Lalitpur Metro-9, Chyashal Balkumari, Lalitpur, Nepal
12 Months, 7 Days & 24 Hours Available for all.
+977 985 109 8889
डा. लक्ष्मणप्रसाद ज्ञवाली, नेपालको प्रथम नेत्रहीन अधिवक्ता The first Blind Advocate of Nepal Dr Laxman Prasad Gnawali.

नेतृत्व र सामाजिक विकृति

हाम्रो समाजका सामाजिक विकृति अन्त्य नगरी विकसित मुलुकको परिकल्पना गर्न सकिँदैन। समाज कहिल्यै पनि पूरै विकृतिरहित बनाउन सम्भव छैन।समाजका सबै व्यक्ति विविधतायुक्त अवस्थाका हुन्छन्। त्यसैले हामीले समाजका सबै प्रकारका मानिसलाई समाजका अभिन्न अङ्गका रूपमा स्वीकार गर्नुपर्छ।

समाजका व्यक्तिको बहुमत अवस्था सकारात्मक छ भने त्यो समाज सुधारोन्मुख अवस्थामा छ भन्न सकिन्छ।समाजलाई नेतृत्व प्रदान गर्ने व्यक्ति कुनै गलत तत्त्वबाट निर्देशित छैन भने उसले गरेका केही कमीकमजोरी पनि सुधार गर्न सकिने अवस्थामा हुन्छन्।गल्ती पुनः दोहोरिएन भने काम गर्ने व्यक्तिको मानवीय कमजोरीका रूपमा लिन सकिन्छ तर महसुस भए पनि कमीकमजोरी गरिँदै जाने हो भने त्यो अवश्य पनि क्षम्य हुँदैन।

मनसाय राम्रो राखेर गरिएको कामको सिलसिलामा हुने गल्तीको पुनरावृत्ति भएको छैन भने त्यो दण्डनीय हुँदैन।दुर्घटनावश भएका कमजोरी सुधार गर्दै जाने नेतृत्व कहिल्यै पनि अलोकप्रिय हुनुपर्दैन। उसले जनमत कायम राख्न सक्छ।हरेक समाजमा राम्रा र नराम्रा दुवै सोच भएका मानिस हुन्छन्।

नेतृत्व सक्षम र निर्दोष मनसायको छ भने उसले सबैको अभिमत आफ्नो नियन्त्रणमा राख्न सफल हुन्छ तर आफू भ्रष्ट छ, खराब सल्लाहकारको घेरामा रहेर सधै प्रशंसा मात्र सुन्न रुचाउँछ,आलोचनालाई गाली सम्झन्छ,साम्नेमा कमजोरी देखाइदिनेविरुद्ध पूर्वाग्रही बन्छ,आत्मकेन्द्रित निर्णय गर्छ भने त्यस्तो नेतृत्व पतनोन्मुख हुन्छ र अहिले उसले पाएको जिम्मेवारी नै अन्तिम जिम्मेवारी हुन सक्छ। त्यसैले विपक्षमा आफ्नो प्रशंसा गर्ने तर साम्नेमा आलोचना गर्न पनि सक्ने व्यक्ति नै आफ्नो सबैभन्दा नजिकको मानिस ठान्नुपर्छ। समाजको असल नेतृत्व जहिले पनि सामाजिक रूपमा निष्कलङ्क रहन सक्नुपर्छ।

नेतृत्वको परीक्षण सामाजिक समस्याको समयमा गरिन्छ। समाजले निकास नपाइरहेको समस्यालाई नवीन तरिकाले सल्ट्याउन सक्ने व्यक्तिले मात्र समाजलाई निकास प्रदान गर्न सक्छ।

सामाजिक गति एक निरन्तर प्रक्रिया हो। जसरी दिनरात प्रकृतिका सामान्य नियम हुन् त्यसैगरी समाजमा पाइने सफलता र असफलता स्वाभाविक प्रक्रिया हुन्। प्रकृतिमा राम्रानराम्रा सबै चिज सहज रूपमा अटाइरहेका हुन्छन्।त्यसैगरी समाजमा पनि विकृति पनि स्वाभाविक रूपमै चलिरहेका हुन्छन्।

