Lalitpur Metro-9, Chyashal Balkumari, Lalitpur, Nepal
12 Months, 7 Days & 24 Hours Available for all.
+977 985 109 8889
डा. लक्ष्मणप्रसाद ज्ञवाली, नेपालको प्रथम नेत्रहीन अधिवक्ता The first Blind Advocate of Nepal Dr Laxman Prasad Gnawali.

हराभरा संस्कृतिमा गरिबी

पृथ्वी आफ्नै गतिमा घुमिरहेको हुन्छ। मानव जीवनमा भने अनेकौँ उतारचढाव आइरहन्छन्। हामीलाई पनि हाम्रा अग्रजले सिकाएका कुराले विभिन्न समयमा विभिन्न किसिमका प्रभाव पारेका हुन्छन्। दैनिक जीवन सञ्चालनमा मानिसले धेरै किसिमका आरोह/अवरोह पार गर्दै आएका हुन्छन्। तिनै आरोह/अवरोहका भोगाइले मानिसलाई राम्रोनराम्रो, असलखराव आदि विभिन्न विशेषणले चिनाउनेसमेत गरेका हुन्छन्।

जीवन निर्वाहका क्रममा गरिने व्यवहारलाई मूल्याङ्कन गरी मानिसको स्तर निर्धारणसमेत गरिने हाम्रो परम्परा छ। धनी–गरिब आदि बनाउने पनि मानिसको जीवन निर्वाहका सन्दर्भमा उसले भोग्ने गरेका भोगाइको मात्रालाई लिएर निर्धारण गरिएको हुन्छ। मानिससँग भएको भौतिक सम्पत्ति वा उसको सोचाइ वा उसले समाजमा देखाएको व्यवहार केले उसलाई धनी वा गरिब निर्धारण गर्छ त ? यसमा कत्ति पनि सन्देहमा छैनौँ। 

मानिसले भोगचलन गर्ने गरेको भौतिक सम्पत्तिको गणनाले उसलाई धनी वा गरिब निर्धारण गरेको हुन्छ। उसले लिएको सोच वा उसको सामाजिक भावना यी कुनै कुराले पनि उसको गरिबी घटाउन सक्दैनन्। 

जतिसुकै राम्रो जनमुखी सोच राख्ने भए पनि एक जना भौतिक सम्पत्ति थोरै भएको मानिसले राख्ने विचार समाजमा वैभवशाली मानिएका प्रशस्त सम्पत्ति भोगचलन गर्नेहरूले राखेको विचारको तुलनामा सधैँ पछाडि पारिन्छ। त्यसैले धनी–गरिब छुट्याउने रेखा भौतिक सम्पत्ति हो। यसले समाजमा नराम्रोसँग प्रभाव पार्दै आएको छ।

हामीले हाम्रा परम्पराले सिर्जना गरेका राम्रा र जनमुखी कुराहरूलाई पनि धन सम्पत्तिसँग दाँजेर व्यवहार गर्न थालिएको हुनाले धनी र गरिबको बीचमा यति धेरै खाडल सिर्जना भएको हो। मानिससँग भौतिक सम्पत्ति प्रशस्त छ भने उसले जस्तोसुकै काम गरे पनि कसैले विरोध नगर्ने तर सोही काम गरिबले गरेमा ऊ निकै दोषी हुने गरी सामाजिक मूल्य/मान्यतामा खलल पर्ने गरी प्रचलन बसालिँदै आएको छ।

यसले गर्दा निमुखाहरू अन्यायमा पर्दै आएका र धनीले अत्याचार बढाउँदै गएका अवस्था हो। जसरी भए पनि धन कमाउने मानिस ठूलो मानिने हुनाले समाज भ्रष्टाचारउन्मुख हुन पुगेको हो। भौतिक सम्पत्तिलाई खासै बढावा नदिने र विचारलाई महत्त्व दिने परम्परा भइदिएको भए भ्रष्टाचारले यति नराम्रोसँग समाजलाई ग्रस्त पार्न सक्ने थिएन। 

समाजमा जसरी सम्पत्तिको होड चल्छ त्यसको स्थानमा बौद्धिक कुराले महत्त्व पाउने थियो। सम्पत्ति मानिसलाई नभै नहुने साधन हो तर योमात्र सबैको साध्य भने होइन। राम्रोसँग प्रयोग हुन सकेन भने धन पनि हानिकारक हुन जान्छ। 

