जति बाँड्यो उति बढ्दै जाने कुरा के हो ? भनेर कसैले सोध्यो भने त्यसको नाम हो ज्ञान वा विद्या । पठन पाठन संसार मै सबैभन्दा महत्वपूर्ण कार्य हो । शिक्षा विना संसारमा कोही पनि मानिस ठूलो वा राम्रो मान्छे हुन सकेको छैन । शिक्षा शिक्षक विना सम्भव पनि छैन । शिक्षक वा गुरु जिवनमा धेरै प्रकारका हुन सक्छन् । हामीले गुरु भन्ने वित्तिकै एक प्रकारको आकृति परिकल्पना गरिसकेका हुन्छौ । एक प्रकारको पहिरन (ड्रेस युनिफर्म), व्यक्तिको चालचलन रवाफ आदि । तर दत्तात्रयले विभिन्न व्यक्तिहरूलाई गुरु मानेका छन् । उनका अनुसार गुरू त्यो व्यक्ति जसबाट ज्ञान लिन सकिन्छ । उनले संसारमा रहेका विभिन्न वर्ग समुदाय पेशा व्यवसाय आदिका मानिसहरूलाई गुरु मानेर यो प्रमाणित गरेका छन् कि गुरु केवल सेतो धोति पहिरेर काँधमा सुकिलो गम्छा लिएका र तथआ हातमा पुस्तकहरू बोकेका, नबुझिने जटिल भाषा प्रयोग गर्ने आदिलाई मात्र गुरुको रुपमा लिनु पर्ने होइन । कसैले कुनै प्रकारले हामीलाई कुनै शिक्षा प्रदान गरेको छ भने त्यो व्यक्ति हाम्रो गुरु हो । चाहे त्यो जुन जात, धर्म, वर्ण, लिङ्ग, पेशा आदिले विविधता भित्र पर्ने व्यक्ति किन नहोस । वरिपरि विद्यार्थी राखेर उनिहरूलाई तनाव दिदै पढाइको नाममा व्यापार गर्ने भेषधारीहरु मात्र गुरु भनेर चिनिने हाम्रो समाजमा जात वर्ण धर्म लिङ्ग आदिका कारणले पूरातनिक गुरुको वर्गीकरण गरिने जमानामा पनि दत्तत्रयले विभिन्न किसिमका व्यक्तिहरूलाई गुरु मानेका छन् । उनले मानेका गुरुहरूले उनलाई दिएको सन्देशका आधारमा उनले त्यस्ता विभिन्न व्यक्तिहरूलाई गुरु मानेका थिए । गुरुको काम शिक्षा दिने हो ।
अहिले पनि हामीले क्रियाकलापबाट सिप पहिले सिक्ने र सिद्धान्त प्रतिपादन गरिने तरिका अबलम्बन गर्नका लागि एकीकृत पाठ्यक्रमको अवधारणा अघि सारेका छौ । अर्थात पहिले व्यवहार गर्ने गराउने र त्यो व्यवहारका आधारमा त्यसबाट सिकिएको कुरा नै सिद्धान्त बनाउने गरी एकीकृत पाठ्यक्रम लागू गरिएको छ । यसमा केवल आधुनिकताको नाममा पूराना कुराहरू विस्थापित गराउने परिकल्पना गरिएको छैन । हामीले गुरुको नाममा सर्व साधारणलाई भ्रममा पारेर अन्योल त सिर्जना गरिरहेका छैनौ ? त्यसतर्फ पनि हामी सचेत हुनु पर्छ । कतै शुल्क लिन नपाइने तर पैसा लिन नछोडिने निशुल्क शिक्षा, उपचार आदि जस्तै त भएको छैन ? त्यसबारे पनि हामीले ध्यान दिनु जरुरी छ जस्तो लाग्छ ।
मैले जीवनमा सिकेका सबै ज्ञान सिप र कला एकै प्रकारका व्यक्तित्वहरूले सिकाएका होइनन । त्यसैले समाजमा सिकाइका विभिन्न प्रारुपहरू रहेका हुन्छन् । तीनिहरूलाई हामीले सहजै ज्ञान र सिपको स्रोतका रुपमा लिनु पर्ने हुन्छ । मलाई सानोमाबारीमा लगेर हलो समाएर जोत्न सिकाउने व्यक्ति मेरो जीवनमा गुरु कहिल्यै हुन सकेन । मलाई तोस्रोमा पटुवाको पोया लगाएर दाम्लो बाट्न सिकाउने व्यक्ति कहिल्यै गुरु बन्न सकेनन । बाँसको चोया काड्न सिकाउने र डोकामा आखा पार्न सिकाउने व्यक्ति पनि कहिल्यै गुरू बन्न सकेनन । तर हातमा लाठि लिएर टाउकोमा टुटुल्को उठ्ने गरी कुट्ने ब्यक्तिलाई मात्र हामीले गुरू मानेर आउने हाम्रो संस्कारले सारा प्राविधिक गुरुहरूको अपमान भइरहेको छ ।
