Lalitpur Metro-9, Chyashal Balkumari, Lalitpur, Nepal
12 Months, 7 Days & 24 Hours Available for all.
+977 985 109 8889
डा. लक्ष्मणप्रसाद ज्ञवाली, नेपालको प्रथम नेत्रहीन अधिवक्ता The first Blind Advocate of Nepal Dr Laxman Prasad Gnawali.

आमनिर्वाचन : कसको हातमा देशको नेतृत्त्व सुम्पने ?

राजनीति जहिले पनि ठालूको दवावमा सञ्चालन हुन्छ । चाहे त्यो एउटा टोलको विषय होस वा राष्ट्रिय राजनीति अथवा अन्तर्राष्ट्रिय राजनीति नै किन नहोस । अहिले हाम्रो देशमा देखिएको राजनैतिक अस्थिरता पनि राजनीतिको यही आचरण अनुकुलको हो । हामीले कुनै पनि विषयको बारेमा बुझ्न खोज्दा त्यसको वास्तविक स्वरुपका बारेमा जानकारी लिन जरुरी हुन्छ ।

नेपालको राजनैतिक पृष्ठभूमिका सन्दर्भमा भन्ने हो भने पनि विश्व राजनैतिक चरित्र भन्दा अलग रहेर नेपालले आफूलाई स्थपपित गराउन सक्दैन । उहिलेका जमानामा त परराष्ट्र सम्बन्धको कति महत्व थियो भने अहिले त पर निर्भरतामा नै अन्तरसम्बन्धित भैसकेको छ । आज कुनै मुलुकले एक अर्काबाट अलग रहेर आफूलाई सञ्चालन गर्न सक्ने अवस्था छैन । आज संसार एउटा सानो गाउँमा परिणत भइसकेको छ । प्रविधिले हामीलाई यति नजिक बनाइदिएको छ कि एक अर्काको सम्बन्ध विना राज्य सन्चालन मात्र होइन दैनिक जीवन समेत सञ्चालनमा कठीनाइ हुन्छ । आफ्नै बारीको उतपादनले जीविकोपारजन हुने समयमा त हामी पराश्रित थियौँ भने अहिले इन्टरनेतको जमानामा एक्लै राज्यसञ्चालन कसैले पनि गर्न सक्ने अवस्था हुदैन ।
अहिले हामीले भोलीको राजनैतिक माहोलको प्रश्न सोधियो भने कुनै पनि राजनेताले स्पष्ट जवाफ दिन सक्दैनन् । किनभने उनीहरूको अधिनमा राजनैतिक निर्णय निर्धारण हुन सक्दैन । अहिले ग्लोवल परिस्थिति छ । विश्वपरिवेश अनुसार निर्णय लिन सकिएन भने त्यसको कार्यान्वयन सम्भव पनि छैन । कुनै विषयमा नेपालले लिने नीतिले छिमेकीलाई के असर पार्छ त्यसका आधारमा उनिहरूले नेपालसँग व्यवहार गर्छन् । यो हाम्रो आन्तरिक मामिला हो भनेर सिधै राजनैतिक निर्णय अहिले हामरो देशले लिन सक्ने अवस्था छैन ।

हामी छिमेकीहरूसँग अन्तर निर्भरतामा बाँचिरहेका छौं । राजनीतिले पनि समयानुकुल स्वरुप परिवर्तन गरेको छ । राज्य सञ्चालन देशको आन्तरिक मामिला हो तर यो आफैमा स्वायत्त भने रहेको हुदैन । कुनैनकुनै तरिकाले एकले अर्कोको निर्बरता स्विकार्नु पर्छ । चाहे प्रविदिको प्रसंगमा होस वा प्राकृतिक स्रोत साधनको उपभोगको सन्दर्भमा होस या अन्तरराष्ट्रिय अधिकार उपभोगको प्रसँग होस । जेजसरी भएपनि हामी एक अर्कासँग सम्बन्धित छौं ।
यो सामान्य नियम हो । तर हामीले यही सामान्य नियम अन्तरगत रहेर समान न्याय भने पाउन सकिरहेका हुदैनौ । हामी प्राकृतिक रुपले स्रोत सम्पन्न छौं तर त्यसको समयानुकुल सदुपयोग गर्न नसक्दा पीडित हुन पुगेका छौँ । स्वाभिमानी र सक्षम राजनेताको अभावमा यस प्रकारको पीडा आम नेपालीले भोग्नु परेको छ । यदि हामी विश्व राजनीतिमा दखल राख्न सक्ने विचार र अवस्था सहितको अवस्थामा हुन्थ्यौं भने हामी विश्वका विकसित मुलुकहरूको उच्चकोटिको दर्जामा स्थापित हुन सक्ने स्रोत साधन प्रकृतिले हामीलाई दिएको छ । तर हामी जहिले सुकै गरिब मुलुकको दर्जामा बसेर अरुको सहयोगबाट निहित स्वार्थ पुरा गर्नेहरूको चङ्गुलमा फँसिरहेका छौं ।

