Lalitpur Metro-9, Chyashal Balkumari, Lalitpur, Nepal
12 Months, 7 Days & 24 Hours Available for all.
+977 985 109 8889
डा. लक्ष्मणप्रसाद ज्ञवाली, नेपालको प्रथम नेत्रहीन अधिवक्ता The first Blind Advocate of Nepal Dr Laxman Prasad Gnawali.

पात्र होइन, प्रवृत्ति परिवर्तनको खाँचो

सानो होस् वा ठूलो, राज्यको प्रकृति समान हुन्छ । राज्यमा हुनुपर्ने सबै गुण सानो राज्यमा पनि हुन्छन् । तर, राज्य आफैँमा कति निर्भर छ भन्ने पाटो महत्वपूर्ण हुन्छ । पहिले–पहिले यातायात र सञ्चारको दायराका आधारमा राज्यको सीमा निर्धारण हुन्थ्यो । मानिसले तत्काल उपलब्ध सवारीसाधनको प्रयोगबाट जति भूखण्डमा आफ्नो प्रभुत्व कायम गर्न सक्यो, त्यति नै उसको राज्य मानिन्थ्यो । ऊ त्यस भूखण्डको स्वामी अर्थात्  राजा  मानिन्थ्यो । कालान्तरमा यातायात र सञ्चारको विकाससँगै राज्यको सीमाको पनि विस्तार हुन थाल्यो । यो क्रम पनि एक निश्चित बिन्दुमा पुगेर रोकियो ।

कुनै वेला बेलायतको शासनमा कहिल्यै सूर्यास्त हुँदैन भनिन्थ्यो । तर, त्यो पनि सधैँ कायम रहेन । समयको गतिसँगै त्यसको पनि अन्त्य भयो । तर, विगतमा राज्य र राजाका चरित्र जेजस्ता थिए, आज पनि उस्तै छन् । शब्दमा परिवर्तन आयो पनि होला, तर राज्यसत्तामा रहेर राजकाज गर्ने व्यक्तिको प्रवृत्तिमा भने कुनै परिवर्तन आएको छैन । हिजोका राजा–महाराजाको दैनिकी र आजका राजनेताको दिनचर्यामा खासै अन्तर देखिन्न ।

राज्यसत्ताले आमनागरिकको पक्षमा भन्दै राजकीय सत्ता संरक्षणमा आफूलाई तल्लीन राख्छ । हामीले सुनेका पुराना राज्य व्यवस्थाका कथालाई आजका लोकतान्त्रिक पद्धतिसँग तुलना गरेर हेर्दा त्यसको चरित्रमा खासै भिन्नता पाइँदैन । नेतृत्वको उत्तराधिकारीका सम्बन्धमा केही परिवर्तन महसुस गर्न सकिएला । तर, हिजोका राजा र आजका राजनेताहरूको तात्विक चरित्रमा कुनै फरक छैन । हिजो वंशजका आधारमा उत्तराधिकारी छानिन्थे । अहिले निर्वाचित नेताको प्रचलन आएको छ । हिजोका दिनमा पनि दरबारसँग निकट हुनेहरूले आमसर्वसाधारणमाथि अन्याय गर्थे । आज पनि सत्तासीनका आडमा उनीहरूका कार्यकर्ता, नजिकका नातेदारको दबदबा देखिन्छ । राज्यबाट कुनै काम लिन प्रयोग गरिने तरिका हिजो र आजमा कुनै अन्तर छैन ।

