्पादन गर्ने संस्थालाई अनदुान दिने व्यवस्था गरेको छ । यसमा “अपाङ्गता भएका व्यक्तिको दैनिक काम, सहभागितता र हिडडुलको लागि चाहिने सहायक सामग्रीहरू नेपालमै उत्पादन गनको लागि सावजनिक निजी साझेदारीमा उद्योगको स्थापना गर्न आवश्यक प्रक्रिया अगाडि बढाइनेछ। अपाङ्गता भएका व्यक्तिले प्रयोग गर्ने सहायक सामग्रीको उत्पादन गर्ने संस्थालाई अनदुान दिने व्यवस्था गरिनेछ” भनिएको छ । संविधान र कानूनले सधै अधिकारको सृजना गरिरहेका हुन्छन । विधायिकाले विशेष ध्यान दिएर बनाएका कानूनहरूले आफैमा सहुलियत प्रदान गर्न सकेका हुदैनन । बरू हरेक किसिमका कानूनहरूलाई सफल र निष्पक्ष रुपले कार्यान्वयन गराउने व्यवस्था मिलाई कार्यपालिकाले कानूनको राम्रो पक्षलाई प्रोत्साहन प्रदान गर्ने बारेमा गम्भिर भएर सोच्नु अहिलेको ताजा आवश्यकता हो । कानूनका संवेदनशिल पक्षमध्येको एक हो यसको उचित कार्यान्वयन । यदि हामिले राम्रो सँग कार्यान्वयन गर्न सकेनौ भने जतिसुकै राम्रो र जनमुखि कानून भए पनि त्यसले आम नागरिकहरूलाई सन्तुष्टि प्रदान गर्न सकेका हुदैनन ।हामीले गम्भिरताका साथ यस विषयलाई उठान गरेर अघि बढाउनु पर्छ । सधै भरी सफामनले कानून कार्यान्वयन गर्ने गरियो भने कुनै किसिमको समस्या आउदैन ।
अन्य विषयमा विशेष कानूनहरू बनेका भएपनि सेतोछडि सम्बन्धि कानून अहिलेसम्म बनेको छैन । विशेषतः स्पष्ट कानूनकै अभावमा सेतोछडि प्रयोग र उपलब्धता बारेको कन्फ्युजन हटाउन सकिएको छैन । हाम्रो देशको राजनैतिक विभाजन र प्रसासनिक व्यवस्था अनुसार देशमा सातसय एकसठ्ठी सरकार रहेका छन । सबै सरकारहरूलाई कानून बनाउने र तिनिनहरूको उचित कार्यान्वयन गर्ने अधिकार छ । त्यसैले हाम्रो देशमा संघीय कानून बाहेक अरु सबै कानून आ(आफ्नै भौगोलिक क्षेत्रमा मात्र लागू गर्न सकिन्छ । त्यसैले सेतो छडि सम्बन्धि कानून संघिय रुपमा नै बनाएर लागू गरिनु पर्छ । कुन सेतो छडि कुन प्रकारका दृष्टिविहिनहरूले प्रयोग गर्ने भन्ने विषयमा एकरुपता हुन जरुरी छ । राज्य स्तरबाट प्राप्त हुने सबै सेवा सुविधाहरू पनि सेतो छडि प्रयोगको आधारमा दिइनु पर्छ । न्यूनदृष्टि भएका व्यक्ति जसले सेतोछडि प्रयोग गरेका हुदैनन् उनिहरूलाई सो बारेमा सचेत गराइनु पर्छ । मानव जिवन सबैभन्दा महत्वपूर्ण हो भन्ने चेतना दिलाउनु पर्छ । यस्ता कुरामा वेवास्ता गर्नेहरुलाइ सहुलियत बाट समेत बन्चित गराइनु पर्छ ।
लुम्बिनी रिभ्यू मा प्रकाशित