आज इन्टरनेट, कम्प्युटर आदि टेक्निकल पक्षमा ज्ञान सिप र जानकारी गराउने व्यक्तिलाई जति हामीले सम्मान जनक दृष्टिले हेर्ने गर्छौँ त्यतिनै जीवनोपयोगी सिप सिकाउने गुरुहरु सम्मानित हुन सके बल्ल न्याय हुने थियो । दत्तात्रयको जमानामा पनि एकाग्र भएर आरन लगाई रहेका लोहारलाई त्यतिठूला ऋषिले गुरु मानेका थिए भने आजको एक्काइसौ शताब्धिमा समेत हामीले केवल सेतोमा निलो धर्सा वालसर्ट र कालोमा सेतो धर्सावाला कोट-पाइन्ट लगाउनेलाई मात्र गुरु बनाइनु समग्र प्रविधि पक्षकै अपमान हो । आज हाम्रा सामु दत्तात्रय जस्ता सिप, ज्ञानलाई महत्व दिने व्यक्तित्वहरू किन उदाउन सकेनन ? यो नै विभेदको पराकाष्ठा होइनर ? के हामीले महंगा ल्यापटप र कम्प्युटर चालउने ब्यक्तिलाई मात्र प्राविधिक मान्ने हो ? के ती माटाका मटुला बनाउने मानिस गुरु हुन सक्दैनन ? हामीले हाम्रा ग्रामीण दूरदराजमा अवस्थित प्राविधिक गुरुहरूको सम्मान गर्न नसकेर उनिहरू प्रति ठुलै अन्याय त गरिरहेका छैनौँ ? कम्पासले वृत्त बनाएर गुरु हुनेले खुर्पेटोमा बुट्टा हाल्न सक्छन् कि सक्दैनन भन्ने प्रमुख सवाल हो । खुर्पेटोमा मज्जाका बुट्टा कुदेर आफ्नो सिपको प्रदर्शन गरेका हाम्रा गाउँले गोठाला बन्धुहरुले कतिवर्ष कुन विश्वविद्यालयको कुन डिग्री कुन ग्रेडमा पास गरेका छन् ? त हामीले कहिल्यै त्यसको खोजी गर्न सक्यौं त ? हाम्रो ध्यान त्यस पूरानो प्रविधि जोगाउने तर्फ पनि आकर्षित होस भन्ने कामना हो ।
मसिना खरका धर्सालाई जोडेर घरको छानो बनाउने प्रविधिको सिप हाम्रा बाउ बाजेहरूसँगै मरेर नजाओस भन्ने हो । हामीले आधूनिकताका नाममा पूराना राम्रा कुराहरुको ज्ञान र त्यस्ता वस्तु निर्माण तथा प्रयोगको सिपलाई वेवास्ता हुनबाट कसरी जोगाउने भन्ने मात्र हो । बाँसको चोया र वाताले राम्रोसंग कसेर छाएको खरको छानो कैयौ वर्षसम्म टिक्न सक्छ भने त्यो ज्ञान र सिपलाई इतिहासबाट भविष्यसम्म किन हस्तान्तरण गर्दै नजाने किन हामीले त्यस्ता महत्वपूर्ण सिपलाई यसै लोप हुन दिने ? यी तमाम प्रश्नहरूको उत्तर खोज्ने काम अबका गुरुहरूको हो या होइन ? हाम्रा सन्ततिहरूले ल्यापटप र मोवाइलमा रमाउने क्रममा दहि मथेर घ्यू निकाल्ने प्रविधि सिक्न विदेश जान नपरोस भन्ने हो । हुनतः हामिले कपास खेती मासेर कपडा उद्योग बन्द गरेर रेडिमेट फेन्सी कपडामा रमाउने कल्चर विकास नगरेका त होइनौ तर अझै सम्भावना छन् । पढ्न लेख्न जान्नेले बारीमा कोदो रोप्नु हुदैन भन्ने भावना विकास हुन दिनु भएन । घरमा मकैको पिठोबाट रोटी पकाउन नजानेर बजारबाट पाउरोटी किनेर खाने अवस्था नआओस भन्ने कामना हो ।
