Lalitpur Metro-9, Chyashal Balkumari, Lalitpur, Nepal
12 Months, 7 Days & 24 Hours Available for all.
+977 985 109 8889
डा. लक्ष्मणप्रसाद ज्ञवाली, नेपालको प्रथम नेत्रहीन अधिवक्ता The first Blind Advocate of Nepal Dr Laxman Prasad Gnawali.

कसरी बनाउने सामाजिक सम्बृद्धि सहितको समुदाय ?

इतिहास नबुझेको मान्छेले आफ्नो सभ्यता बुझ्न पनि कठीन हुन्छ । सभ्यता पूराना कुराहरूबाट नै सिक्न सकिन्छ । हाम्रो समाजमा आफ्ना हिजोका दिनहरूलाई सम्झने प्रचलन छैन । आफू कुन पृष्ठभूमिबाट आएको हुन्छ त्यसलाई सहजै देखाउन नचाहने मानिसहरू धेरै हुन्छन् । हिजोका दिनमा पाएका दुख बारे आज बताइयो भने आफ्नो इज्जत जान्छ भन्ने संकुचित मानसिकताबाट अधिकांश मानिस ग्रसित छन् । तर यथार्थ त्यसो होइन । वास्तविकता त के हो भने हामीले भोग्नु परेका अन्यायपूर्ण व्यवहारहरूको बारेमा खुलेर बताउन सकेनौं भने त्यो समस्या आगामी पुस्तामा समेत हस्तान्तरण भएर जाने भयो । सुख सहुलियतका कुराहरू बरु नबताएर केही फरक पर्दैन तर थिचोमिचोमा पारिएका कुरा बाहिर ल्याउनै पर्छ । त्यस्ता कुराहरू बाहिर ल्याउन सकियो भने नयाँ पुस्ताहरूमा त्यसबारे सचेतना जगाउन सकिन्छ । चेतनास्तरको कमि रहेको व्यक्तिको तुलनामा सचेत मानिस माथि न्याय गर्न धेरै गाह्रो पर्छ ।
यदि हिजोका दिनमा उसले राम्रै सुख भोग गरेको रहेछ भने उसले सजिलैसित आफ्ना अनुभव बताउँछ तर दुख कष्ट झेलेर आएको भए उसले त्यस्ता कुरा बताउन चाहदैन । यो नै सबै भन्दा गलत प्रवृत्ति हो । मानिसका भोगाइमा रहेका विभिन्न अनुभवहरू जस्ताको तस्तै बताउन सकियो भने मात्र हिजोको परिस्थिति आँकलन हुन सक्छ । विद्वानहरूले त्यस्ता परिस्थितिको विष्लेषण गरी भोलिको लागि मार्ग चित्र तयार गर्न सक्छन् । विगतका राम्रा अनुभवहरू छन् भने तीनिहरूलाई यथावत रहन दिनु पर्छ तर खराव कुराहुरूलाई संस्कार वा परम्पराको नाममा निरन्तरता दिइनु हुदैन । चरम गरिबी, शारीरिक अपाङ्गता आदिका कारण मानिसलाई उसको तत्कालिन परिवेस हेरेर समाजले व्यवहार गर्ने गर्छ । उसको भविष्य बारे कसैले पनि आंकलन गर्ने चेस्टा गर्दैन । तत्कालिन अवस्थाको मूल्याङ्कनबाट मात्र उसलाई हेरिने दृष्टिकोण न्यायपूर्ण नहुन पनि सक्छ ।
समाजमा जसले जे भोगिरहेको छ उसले त्यसको विकल्प खोज्छ । आमाहरूले छोरी जन्माउन रहर गर्दैनन् । किनकि छोरी हुनुको मर्का ती आमाहरूलाई मात्र थाहा छ । समाजले महिलालाई हेर्ने दृष्टिकोण यदि सकारात्मक, समतामूलक हुन्थ्यो भने आमाहरूले छोरो वा छोरीको चाहना भन्दा बढि सन्तानको चाहना राख्ने थिए । समाजमा जुन वर्ग प्रताडित छ उसले जस्तो भए पनि त्यो वर्ग परिवर्तन गर्न चाहन्छ । कोहि व्यक्ति यदि अपाङ्गता भएको छ भने उसले आफ्नो सन्तान अपाङ्गता भएको जन्माउन चाहन्न । समाजमा अपाङ्गताको मर्का उसलाई स्पस्ट रुपमा थाहा छ । उसले त्यसबाट परेको असर र प्रभावलाई जति नजिकबाट बुझेको छ त्यति अरुले बुझ्न सक्दैन । खुकुरीको चोट अचानोलाई मात्र थाहा हुन्छ ।