कतिपय सामाजिक विकृति समाजमा प्रथाका रूपमा विकसित भएर आएका हुन्छन्। यो बेठीक हो भन्ने जान्दाजान्दै पनि समाजमा कतिपय प्रचलन नयाँ पुस्तामा हस्तान्तरण भएर युगौँसम्म कायम रहन सफल हुन्छन्। समाज सुधारकहरू नजन्मिने पनि होइनन् तर विचारलाई तार्किक रूपमा समाजसमक्ष प्रस्तुत गर्न नसक्दा त्यस्ता कुशल विचारकहरू समाजमा उदय हुन नपाई विलीन हुन्छन्।त्यस्ता विचारलाई समाजको नेतृत्वले सकारात्मक रूपमा ग्रहण गर्न सक्नेखालको अवस्था रहेमा मात्र समाजले परिवर्तनको बाटो अंगाल्न सक्छ।

विचार कुन वर्गबाट निसृत भएको हो भन्नेले पनि यसको महत्त्व राख्छ। जहिले पनि समाजले ठालुहरूकै कुरा सुन्ने र उनीहरूका कुरा लागु गर्ने प्रवृत्ति हुन्छ। कहिलेकाहीँ असल विचार समाजका निमुखा वर्गका व्यक्तिले प्रतिपादन गरेको भए पनि संभ्रान्त कुलिन वर्गले आफ्नो अधिकार कायम गराएको हुन्छ। जसरी भए पनि समाजमा ठालुहरूको बोलवाला कायम राख्न खोजिन्छ।त्यस्तो प्रवृत्ति अति नै बढी हुन थालेपछि मात्र समाजमा विद्रोहको सुरुवात हुन थाल्छ।

अभिजात्य वर्गले सीमित शक्तिको आडमा बहुसंख्यक जनसमुदायको विचार नलत्याउँदासम्म समाजमा विद्रोहको गुन्जायस देखा पर्दैन।केही निमुखा त सधैँ अन्यायमा परेका हुन्छन् तर उनीहरूलाई न्याय दिलाउन सक्ने हिम्मत कसैको पनि हुँदैन।किनभने समाजमा अभिजात वर्गको दबदबालाई संस्कारका रूपमा पचाइसकिएको हुन्छ।त्यसलाई सामान्य व्यवहारका रूपमा सहन गरिएको हुन्छ।

प्राचीन साम्यवादी समाजमा व्यक्तिको रुचि, क्षमता, अवस्था आदिको विविधताका कारण मानव समुदायमा सबैले उत्तिकै हैसियत निर्माण र कायम राख्न सकेनन्। उनीहरूको विचार,बुद्धि,बल आदिको विविधताकै कारण कोही ठूलो वा कोही सानो मानिसका रूपमा स्थापित हुन पुगेका हुन्।कालक्रमले त्यस्ता व्यक्तिलाई क्रमशः व्यक्तिबाट समूहमा कायम गर्दै कालान्तरमा वर्गीयरूपमा स्थापित भएका थिए।

त्यस समयमा मानवले आफ्नो सुरक्षाका लागि आफू मात्र सक्षम नभएको स्वीकार गर्दै गरेको सामाजिक सम्झौताका कारण राजाहरूको उदय भएको हो।राजा भनेको समाजमा सबैको सुरक्षा गर्न सक्ने सक्षम व्यक्ति हो।तर पछिल्ला दिनमा त्यो संस्कारलाई दैवी शक्तिका रूपमा अपव्याख्या गरेर आफूहरू शक्तिशाली र अरू व्यक्ति निरीह भएको बताएर आफूले जे गर्न पनि छूट पाएको बताउन थालेपछि मात्र निरङ्कुशताको सुरुवात भएको हो।

सोही राजाको कुनै न कुनै रूप आजको हरेक समाजको नेतृत्व हो। सो नेतृत्वले आज पनि आमजनसमुदायको तर्फबाट सबैको केही शक्ति आफूमाथि शासन गर्न प्रदान गरिएको स्वीकार गरिएको छ। चाहे त्यो राष्ट्रिय तहको नेतृत्व होस् वा प्रादेशिक वा स्थानीय तहको होस्, सबैमा त्यो राजकीय गुण कायम हुन्छ।त्यसको प्रयोग कुन नेताले कसरी गर्छ भन्नेमात्र हो।

