Lalitpur Metro-9, Chyashal Balkumari, Lalitpur, Nepal
12 Months, 7 Days & 24 Hours Available for all.
+977 985 109 8889
डा. लक्ष्मणप्रसाद ज्ञवाली, नेपालको प्रथम नेत्रहीन अधिवक्ता The first Blind Advocate of Nepal Dr Laxman Prasad Gnawali.

जोखिम टार्न सेतो छडी

अपाङ्गतालाई नेपाल सरकारले दस प्रकारमा विभाजन गरेको छ, तीमध्ये दृष्टिविहीनता एक हो । यसभित्र पनि विभिन्न समूह र उपसमूह छन् । सामान्यतया नेपालमा दृष्टिविहीनहरूलाई तीन प्रकारमा विभाजन गरिएको छ ।

पहिलो, पूर्ण दृष्टिविहीन जसले बत्ती बलेको समेत देख्दैन । अर्थात्, उज्यालो–अँध्यारो पनि छुट्याउन नसक्ने व्यक्तिहरू यस वर्गमा पर्छन् । दोस्रो थरीले बत्ती बलेको मात्र देख्न सक्छन्, तर उनीहरूलाई पनि पूर्ण दृष्टिविहीनलाई जस्तै सहयोगी आवश्यक पर्छ । तेस्रो न्यून दृष्टियुक्त वर्ग, जसमा धेरै व्यक्ति पर्छन् । यस वर्गका दृष्टिविहीनहरूको प्रकृति एकअर्कासँग पटक्कै मिल्दैन, बाहिरबाट हेर्दा उस्तैउस्तै देखिए पनि ।

दृष्टिविहीनहरूको अत्यावश्यक साधन हो— सेतो छडी । दृष्टिविहीनहरूको जीवनलाई पूर्णता दिन र स्वतन्त्रताको प्राप्तिका निम्ति सेतो छडीको महत्त्वपूर्ण भूमिका हुन्छ । सेतो छडीले उनीहरूलाई स्वतन्त्र र सुरक्षित रूपमा आवागमनका लागि सहयोग गर्छ । जो व्यक्ति पूर्ण दृष्टिविहीन छन् उनीहरूलाई निर्वाध रूपमा सेतो छडी आवश्यक पर्छ ।

बत्ती बलेको मात्र देख्नेहरूले आफ्ना लागि तोकिएको मापदण्डका आधारमा बनाइएको सेतो छडी प्रयोग गर्नुपर्छ । फरक–फरक प्रकृतिको दृष्टिक्षमता हुने न्यून दृष्टियुक्तहरूका लागि पनि सेतो छडी उत्तिकै उपयुक्त हुन्छ । सेतो छडी लिएर यात्रा गर्ने व्यक्तिहरूप्रति समाजले अपमानजनक व्यवहार गर्न छाड्नुपर्छ । त्यस्ता व्यक्तिहरूप्रति हाम्रोजस्तो समाजको दृष्टिकोण सकारात्मक नभएको हुनाले नै गत शुक्तबार विश्व सेतो छडी सुरक्षा दिवस मनाइएको हो ।

बाहिरबाट अरूले हेर्दा कुनै पनि कमजोरी नभएको जस्तो देखिने व्यक्ति न्यून दृष्टियुक्त छ भने उसले सेतो छडी प्रयोग नगर्नु निकै जोखिम र हानिकारक हुन्छ । अरूले उसलाई देख्ने मानिसका रूपमा लिए पनि उसले सबै काम गर्न सक्दैन । यही कारण उसले समाजमा अनेक दुःख पाउनुपर्छ । धेरैले यस्ता व्यक्तिहरूलाई सामान्य रूपमा व्यवहार गर्दा उनीहरू मर्कामा परेका हुन्छन् । उनीहरूलाई दृष्टिविहीनहरूले पाउने सुविधाहरूसमेतबाट वञ्चित गरिएको हुन्छ । पूर्ण दृष्टिविहीन व्यक्तिहरूले पनि उनीहरूको मर्का बुझ्न सकिरहेका 

हुँदैनन् । पूर्ण दृष्टिविहीनहरूले न्यून दृष्टियुक्तहरूलाई देख्ने व्यक्तिका रूपमा लिई उनीहरूका समस्यालाई खासै महत्त्व नदिने गरेका हुन्छन् । देख्ने मानिसले पनि उनीहरूको सीमा बुझ्न सकिरहेका हुँदैनन् । उनीहरूको वास्तविक पहिचान नभएकैले यो सब भएको हो । यस्ता न्यून दृष्टियुक्तहरू आफ्नै कारणले मर्कामा परेका छन् । कतिपयले आफूलाई नदेख्ने व्यक्तिका रूपमा चिनाउन पनि नरुचाएको देखिन्छ । आफूमा रहेको कमजोरी ढाक्न खोज्नु एउटा कुरा हो तर यो ढाक्न नसकिने वास्तविकता हो । यो यथार्थलाई आत्मसात् नगर्दा उनीहरूलाई नै धेरै हानि भैरहेको हुन्छ ।

