Lalitpur Metro-9, Chyashal Balkumari, Lalitpur, Nepal
12 Months, 7 Days & 24 Hours Available for all.
+977 985 109 8889
डा. लक्ष्मणप्रसाद ज्ञवाली, नेपालको प्रथम नेत्रहीन अधिवक्ता The first Blind Advocate of Nepal Dr Laxman Prasad Gnawali.

असल अभ्यासको निरन्तरता

समाजमा रहेका असल अभ्यासहरू विस्तारै ओझेल पर्दै गएका छन् । पद, प्रतिष्ठा र पैसाका पछाडि दौडने प्रवृत्ति निकै बढ्दो छ । यस्ता संस्कारले कोही पनि माथि उक्लिन सक्दैन । यस्ता गलत प्रवृत्ति निकै द्रुततर गतिले वृद्धि हँुदै गएको छ । राज्यले अवलम्बन गरेको नीति र मर्यादा विपरीतका धेरै काम भएका छन् । यसमा राजनीति गर्ने अधिकांश मुछिएको देखिन्छ । हाम्रा आगामी पुस्तालाई हामीले के बुझाउने हो यसबारे परिस्थिति अन्योलमै छ । हामीले लिएको बाटो गलत भएर यस्तो भएको हो वा मानवमा नैतिकता मूल्य र मान्यताले स्थान नपाउने अवस्थाले यो परिस्थिति सिर्जना भएको हो ? गम्भीर हुनुपर्ने बेला भएको छ । पछिल्ला दिनमा राजनीतिक अनुशासन क्षीण हुँदै गएको छ ।

राजनीतिक क्षेत्र मात्र होइन, अन्य निकाय पनि आचरण र सिद्धान्त विपरीतका काम कारबाहीमा सन्तुष्टि लिन खोजेको जस्तो देखिन्छ । विद्यार्थीहरूले अध्ययनमा समय नदिने, शिक्षकहरूले अध्यापनमा लापरबाही गर्ने, व्यवस्थापकहरूले व्यवस्थापनको काम नगर्नेजस्ता जटिल समस्याले शिक्षा क्षेत्र नराम्रोसँग प्रभावित हँुदै गएको छ । सम्बन्धित निकायमा जिम्मेवारी लिएर बसेकाहरूले पनि आफ्नो आचरणको पालना गर्न खोजेको देखिँदैन । अन्य क्षेत्रमा पनि यस्तै विकृति छ । असल अभ्यास हराउँदै गएको छ ।
राज्यले उत्पादन वृद्धि गरिने खालका प्रभावकारी कार्यक्रमहरू ल्याएको छैन । आफैँले उत्पादन गर्दा केही महँगो पर्छ भन्ने निहँु बनाएर दलाली र बिचौलियाको कमिसनमा सरोकारवालाका नाइकेहरू फसेको जस्तो भान हुन्छ । राज्यको कुनै आडभरोसा नहुने हो भने कसैले पनि यस्ता काम गर्ने हिम्मत गर्न सक्दैन । जुनसुकै निकायहरू पनि विकृत हँुदै गएका छन् । बिचौलियाहरूले निहित स्वार्थ सिद्धिका निम्ति उत्पादक र उपभोक्ता दुवैथरी नागरिकहरू माथि घोर अन्याय गर्दै आएका छन् । यो सबै हुनुको पछाडिको परिणाम आचरण र नैतिकता बिर्सेर स्वार्थी व्यवहारमा संलग्न हुनु मूल कारण हो ।