राजनीतिमा निश्पक्षताको ठूलो भूमिका रहेको हुन्छ । त्यस्तै जवाफदेहिता, पारदर्शिता, स्वतन्त्रता, समानता आदिको सकेसम्म न्यायोचित रुपमा पालना गर्न सक्ने राजनेताले मात्र मुलुकलाई सहज तरिकाले सञ्चालन गर्न सक्छ । विश्व राजनीतिलाई विश्लेषण गरेर हेरियो भने पनि हामीलाई थाहा हुन्छकि सार्वभौम समानताले मात्र संसारमा पकड जमाउन सक्दैन । राज्य शक्तिको भरमा टिकेको हुन्छ । शक्तिशालिले गरेको बल प्रयोग निर्बलहरूले सहन गरेको पाइन्छ। जसरी एउटा सानो गाउँमा त्यहाँको ठालूले प्रत्यक्ष वा परोक्ष रुपमा आफ्नो नियन्त्रणमा राखेको हुन्छ त्यसै गरी विश्व राजनीतिमा पनि विकसित भनिने मुलुकहरू वा शक्तिशाली मानिने राज्यहरूले संसारका सबै मुलुकहरूमा हस्तक्षेप समेतको पकड राखि रहेका हुन्छन् । खाडिको तेलको राजनीति होस वा नेपालको पानीको राजनीति यसैका ज्वलन्त उदाहरण हुन् ।
एउटा सानो राज्यको पनि सार्वभौम स्वतन्त्रता रहेको हुन्छ । सार्वभौम स्वतन्त्रता हुनु आफैमा अन्तर्राष्ट्रिय अधिकार हो । तर त्यसको समुचित प्रयोग गर्न पाउनु वा सक्नु दोस्रो पक्ष हो । अहिले हाम्रोदेशको परिस्थिति हेर्ने हो भने यो कुरा छर्लङ्ग हुन्छ । हामी इतिहासमै कहिल्यै अरुको पराधिन भएनौ । नेपाल विश्वमान चित्रमा यस्तो मुलुक हो जसले इतिहासमा कहिल्यै पनि कसैको पराधिनता स्विकार्न परेको छैन । त्यसैले नेपालको स्वतन्त्रता दिवस छैन । तर व्यवहारमा हेरियो भने हामी कहिल्यै आफ्नो निर्णय आफै गर्न सक्ने हैसियत बनाउन सकेका छैनौं ।

हिजोका दिनमा भन्दा आज आएर यसको असर प्रत्यक्ष देखिन थालेको छ । इतिहासको अध्ययन गर्ने हो भने थाहा हुन्छ कि हाम्रो देशमा आत्म निर्भरताको लागि थुप्रै प्रयासहरू गरिएका रहेछन् । देशमा विभिन्न खानीहरू सञ्चालित थए । कालान्तरमा तीनिहरू क्रमश बन्दगराउँदै शुरुमा अनुदान तथा सस्तोमा आयात र अन्तमा उनिहरूको पराधिनमा पुगिएको छ । उदाहरणको लागि नेपालमा शिशा तथा फलाम र तामा खानीहरू सञ्चालनमा रहेको पाइन्छ । त्यस्तै तराइमा कपास खेति र कपडा उद्योगहरू क्रमशः बन्द गराएर रेडिमेड कपडा सस्तोमा पाइने नाममा मुलुकलाई आयात मुखि बनाइदै आएको छ । अर्को तिर हेर्नेहो भने नेपालीहरूलाई विभिन्न वैदेशिक रोजगारीको नाममा विदेशीहरूको दास बनाउने यता कृषियोग्य जमिन बाँझै राखेर लाखौटन खाद्यान्न आयात गराएर पैसा जति विदेश पठाउने काम भइ रहेको छ ।