कोही आज अति नै जनप्रिय नेता छन् त कोही अत्यन्तै अलोकप्रिय छन्। कसैका सामु आफ्ना मतदाताले आफ्ना कुरा खुलेर व्यक्त गर्न सक्ने अवस्था छ भने कोही नेताका सामु प्रशंसाबाहेक केही सुन्न सक्ने धैर्य हुँदैन।आज पनि समाजमा साना वा ठूला राजाको चरित्र विखण्डित अवस्थामा गाउँ–गाउँसम्म पुगेको छ।

तत्कालीन अवस्थामा व्यक्तिहरूले आफूमा निहित केही शक्ति आफूहरूमाथि नै शासन गर्न सक्ने गरी कुनै एक बलवान व्यक्तिलाई दिने सहमति वा सामाजिक सम्झौता गरेर आफ्नो सुरक्षाको जिम्मासमेत त्यसै व्यक्तिलाई जिम्मा लगाएका थिए र त्यो व्यक्ति समाजमा सर्वशक्तिमान अवस्थामा स्थापित भएको थियो त्यसैलाई राजाका रूपमा र हाल जनप्रतिनिधिका रूपमा स्वीकारिएको छ।

हिजोका राजाहरूको सबै चरित्र आजका जनप्रतिनिधिहरूमा निहित हुन्छ। विगतमा राजाले गर्ने काम आजका जनप्रतिनिधिले गर्ने गरेका छन्। हाम्रा जनप्रतिनिधि सम्पूर्ण राजकीय शक्तिका साथ आफ्नो क्षेत्रमा प्रस्तुत भएका छन्।

मुलुकको समग्र विकास पनि कुनै जादुको छडी जस्तो क्षण भरमै परिवर्तन गरेर देखाउन सकिने कुरा होइन। विकास त क्रमशः प्रत्येक नागरिक वा प्रत्येक घरको विकासद्वारा नाप्न सकिने कुरा हो।

नेतृत्वको क्षमताका आधारमा नै कस्ता परिवर्तन कुन मात्रामा भएका छन् । त्यसैका आधारमा विकासका सूचकहरू निर्माण गरी मात्रा नाप्ने गरिन्छ। कुनै समाजको विकास कति भयो भन्ने कुरा त्यसको सूचकका आधारमा मात्र बताउन सकिन्छ।

भौतिक विकास मात्रले समाजको विकासको मापदण्ड पूरा भएको मान्न सकिन्न। समाजको सर्वाङ्गीण विकासको सूचक समाजका नेतृत्वले तयार गरेको मापदण्दडका आधारमा निर्धारण गरिएको हुन्छ। मानवीय सोच र प्रवृत्तिमा सकारात्मक परिवर्तन भएको मात्राले समाजको सामाजिक उच्चताको निर्धारण गर्छ।

समाजमा सबै किसिमका भौतिक सुविधा सम्पन्न छन् तर मानिसमा सकारात्मक सोचको मात्रा न्यून छ भने विकासको सूचाङ्कमाथि उठ्न सक्दैन।मान्छेको मानवीय चरित्रले समाजमा सुख र खुसी प्रदान गर्ने क्रम जति बढी छ त्यो समाज उत्तिकै विकसित छ भन्न सकिन्छ।

यी सबै कुराको सूत्राधार भनेको नेतृत्वको सोच नै हो। समाजमा प्रदान गरिने सबै प्रकारका अधिकारलाई राजकीय अधिकार भनिन्छ।यस्ता राजकीय अधिकार र कर्तव्यको मापदण्ड निर्धारण गरिने प्रक्रिया नै कानुन हो। कानुनले सबै कुरा व्यवस्थापन गर्छ।

नेतृत्वको शक्तिमा अङ्कुश लगाउने र व्यक्तिहरूको स्वतन्त्रताको अवस्थालाई फराकिलो पार्ने काम कानुनले मात्र गर्न सक्छ। त्यसैले नेतृत्व कति सक्षम र सज्जन छ भन्ने कुरा उसले निर्माण गरी लागु गरेका कानुनबाट थाहा पाउन सकिन्छ।

Nagarik Daily मा प्रकाशित