अहिले हाम्रो समाज परम्पराबाट चलिआएका कैयौँ सामाजिक मूल्य मान्यता र सहिष्णुताको विपरीत कार्य गर्नेहरूको चपेटामा पर्दै आएको छ । समाजका हरेक व्यवहारहरू सहिष्णुताको बन्धनमा बाँधिएर आएका थिए । कसैले आफ्नो अधिकार प्रयोग गर्दैछ भने उसले अरूको अधिकार हनन हुन्छ कि भन्ने भावना थियो । त्यस्तो भावना हराउँदै गएको छ । मानव जीवन धान्नै नसकिने भड्किलो बनाइएको छ । चाडपर्वहरू समेत सहज रूपमा मनाउन नसकिने अवस्थामा पुगेका छन् । धार्मिक क्रियाकलाप तथा जन्म मृत्युजस्ता आधारभूत संस्कारहरू समेत धान्नै नसकिने गरी भड्किला बनाइएका छन् । समाजमा व्यक्ति व्यक्तिको दूरी बढाउने खालका संस्कृतिहरूको आयात गरिँदै सभ्यतामाथि प्रहार गरिदै आएको छ । यस्तै विकृतिमूलक संस्कृतिहरूका कारण समाज रुग्ण बनाउने र त्यसमा राजनीति गर्ने कुप्रथाको बीजारोपण भइसकेको छ ।

धर्म पनि सनातनभन्दा आयातितलाई प्रसय दिइन थालिएको छ । समाजमा सामाजिक सौहार्द्रताको सट्टा वितृष्णा फैलाउने किसिमका क्रियाकलापहरूलाई प्रश्रय दिन थालिएको छ । यस्ता प्रवृत्तिले हाम्रो समाज जीर्ण बनाउँदै लगिएको छ । जसरी हुन्छ सदीयौँदेखि
चलिआएको हाम्रो समाजलाई बिगार्ने रणनीतिबाट निर्देशित हो कि जस्तो भान भइरहेको छ । विभिन्न पक्षबाट विश्लेषण गरेर हेर्दा हामीले धेरै तरिकाले आफ्नो मूल्य मान्यता विपरीत क्रियाकलापहरू गरिरहेका छौँ जस्तो लाग्न थालेको छ ।
सबै कुरा नियमानुसार चलेका हुन्छन् । युद्ध पनि नियमबन्दा बाहिरबाट सञ्चालन गर्न मिल्दैन । यस्तो अवस्थामा हामीले गर्ने व्यवहार भने केही शङ्कास्पद पनि रहेका छन् । संसारका सबै गतिविधिहरू नियमानुसार चलिरहेका हुन्छन् तर हामीले हाम्रा साथी भाइबाट पाउने सहयोग भने कहिलेकाहीँ त्यसको विपरीत पाउने गरेका छौँ । आफूभन्दा अगाडि जान खोज्यो भन्ने निहँुमा साथीलाई खाडलमा धकेल्दिने र उद्धार गरेजस्तो गरी बाहिर तान्न खोज्ने प्रवृत्ति सबैभन्दा खराब हो । यो मित्रताको सिद्धान्त विपरीत छ । यसले परम्परादेखि चलिआएको मित्रताको सिद्धान्तलाई बेकम्मा बनाउन खोजेको छ । यस किसिमका मित्रहरू शत्रुभन्दा धेरै गुणा खराब हुन्छन् । सामाजिक मूल्य मान्यताको नैतिकता त परै जाओस आफूले लिइरहेको फाइदाको गुण तिर्नको निम्ति यस प्रकारका हर्कतहरू गरिने गरेका छन् ।

हामीले भोगिने धेरै किसिमका समस्या सामान्य नैतिकताको समेत विपरीत छन् । पशुहरूले समेत नगर्ने खालका व्यवहारहरू मानिसबाट त्यसमा पनि साथीहरूबाट हुने घटनाले नैतिक शिक्षाको समेत धज्जी उडाइ रहेका छन् । के गर्नु हुन्छ ? के गर्नु हँुदैन भन्ने बारेमा सबै जानकारी सबै व्यक्तिहरूलाई भएको हुनुपर्छ । तर सामान्य मानिसहरूले जति यस्ता व्यवहारहरू पालना गरेका हुन्छन्, त्यति पनि हामीले नेतृत्वमा बसेर अनुभूति गरियो भने पाउन कठिन हुन्छ । नेतृत्वमा आफू बसेर गरिने अनुभूति त्यो भन्दा निकै घटिया खालका हुने गरेको पाइन्छ । जबसम्म बाहिर रहेको हुन्छ त्यतिबेलासम्मको मित्रको व्यवहार एक सय असी डिग्रीमा परिवर्तन भई शत्रुको भन्दा पनि तल झरेको हुन्छ । शत्रु र मित्रमा फरक के हुन्छ भने शत्रुलाई हाम्रो बारेमा पूर्ण ज्ञान हँुदैन । उसले हाम्रो आन्तरिक व्यवहारबारे सामान्य अनुमान मात्र गर्न सक्छ । त्यसैले उसले पु-याउने हानिभन्दा निकटवर्ती मित्रले पु¥याउने नोक्सान धेरै खतरा हुने गर्छ ।