अहिले हामी हाम्रो पानी ढुङ्गा माटो समेत आफूले प्रयोग गर्ने होइन कि विदेशीलाई सिन्किको मोलमा वेचेर खोक्रो बनाउने काम भइरहेको छ । जडिवुटि सित्तैमा विदेशीलाई दिने र प्रशोधित औषधि सुनको भाउमा खरिद गरेर गौरव गर्ने राज्यको नीति छ । यस्ता तमाम पक्षहरूबाट प्रमाणित हुन्छ हामी सधै स्तन्तर छौं तर पर निर्भरतामा जकडिएर बाँचिरहेका छौ ।
अर्को तर्फ राज्यको राजनैतिक व्यवस्था हेरियो भने आवधिक निर्वाचन गराइन्छ तर पाँच वर्षसम्म निरन्तर सोही सरकार सञ्चालन गर्न दिंइदैन । कुनै सरकार पनि विगत ७ दशकयता कूल पाँच वर्ष चलेको रेकर्ड छैन । सधै अस्थिरताको नाममा चलखेल भै नै रहेको पाइन्छ । चाहे दुईतिहाईको बहुमत प्राप्त सरकार होस वा बहुमतको सरकारहोस नियति एउटै देखिएको छ । यसबाट के थाहा हुन्छ भने हाम्रा राजनेताहरू निर्णय गर्न सक्षम छैनन ।उनिहरूलाई कसैको निर्देशन चाहिन्छ । विना निर्देशन के गर्ने भन्न समस्या छ । कसैले प्रत्यक्ष रुपमा कसैको अधिनस्थ भएको भए मात्र स्वतन्त्रताको महत्व थाहा हुने रहेछ । हामी स्वतन्त्र छौ भन्ने नारा बाहेक हाम्रो राजनीतिमा केही बाँकि छैन । एउटा स्वतन्त्र राज्यले के के गर्न सक्छ रु सोको बारेमा जानकारीसम्म पनि हाम्रा राज्यसञ्चालकहरूमा रहेको पाइएन । चाहे वैदेशिक कुटनैतिक मामिलामा होस वा व्यापारिक वा अन्तर्राष्ट्रिय सन्धिमहासन्धिको सन्दर्भमा होस् हामी एउटा स्वतन्त्र मुलुकले पाउने हैसियत पाउन सकेका छैनौ । हाम्रो राजनैतिक रुपमा कुनै पहिचान बनाउन सकिएको छैन ।
नेपालमा गौरवगर्न लायक धेरै कुराहरु छन् ।

लुम्बिनी, सगरमाथा, गौतमबुद्ध जस्ता कुरापाएर पनि हामी सधै निरिह बन्न बाध्य भएका छौँ । विश्वको दोस्रो ठूलो जलस्रोतको धनी देश बएरपनि गरिव बन्न बाध्य छौ । अपार प्राकृतिक सुन्दरताले भरिपूर्ण हुदा पनि हामी केही नभएर विदेशीहरूसँग हात पसारेर दुःख देखाउन बाध्य छौं । अनगिन्ति जडिबुटिले सुसज्जित देशका नागरिक भएपनि औषधि अभावमा ज्यान गुमाइ रहेका छौं ।संसारलाई उज्यालो बनाएर नसकिने जलविद्युतको स्रोत भएर पनि अँध्यारोमा बाचिरहन बाध्यछौ। ।लाखौं हेक्टर जमिन कृषियोग्य भएर पनि खाद्यान्न आयात गरेर बांच्न बाध्य छौ । यी सब के कारणले भए भनेर खोजी गर्दैनौ । यसको बारेमा सोच्ने हामीलाई फूर्सद छैन । यो सबैको कारण राजनीतिक अस्थिरता हो । राजनैतिक असक्षमता हो । राजनेताहरूको स्वार्थ र निरिहता हो ।
त्यसैले अव केही स्थिरता, त्याग र समर्पणयुक्त नेताको आवस्यकता महशुस भएको छ । अरुले लडाएर लड्ने भिडाएर भिड्ने अरुको निर्देशनमा चल्ने राजनेताको सट्टा नेपाल र नेपालीको हितमा समर्पण हुने, देशका निम्ति त्याग गर्ने आफ्नो माटोको निम्ति इमान्दारिता देखाउनसक्ने सपूतको खाँचो छ आज देशलाई । वैदेशिक रोजगारीमा प्रोत्साहन गर्ने नीति होइन स्वदेशका खेत जोत्न प्रेरणा प्रदान गर्ने नीति सरकारको चाहिएको छ । आयात गरेर मसिना चामल खुवाउने नेता होइन स्वदेशमै मोटा चामल उत्पादन गरेर बेचाउने नेता चाहिएको छ ।

व्यापारमा भन्दा उद्योगमा लगानी गर्ने उद्यमी चाहिएको छ । विचौलियालाई नाफा हुने व्यवस्था होइन उत्पादकलाई महङ्गो र उपभोक्तलाई सस्तो दिलाउने व्यापार नीति आवश्यक छ । अमेरिका र अस्ट्रेलियको निम्ति भिषा प्राप्त हुने सर्टिफीकेट होइन् नेपालमै पशुपालन र खेति गराउने शिक्षा नीति चाहिएको छ । यी सबै कामका निम्ति सर्वप्रथम सक्षम राजनेताको आवश्यक छ । कर्मठ नेपालीहरू नेपालमै पसिना बगाउन तयार हुने नीति र नेपालीलाई नेपालमै मर्न पाउने वातावरण दिलाउनसक्ने राजनेताको खाँचो छ । यसका लागि आगामी निर्वाचनमा हामीले कसको हातमा देशको नेतृत्त्व सुम्पने ? सबै हामी जनताका हातमा छ । त्यसैले मङ्सिर ४ मा हुनगइरहेको आम निर्वाचनमा योग्य राजनेता र सक्षम राजनैतिक दललाई सबै जिम्मा लगाऊँ ।

Khabar Post मा प्रकाशित