हाम्रो समाजमा शदियौँदेखि चलि आएका राम्रा र नराम्रा सबै खालका परम्पराहरू प्रशस्तै छन् । त्यस्ता चलनहरूप्रति आम समुदाय  प्रयोग वा अभ्यस्त भइसकेका छन् । जसले गर्दा कुनै व्यक्तिले आफूलाई त्यस्तो व्यवहार असह्य हुँदाहुँदै पनि नकार्न सक्दैन । बरु आफ्नो भाग्यलाई दोष दिन तयार हुन्छ । तर पनि अन्यायपूर्ण प्रचलनलाई चटक्कै अस्विकार गर्न उ मानसिक रुपबाट तयार भएको हुँदैन । हाम्रो समाजमा चल्दै आएको जातीय छुवाछुतको अवस्था यसको एउटा उदाहरण हो । हाम्रो समाज बहु जातीय, बहु सांस्कृतिक तथा बहु भाषिक प्रकृतिको छ । यस्तो समाज र यहाँका सामाजिक परम्पराहरू विधायिकि कानूनहरू भन्दा हजारौं गुणा शक्तिशाली रुपमा समाजमा स्थापित भइसकेका छन् । विधायिकि कानूनहरूलाई त संसदको बहुमत जुटाउन सकेमात्र पनि संशोधन गराउन सकिन्छ तर अनन्तदेखि चलि आएका प्रचलनहरूलाई परिवर्तन गराउन धेरै लामो समय लाग्छ । उक्त समुदायमा परम्परादेखि चलिआएका व्यवहारहरू सहजै स्विकार्य छन् । फलस्वरुप हाम्रा गाउँघरमा रहेका दलित अधिकार कर्मीहरूका अगुवाहरूले पनि सामाजिक मर्यादा स्वरुप प्रचलनमा रहेको छुवाछुत प्रथाको खुलेर बर्खिलाप गर्न चाहेको अवस्था आज पनि छैन । किनभने सामाजिक मूल्य मान्यतामा सामान्य खलबल आयो भने हक अधिकार स्थापना हुनुको सट्टा त्यसले विभेदको मात्रा बढाउन सक्छ ।
समयले आवश्यकता अनुसार व्यवहारमा परिवर्तन ल्याउँछ । मानव व्यवहार समयको विकाससँगै परिवर्तित अवस्थामा लागू हुने कुरा हो । हिजोका दिनमा प्रविधि विकास नभइ सकेको अवस्थामा समाजको दायरा सानो थियो । आफू वरिपरि रहेको क्षितिजलाई नै संसार मान्न पर्ने अवस्था थियो । त्यस्तो परिवेशमा सिर्जना भएका कैयौ कुप्रथाहरू समेत किन नहोउन तीनिहरू सजिलै सित परिवर्तन हुन आजसम्म सकेका छैनन् । नचाहेर पनि लागू भइ रहेका छन् । त्यस्ता सामाजिक व्यवहार चाहे बिभेदकारी नै किन नहोउन तर समाजमा आजसम्म पनि प्रचलनमा रहेकै छन् । वर्तमान भूमण्डलीकरणको युगमा प्रविधिले संसारलाई एउटा सानो गाउँ बनाइ दिएको अवस्थामा समेत नचाहेर पनि विभिन्न परम्परागत विभेदजन्य व्यवहारहरू र थिचोमिचो सहनु पर्ने बाध्यता छ । यातायात सञ्चार आदिको विकासले राज्यको मूगोल सानो वा ठूलो हुनुमा कुनै अप्ठ्यारो नहुने अवस्था सिर्जना गरिदिएको छ । यसले गर्दा राम्रा वा नराम्रा कुराहरू संसारमा अति नै छिटो फैलिने गरेका छन् । कहिलेकाँहि यस्ता कुराले समाजमा नकारात्मक कुराहरूको फैलावट समयभन्दा पनि निकै द्रुत गतिमा भएको पाइन्छ । विभिन्न अफवाहहरू फैलाएर सर्वसाधारण नागरिकहरूलाई अनावश्यक मानसिक पीडा पुराउने र विभिन्न किसिमले हानी पुर्याइ रहेका हुन्छन् ।
हामीले आजको प्रविधियुक्त समाजको मात्र अध्ययनबाट सभ्यताको अनुमान लगाइयो भने इतिहास प्रति ठूलो अन्याय हुनेछ । विविद समस्याहरू पार गरेर आएको विकासले विगतबाट सिकेर वर्तमानमा अविभेदयुक्त समाज निर्माण सन्देश दिन खोजेको छ । जुन वर्ग, जाति वा समुदाय जुन कुराको नाममा पीडित बनाइएको थियो त्यसको निरन्तरता ठालूहरूको चाहना हुन्छ । तर मर्का पर्ने पक्षले भने सधै उन्मुक्तिको सोच राखेको त हुन्छ तर अभिव्यक्त गर्न नसकेर अन्याय सहिरहेको हुन्छ । अथवा उसको कुरा सुन्ने कोही हुँदैन । दूरदर्शीता सहितको व्यवहारले कसैलाई पनि अन्यायमा परेको महशुस हुन दिदैन । विवेकपूर्ण तरिकाले प्रथा परम्परालाई परिचालन गर्न सके कुनै पनि वर्ग थिचोमिचो सहेर बस्न बाध्य हुने थिएन । कालक्रमको जुन परिवेसमा