 हिजो पनि सीमित भारदारको घेरामा बसेर राजाले राज्य सञ्चालन गर्थे । आज पनि निश्चित सल्लाहकार वा त्यस्तै कुनै नामबाट भारदारी प्रवृत्ति कायमै राखिएको छ । व्यक्तिलाई सम्बोधन गरिने पदमा परिवर्तन भयो होला, तर उनीहरूको स्वभाव र प्रवृत्तिमा कुनै परिवर्तन भएको छैन । राणाशासनमा पनि राणाका नजिकका मानिसले राम्रै फाइदा लिएका थिए । पञ्चायती व्यवस्थामा पनि पञ्चका नजिकका मानिसलाई राम्रै प्रजातन्त्र थियो । बहुदलीय व्यवस्थामा पनि पार्टीका नेतानिकट कार्यकर्ताको बोलवाला थियो । अहिले लोकतान्त्रिक गणतन्त्रमा पनि सर्वसाधारणको पहुँच छैन । सीमित व्यक्तिको चाकडीविना कुनै काम गर्न सकिन्न । त्यसैले पात्र परिवर्तन भए पनि प्रवृत्ति भने परिवर्तन हुन सकेको छैन । 

यो विश्व राजनीतिकै स्वभाव हो । राजनीति जहिले पनि इलाइटहरूको नियन्त्रणमा थियो, छ र हुनेछ । त्यसैले हामीले सामान्य तरिकाले सोचिने राजनीतिक परिवर्तनले आमनागरिकको जीवन पद्धतिमा तात्विक असर पार्दैन । संसारका जति पनि आन्दोलन र राजनीतिक परिवर्तनको अध्ययन गर्दा राज्यसत्ता एक वर्गबाट अर्कोमा हस्तान्तरण हुन्छ, तर राज्यको तात्विक प्रकृति भने कायमै रहन्छ । हुन त राजाको अवधारणा नै सबै जनताले आफूमा निहित शक्तिको केही अंश एकजनालाई दिने र उसले सोही शक्ति प्रयोग गरी जसले शक्ति प्रदान गरेका हुन्, उनीहरूमाथि नै शासन गर्ने सिद्धान्तबाट उत्पत्ति भएको हो । जुनसुकै व्यक्तिले पनि आफूले प्राप्त गरेको अधिकार आफूखुसी प्रयोग गर्छ । त्यसरी प्रयोग गरिने शक्ति कति निहित स्वार्थमा प्रयोग गरिन्छ वा कति आममानिसको हितमा प्रयोग गरिन्छ भन्नेले राज्यसत्ताको लोकप्रियता निर्धारण गरेको हुन्छ ।

संसारमा प्रतिनिधित्व र उत्तराधिकारी चयनमा विभिन्न परिवर्तन आए । तर, राज्यसत्ताका मालिकहरूको दृष्टिकोणमा कुनै अन्तर आएन ।  राजकीय शक्ति प्रयोग नगरेको व्यक्तिलाई  राज्य नियन्त्रित सुरक्षा आवश्यकता पर्दैन ।  ऊ सधैँ आमसर्वसाधारणबाटै संरक्षित भएको महसुस  गर्छ । तर, कसैले राजकीय अधिकार प्रयोग गरी जनतामाथि शासन चलाएको छ भने उसलाई राज्यनियन्त्रित सुरक्षाको खाँचो पर्छ । त्यसैले उसले आफू राज्यसत्ताबाट बाहिरिँदासमेत आफूलाई असुरक्षित महसुस गरी विभिन्न सुरक्षाकर्मी प्रयोग गर्छ । 

नागरिकले राज्यसत्ताको निर्देशन निःसर्त रूपमा पालना गरिरहेका हुन्छन् । तर, राज्यसत्ताले अधिकांश नागरिकको हितभन्दा सीमित शक्तिशाली व्यक्तिको हितमा बढी ध्यान दिन्छ । त्यसबारे कसैले आवाज उठाइहाले भने पनि उनीहरूलाई सत्ताविरोधीको उपमा दिएर किनारा लगाउने प्रयत्न गरिन्छ । यस्तै दबिएर रहेका तमाम आवाजको विस्फोटले वेलावेलामा ठुल्ठूला राजनीतिक परिवर्तन अर्थात् व्यवस्था र शासक परिवर्तन हुन्छन्, तर बहुसंख्यक जनताको आवाज त्यसपछि पनि सुनिँदैन । नागरिकले निःस्वार्थ रूपमा राज्यलाई कर तिरिरहेका हुन्छन् ।