आज पनि समाजमा बिग्रने जमातको मूल्याङ्कन गरियो भने गरिबका सन्तानका तुलनामा धनीका छोराछोरी बढी बिग्रिएका छन्। धनको सदुपयोग हुन नसक्दा र धनको आडमा गरिने आपराधिक क्रियाकलापले पनि हाम्रो समाज ग्रस्त बन्न पुगेको छ। समाजका हरेक तत्त्वमा नकारात्मक प्रभाव परेको छ।

हाम्रो समाजमा गरिने हरेक क्रियाकलाप समाजलाई प्रगतिउन्मुख बनाउनेभन्दा पनि देखासिकीमा बढी प्रभावित छन्। चाहे हाम्रा विभिन्न चाडवाड मनाउने कुरा होस् वा मानव संस्कारका कुरा, सबैमा यसको नकारात्मक प्रभावले नराम्रोसँग जरा गाडेको छ।

 यसबाट हाम्रो समाजले सहजै उन्मुक्ति पाउने अवस्था छैन। यसका निम्ति सबैले सोचमा परिवर्तन ल्याउन तयार हुनुपर्छ जुन सम्भव देखिँदैन। 

समाजका सम्पत्तिवालले गरिबलाई हेर्ने दृष्टिकोण नबदलेसम्म यसको परिकल्पनासम्म पनि सम्भव छैन। यो सामाजिक संरचना त्यति सजिलै परिवर्तन हुने कुरा पनि होइन। यसका निम्ति सयौँ वर्ष लाग्न पनि सक्छ। 

मानवीय स्वभाव सधैँ परिवर्तनशील त छ तर धेरै मानिसले सजिलै परिवर्तन स्वीकार्दैनन्। यथास्थितिमा रमाइरहेका हुन्छन्। परिवर्तनबाट आउने जोखिम कसैले उठाउन खोज्दैनन्। परिवर्तनले सधैँ सजिलो बाटोमात्र देखाउँछ भन्ने पनि छैन।

पछिल्ला दिनमा नेपालका गरिब आमनागरिकलाई निकै समस्या थपिँदै आएका छन्। विशेष गरी सांस्कृतिक चाडवाड हाम्रो पहुँचभन्दा निकै महँगा बनाइँदै गरिएको छ। यसले हाम्रा स्वच्छ सांस्कृतिक परम्पराहरू नमनाउन पाए हुने थियो भन्ने भावना जगाएर रसिलो समाजलाई निरस बनाउने र मानवलाई यन्त्र मानव जस्तो कठोर प्रवृत्तिको बनाएर नेपाली समाजलाई विकृत बनाउन खोजिएको छ। 

यसका निम्ति हाम्रा परम्परागत चाडवाडलाई सर्वसाधारणले धान्नै नसक्ने गरी महङ्गा बनाउने र तिनीहरूप्रतिको सद्भाव घटाउने काम गरिँदै आएको छ। राज्य यस पक्षमा संवेदनशील देखिन सकेको छैन। हाम्रो सनातनदेखि चलिआएको सहिष्णुताको अन्त्य गराउने नजानिँदो खेलमा सरकार मौन रूपले समर्थन गरेर बसिरहेको छ। 

राज्यको दायित्व संस्कृति जोगाउने हो तर संस्कृति विकृतिमा रूपान्तरण गराएर विदेशी संस्कृति भित्र्याउने विदेशी एजेन्टहरूको रणनीतिमा सरकार मौन बस्नुले मौलिक परम्परा ध्वस्त भैसक्दा पनि राज्यले कुनै ठोस नीति लिन नसकेको भान हुन्छ 

राजनीतिमा दुई पाटा हुन्छन्। एउटा पाटो खुला राजनीति र अर्को पाटो संस्कृति। राजनीतिमा प्रत्यक्ष वा परोक्ष देशी/विदेशी प्रभावले महत्व राखेको हुन्छ। तर संस्कृतिमा भने राज्यले चाहेमा मौलिकता कायम राख्न सजिलै सक्छ। बिग्रेको राजनीतिक व्यवस्था सामान्य तरिकाले सपार्न सकिएला तर संस्कृतिमा परिवर्तन गराउन निकै कठिन हुन्छ। 

त्यसैले धर्म, संस्कृति, परम्परा जस्ता मौलिक पक्षमा आघात पर्ने कुरामा राज्य निकै संवेदनशील भएर लाग्नुपर्छ। देशको विकास विदेशी अनुदान ल्याएर पनि गर्न सकिएला तर मौलिक संस्कृतिको विकासलाई यहाँका नागरिकले सहज तरिकाले अवलम्बन गर्न सक्ने वातावरण भएन भने सम्भव हुँदैन। ठूला ठूला परियोजना पाँच दस वर्षमा गरिएला तर हाम्रो शदियौँदेखि चलिआएका कुरालाई विकृत बनाउनेखालका क्रियाकलापमा राज्यले चनाखो भएर ध्यान दिनुपर्छ।