सहज लाग्ने व्यवहार थियो त्यो आज अस्वभाविक भइसक्दा समेत प्रचलनमा रहिरहनु दुर्भाग्यपूर्ण मान्नु पर्छ । समाजका हरेक नागरिकहरूको सचेतना बृद्धि गराएर मात्र त्यस्ताकुराको परिवर्तन गराउन सकिन्छ । अधिकारको स्थापना जसको आवश्यकता हो त्यो वर्ग मात्रको प्रयासबाटभन्दा समाजका सबैलाइ समावेश गराएर अभियान सञ्चालन गरियो भने छिटो हुन सक्छ । सामाजिक प्रथा परम्परालाई कसैले पनि एकै चोटि निश्क्रीय बनाउन सक्दैन । आम मान्छेले पनि विगतदेखि चलिआएको प्रचलनलाई स्वभाविक रुपमा ग्रहण गरिसकेका हुन्छन् । त्यसैले एक वर्गको अधिकार स्थापनाका लागि सबै मिलेर अभियान गरेमा सो सजिलै र छिट्टै उपलब्ध हुनसक्छ ।
राज्यको सानो रुप समाज हो । हरेक समाजमा राज्य सञ्चालनको प्रकृति हस्तान्तरण हुदै आएको हुन्छ । जसरी चुम्बकलाई जति सानो बनाए पनि उसमा चुम्बकीय गुण सरेर गएको हुन्छ त्यसरी नै राज्यसत्ताले प्रयोग गर्ने अधिकार समाजका ससाना निकायका मालिकहरूले पनि प्रयोग गर्दै आएका हुन्छन् । चाहे राज्य सत्ता सञ्चालक होस वा सानो समाजको अगुवा सबैमा हुने गुण उस्तै हुने गर्छन । नेतृत्त्व सधै ठालूहरूको पकडमा रहेको हुन्छ । हरेक नीति नियमहरू पनि ठालूमैत्री नै हुन्छन् । लाखौँ जनता सडकमा महङ्गी विरुद्ध नारावाजी गर्दा उनिहरूको माग पटक्कै सुन्न नचाहने सरकारले ठुल्ठूला व्यपारीहरूलाई मर्का पर्न जान्छ भनि त्यस्ता व्यक्तिहरूले चेतावनी दिने बित्तिकै राज्यसत्ताबाट ततकाल सुनुवाइ हुन्छ । राज्यले निर्धारण गरेका सबै नियमहरू गरिब मैत्री देखिए पनि उनिहरूको पहुच पुगेको हुदैन । त्यस्तो वर्गको ठूलै संख्या भए पनि उनिहरूका सवालहरूको सजिलै सुनुवाइ हुने अवस्था रहँदैन ।
समाजले पूरातनदेखि नै विभेदकारी व्यवहार विपन्नमुखि रुपबाट निर्धारण गर्दै आएको छ । चाहे आर्थिक रुपमा विपन्न होस वा शारीरिक रुपमा कमजोर होस जे भए पनि उसले विभेदको सिकार बन्नु पर्छ । देवताको मूर्ती बनाउने विश्वकर्माले मन्दिर भित्र पसेर पूजा गर्न नपाउने नियम यसैको उदाहरण हो । जसको प्रशस्त जग्गा हुन्छ उसले जोत्नु पर्दैन । जसले जीवन भर हलो जोतेको हुन्छ उसको आफ्नो जग्गा हुदैन ।
कानूनमा निर्बलहरूले बलियाहरू माथी शासन गर्छन् भनिए पनि व्यवहारमा त्यसको उल्टो हुने गरेको पाइन्छ । बलिया बाङ्गा भनिनेहरूको मात्र सत्तामा पहुच पुग्ने गरेको ऐतिहासिक अनुभवहरूले बताएका छन् । शारीरिक रुपमा कमजोर छ, आर्थिक अवस्था पनि दयनीय छ भने उसले न्याय विरलै पाउन सक्ला ।
शारांसमा इतिहासको ज्ञान विना मानव सभ्यताको पहिचान गर्न कठीन हुन्छ । अनादि कालदेखि चलि आएका कुराहरू चाहेर पनि सजिलै परिवर्तन गर्न सकिने रहेनछ । त्यसैले सभ्य र सुसंस्कृत समाज निर्माणका लागि नागरिक सचेतनाको जरुरी छ । यसबाट पारिवारिक, सामाजिक तथा राजनैतिक विभेदको अन्त्य गराइ समतामूलक समाजको स्थापना गर्न सकिन्छ । यसको निम्ति समाजमा मर्का सहनु परेको वर्गको अगुवाइमा अन्य वर्ग समेतको सहभागितायुक्त समावेशी आन्दोलनको आवश्यकता छ । जसले शदियौदेखि प्रचलनमा रहेका भए पनि विभेदकारी व्यवस्थाहरूको परिवर्तन गराउन मद्दत पुराउँछ । आधुनिक र सभ्य समाजको स्थापना गरी सामाजिक सम्बृद्धि सहितको समुदाय बनाउन सकिन्छ ।

लुम्बिनी रिभ्यू मा प्रकाशित