तर, हाम्रो जस्तो राज्यले जनहितकारी कुनै पनि काम गर्न सक्दैन या चाहँदैन । यस्तो मुलुकको सत्तामा हस्तक्षेप भइरहन्छ । कुनै पनि शक्तिले प्रत्यक्ष रूपमा शासन नगरे पनि आफ्नो नियन्त्रणमा राखिरहेको हुन्छ । अदृश्य रूपमा परनिर्भरता र पराधीनताले हाम्रो जस्तो मुलुक सताइएको हुन्छ । सरकारले आफ्ना सबै नागरिकलाई आफ्नै माटोमा काम दिन सक्दैन । यस्तो राज्यसत्ताले जनशक्ति निर्यातमा बढ्ता विश्वास गर्छ । विदेशी शक्ति पनि हामीलाई कमजोर र पिछडिएकै अवस्थामा राखेर हाम्रो सस्तो श्रम उपयोग गरिरहन चाहन्छ । 

हाम्रो देशका युवालाई विदेशमा काममा पठाउने र त्यसबाट आएको पैसाले उनीहरू फर्केपछि घर बनाउने, गाडी किन्नेजस्ता काममा प्रोत्साहन गरिन्छ । किनकि, उनीहरूले कुनै उद्योगधन्दा सञ्चालन गरिहाले भने त्यो टाउको दुखाइको विषय हुन्छ । यसरी हाम्रो देशका नागरिकको श्रम चरम रूपमा शोषण गरिँदै आएको छ । यसैमा हाम्रा राजनेता मक्ख परेको र युवालाई वैदेशिक रोजगारीमा प्रोत्साहन गरिरहेको देख्दा निकै दुःख लाग्छ । 

अब भोलिका दिनमा यस्ता कुराबाट समस्त युवा जमातलाई सचेत गराइनुपर्छ । नेपाललाई जसरी भए पनि परनिर्भर हुनबाट रोक्ने उपाय तमाम छन् । यसका निम्ति सर्वप्रथम राज्यले उचित नीति अवलम्बन गर्न तयार हुनुपर्छ । हामीले नेपाली युवालाई विदेश जान निरुत्साहन गराउने योजना ल्याई उनीहरूलाई स्वदेशमै स्वरोजगार बनाउने र उनीहरूमाथि राज्यको लगानी हुने व्यवस्था गरिनुपर्छ । विदेश जानेलाई भन्दा स्वदेशमा कुनै उद्यम गरी बस्नेलाई सरकारको सहयोग हुने भएमा कोही पनि अर्काको मुलुकमा जान चाहन्न । त्यसैले सरकारले कोरोनाले बेरोजगार बनाएका र विदेश जाने मानसिकता लिएका सबै नेपाली नागरिकका निम्ति विशेष लगानीको प्रबन्ध गर्ने अठोटसाथ कार्यक्रम बनाउनुपर्छ र सबै नेपालीले सरकारलाई साथ दिएर नेपाललाई आत्मनिर्भर मुलुक बनाउन ऐक्यबद्धतासाथ लागि पर्नुपर्छ ।

यी विषयमा जति चर्चा–परिचर्चा भए पनि राज्यसत्तामा पुगेको नेतृत्व वर्गको प्रवृत्तिमा परिवर्तन नआई कुनै सुधार हुनेवाला छैन । किनकि, हाम्रो सत्ताको प्रवृत्ति हिजो पनि त्यही थियो र आज पनि त्यही नै छ । यहाँ राणाशासन गयो, प्रजातन्त्र आयो । प्रजातन्त्र गयो, पञ्चायत आयो । पञ्चायत गयो, प्रजातन्त्र आयो । राजतन्त्र गयो, गणतन्त्र आयो । खालि तन्त्रको नाम फेरियो । पात्रहरू फेरिए । तर, शासकहरूको प्रवृत्ति भने उही रह्यो । बोतल फेरियो, तर रक्सी पुरानै रह्यो । शासकहरूको प्रवृत्ति नफेरिने हो भने सत्तामा बस्ने पात्र फेरिनुको कुनै अर्थ छैन ।

नयाँ पत्रिका मा प्रकाशित