अर्को कुरा हामीले आफ्नो साथीबाट उसको निकायहरूमा पहँुच छ र त्यसबाट म लाभान्वित हुन सक्छु भन्ने सोचेका हुन्छौँ साथै त्यति नै बढी खतरा महसुस गर्नुपर्ने हुन्छ । किनकि मानिसले शक्ति र पदको निकै निर्लज्ज तरिकाले दुरुपयोग गरिरहेको हुन्छ । उसले आफू शक्तिमा रहेको र त्यो शक्ति प्रयोग गरेरै भए पनि साथीलाई अगाडि बढ्नबाट रोक्नका निम्ति नसोचिएका व्यवहारसमेत गरेको पाइन्छ । अरूले बोकेको हतियारबाट आफू कति सुरक्षित हुन सकिन्छ भन्ने कुरा हो । हतियार कसैले पनि अरूको सहयोगको निम्ति बोकिदिएको हँुदैन । त्यसैले हामीले पनि अरूको पहुँचको भरोसामा आफूलाई शक्तिशाली सम्झनु धेरै नै हानिकारक हुन्छ । उसले आफ्नो स्वार्थ रहुञ्जेल मात्र साथ दिन्छ ।

बिचौलियाहरूले उत्पादकको मूल्यलाई स्वात्तै घटाएर लिने र उपभोक्ताहरूबाट मर्का पारेरै बढी असुल्ने प्रवृत्तिले सबैलाई पीडामा पु-याएको छ । सामान्य दुःख पनि नगरी उत्पादक र उपभोक्ताको बीचमा खाडल सिर्जना गरेर दुवैलाई नोक्सानी पु-याउने र आफू मालामाल हुने प्रवृत्ति नै बिचौलिया प्रवृत्ति हो । मानिसका अनगन्ती सपना र आवश्यकता हुन्छन् तर स्रोत सीमित मात्रामा हुन्छन् । त्यसैले चाहेजति आवश्यकता परिपूर्ति गराउन सकिँदैन ।
सारांशमा स्वार्थी प्रवृत्ति भएका मित्रहरूको सहयोगी नाटक, नैतिकता विहीन चरित्रको सहयोग, सामान्य धर्म, मूल्यमान्यता समेत कायम नगरिएको परिवेश अर्थात् निहित स्वार्थका निम्ति गरिने सहयोग, आफ्ना भनिने मान्छेहरूको विवेकहीन बिचौलिया व्यवहार आदिले गर्दा हाम्रो राष्ट्रिय राजनीति तथा सामाजिक व्यवहार निकै तल्लो श्रेणीबाट गुज्रिरहेको छ । धर्म, संस्कृति, मूल्य, मान्यता सबैलाई निहित स्वार्थले ढाकेर आधुनिकताको नाममा सभ्यताको विनाश गराइँदै आएको छ । सामाजिक असल अभ्यास र मूल्यको संरक्षण आजको आवश्यकता हो । असल अभ्यासको जगेर्ना गर्न सकिएन भने मुलुकको आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक सबै क्षेत्र अझ विकृति हुनेछ । विकृति र विसङ्गतिबाट जोगिन कम्तीमा पनि सबै क्षेत्रका असल अभ्यास कायम राखौँ ।

गोरखापत्र मा प्रकाशित