हाम्रा सबै चाडवाडमा सन्दर्भ जोडिन्छ। हामीले विभिन्न पर्व खुसी र आनन्दका निम्ति मनाउने गर्दै आएका छौँ। कसैलाई देखाउनका लागि होइन। चाहे तिज, दसैँ, तिहार होस् वा अन्य कुनै पर्व, हाल आएर देखासिकीका भरमा आवश्यकताभन्दा निकै खर्चिला भड्किलाखालका बन्दै गएका छन्। त्यतिमात्र होइन, मानिस जन्मने बित्तिकै उसका विभिन्न संस्कार गराउने क्रममा पनि समाज विकृत बन्दै गएको छ। 

चाहे न्वारन, पास्नी वा ब्रतबन्ध होस् वा विवाह र मृत्यु संस्कार पनि धान्नै नसकिने गरी महङ्गाइएका छन्। केही मानिसले अनावश्यक खर्च गरेर त्यस्ता संस्कार भड्किला बनाउने र उनीहरूको देखासिकी गरी समाजका सर्वसाधारणमा अनावश्यक प्रतिस्पर्धाको अवस्था सिर्जना गरेर समाजलाई आफ्नो मौलिकताबाट विमुख बनाउने कामहरू प्रशस्तै हुँदै आएका छन्। यस्ता विकृतिमूलक व्यवहारमा राज्य मौन छ। 

यस्तो व्यवहारमा राज्यले हस्तक्षेप गरेरै भए पनि सुधार ल्याउन सकेन भने आगामी पुस्तामा हाम्रा मौलिकता विकृत रूपमा प्रभाव पारेर जानेछन्। जसले गर्दा विविधता बोकेको हाम्रो समाज केवल मेसिनरी शैलीमा बदलिनेछ।

प्रत्येक दिन, हप्ता, महिना, मौसम जहिले पनि कुनै न कुनै पर्व चाड मनाएर पनि आफ्नो दैनिकी सुचारु राख्न सक्ने हाम्रो समाजमा पश्चिमा शैलीको संस्कृतिले प्रभाव पारेर हाम्रो मौलिकता मार्न दिनु हुँदैन। वर्षमा  दुई दिन मात्रै सार्वजनिक बिदा पाइने मुलुकले आफूलाई संस्कृतिको धनी बनाउन विभिन्न प्रयास गरेका हुन्छन्। 

हामीले शदियौँदेखि चलिआएका अनगिन्ती राम्रा र प्रकृति तथा वातावरणमैत्री हाम्रा विभिन्न चाडपर्वलाई मर्यादा गर्न नसकेर पश्चिमा शैलीको नक्कल गरिनु दुर्भाग्यपूर्ण हो। जुन कुरा विश्वका कुनै संस्कृतिमा पाइन सक्दैन त्यो कुरा हाम्रोमा पर्याप्त मात्रामा छ। यस्तो राम्रो संस्कृतिलाई हामीले अपहेलना गरेर बेवास्ता गरिनु पनि दुर्भाग्य नै हो। एउटै परिवारमा पाँच पुस्ताका व्यक्ति रमाउन सक्ने हाम्रो परम्परा बनाउन खोजेर पनि पश्चिमाहरूले सकिरहेका छैनन्। 

हामीले हाम्रोलाई नराम्रो र उनीहरूको संस्कृति राम्रो मानेर हिँड्ने प्रवृत्ति कति उचित होला बेलैमा विचार पुर्‍याउनुपर्छ। जे/जसरी हुन्छ, हामीले हाम्रो परम्परागत सुसंस्कार जोगाउनुपर्छ। चाडवाड रीतिरिवाज कायम राख्न सक्नुपर्छ र हाम्रो दोस्रो पुस्तामा हस्तान्तरण गर्दै लैजानुपर्छ। 

हामीले हाम्रा राम्रा प्रथा/परम्परालाई पनि बेवास्ता गर्न थाल्यौँ भने कुनै दिन हामी शून्यमा पुग्नेछौँ र हाम्रो हराभरा संस्कृति केवल हिउँ पग्लेको हिमाल जस्तो नाङ्गो हुनेछ। हिमालको सान हिउँ नै हो, त्यहाँ गएर गर्मी खोज्ने मूर्खता हामीले कदापि गर्नुहुँदैन।

नागरिक दैनिक मा प्रकाशित