संसारमा सबै नदेख्ने व्यक्तिहरूको पहिचानका रूपमा सेतो छडीलाई लिइन्छ । सेतो छडीका माध्यमबाट पूर्ण दृष्टिविहीनहरूले सजिलै आफ्नो पहिचान दर्शाइरहेका हुन्छन् भने न्यून दृष्टियुक्तहरूलाई त्यस रूपमा चिनिएको हुँदैन । त्यहीकारण उनीहरूले हरेक ठाउँमा जोखिम मोलिरहनुपरेको हुन्छ । उदाहरणका लागि, हातमा सेतो छडी लिएर हिँडेको व्यक्ति रहेछ भने बाटो काट्ने समयमा उसले कुनै अवरोध व्यहोर्नुपरेको हुँदैन । तर न्यून दृष्टियुक्त व्यक्ति जसले पूर्ण रूपमा देख्न सक्दैन र हातमा सेतो छडी पनि छैन भने उसलाई विशेष गरी बाटोमा गरिने व्यवहार सामान्य मानिसलाई जस्तै हुन्छ । तर उसले सामान्य मानिसले जस्तो देखेर कुनै कुरा पहिचान गर्न सकेको हुँदैन । त्यसैले सबैखाले दृष्टिविहीनहरूले अनिवार्य रूपमा आफूलाई तोकिएको अवस्थाको सेतो छडी लिएर हिँड्ने गरेमा मात्र जीवन सुरक्षित हुन सक्छ ।

विशेषगरी भीडभाडमा न्यून दृष्टियुक्त व्यक्तिहरूलाई पर्ने समस्या कम गर्न सेतो छडीले मद्दत पुर्‍याउन सक्छ । हातमा सेतो छडी भएको व्यक्तिलाई आम मानिसले पहिचान गरी तदनुरूप व्यवहार गर्न सक्छन् । गाडीहरूले पनि सोही किसिमले व्यवस्थापन गर्न सक्छन् । विभिन्न सरकारी तथा अन्य निकायबाट प्रदान हुने कतिपय सेवाहरू पनि उनीहरूले पाउन सक्छन् । व्यक्तिसँग परिचयपत्र त होला तर त्यो औपचारिक रूपमा देखाए पछि मात्र थाहा हुन्छ । यदि हातमा सेतो छडी लिएर हिँड्नेको सीमाबारे सर्वसाधारण पनि जानकार हुन्छन् । त्यसैले दृष्टिमा केही कमी छ भने वा सामान्य अवस्था छैन भने निर्विवाद रूपमा जोकोहीले सेतो छडीको प्रयोग गरेर सम्भावित खतराबाट बच्नुपर्छ ।

अब पनि मानव विविधतायुक्त न्यून दृष्टियुक्ततालाई लुकाउन खोजियो भने हाम्रो जीवन झन्झन् जोखिम र खतरामा पर्दै जानेछ । भावनामा बगेर गरिने कुनै पनि व्यवहारले समस्या पहिचान गराउन सकेको हुँदैन । त्यसैले हरेक न्यून दृष्टियुक्त व्यक्तिहरूले आफूमा रहेको न्यून दृष्टियुक्ततालाई मानव विविधताका रूपमा लिएर त्यसबाट उत्पन्न हुने अवरोध कसरी कति कम गर्न सकिन्छ सोबारेमा सचेत हुन जरुरी छ ।

नदेख्ने समस्या हुनु व्यक्तिको दोष होइन, तर त्यसलाई लुकाउन खोजियो र त्यसबाट कुनै जोखिम उत्पन्न भयो भने त्यसको जवाफदेही आफैंमा आउँछ । जोसुकैले पनि अपाङ्गतालाई मानव विविधताको एक रूपमा स्वीकार गरी कमजोरीबाट उत्पन्न हुने अवरोध कम गर्न अपनाउनुपर्ने सबै उपाय अवलम्बन गर्नतर्फ लाग्नुपर्छ । यसबारेमा आफूमा रहेको कमजोरीलाई कुण्ठाका रूपमा बढ्न दिनु हुँदैन ।

कान्तिपुर दैनिक मा प्रकाशित