हामिले जीवनलाई मेशिनरी मोडेलले सञ्चालन हुन दिनु भएन । मानिसलाई रोवर्ट जस्तो बनाउनु भएन । संस्कार र संस्कृति सहितको प्राविधिक ज्ञान हाम्रो नयाँ पुस्तामा दिन सकियोस भन्ने हो । मानिसका नाडी छामेर रोग पत्तागाउन सक्नेसम्मको धैर्यतालाई केवल मेशिनका अधिनस्थ मात्र नभएर व्यवहारिक बनाउन सकियोस भन्ने मात्र हो । पराल र पोस्करबाट सुकुल र गुन्द्री चकटी बुन्न नजानेर बजारमा पाइने प्लास्टिकका डोरमेटमात्र प्रयोग गर्नु पर्ने अवस्था नआओस भन्ने हो। मानव विवेक प्रयोगै नगरी मेशिनले देखाएकै आधारमा मानिसलाई अन्याय नगरियोस भन्नेमात्र हो । त्यसैले हामीले हाम्रो समाजमा चल्दै आएका परम्परागत सिप र ज्ञान समेतको जगेर्ना गर्दै युग अनुसारको नविनतम प्रविधि समेतमा आफूलाई अब्बल राख्नसक्ने सन्तती तयार होउन भन्ने चाहना हो । यसैमा हामीले ध्यान दिनसक्नु पर्छ भन्ने हो ।
अहिले हामीले भोगेका कुरा कस्ता छन् भने आफूले जान्नपनि नजान्ने र जान्दिन भनेर सिक्न पनि नसक्ने गुरुहरूका कारण तमाम विकृतिहरू शिक्षक समाजले व्यहोर्नु परेको छ । परम्परागत सिप पनि नजान्ने र आधुनिक प्रविधिमा पनि शुन्यप्रायः व्यक्तिका कारण सिङ्गो समाज आक्रान्त भएको छ । गाउँमा बस्छ विद्यालयमा शिक्षक छ घरमा भैंसिले दाम्लो चुडाले प्लास्टिकको डोरीकिन्न बजार दुगुर्न पर्छ । डोको नाम्लो त कुरै भएन मास्टरले छुने कुरै होइन जस्तो गरेर हात बाँधेर बस्ने प्रवृतिका शिक्षकहरूले विद्यार्थीहरूलाई के सिप सिकाउन सक्लान ? आधुनिक प्रविधिको नाममा मोवाइलमा नम्बर सेभसम्म गर्न सक्ने भएमा गौरव गर्नेबाट कस्तो प्राविधिक ज्ञानको अपेक्षा गर्न सकिन्छ ।
त्यसैले हामीले हाम्रो समाजमा विद्यमान प्रविधिलाई जगेर्ना गर्दै अत्याधुनिक सिपमा आधारित कम्प्युटर, इन्टरनेट जस्ता नयाँ प्रविधिको प्रयोग गरेर मात्र समाजको परिवर्तन र शिक्षाको युगानुकुल परिवर्तनको परिकल्पना गर्न सकिन्छ । अन्यथा हामीले दिने शिक्षा अधुरो रहन्छ । मानव जीवन व्यवहारिक हुन पर्छ । व्यवहार विनाको ज्ञान र सिप विनाको शिक्षा सर्टिफिकेटकालागि मात्र कामलाग्छ । मानिसले समाजमा केही योगदान गर्न सक्ने बन्नकालागि सामाजिक मूल्य मान्यतामा आधारित हाम्रा परम्परागत ज्ञान र समय सान्दर्भिक आधुनिक ज्ञान जानेकै हुनु पर्छ । अझ शिक्षकले त हरेक पक्षमा आफूलाई सक्षम बनाएर लैजान पर्छ । आफूलाई समय सापेक्ष बदल्न नसक्ने व्यक्ति शिक्षकमा कार्यरत रहिरहन सक्दैन । उसलाई भूतपूर्वको नामले सम्बोधन गर्न पाउनुनै समाजको भाग्य हुनेछ ।
त्यसैले अहिले गरिरहेको आधुनिक प्रविधि प्रतिको जागरण जति प्रशंसनीय छ त्यतिनै परम्परागत सिप रक्षाको क्षेत्रमा पनि ध्यान पुराउनु पर्ने जिम्मेवारी छ । हामी सबै मिलेर हाम्रो समाज परिवर्तन गर्ने हो । जससँग जेमा सक्षमता छ त्यसले त्यो सक्षमतालाई समाजको निम्ति लगानी गर्नु पर्छ । सामाजिक योगदान गरिनु पर्छ । मौलिक ज्ञान र सिपलाई संरक्षण गर्दै आधुनिक प्रविधिमा निपूर्ण बनाएर नेपाली शिक्षकहरूलाई विश्वबजारमा प्रतिस्पर्धी बनाउनु हामी सबैको जिम्मेवारी र कर्तव्य हो । मलधादमा थुपारेको मलले बारीमा मकै फल्दैनन त्यसैले मानवमा रहेको ज्ञान जनसमक्ष बाँडिनु पर्छ । पोखरीमा संगालेको पानीलाई बगाउन सकिएन भने विजुली पनि निस्किदैन र सिँचाइ गर्न पनि सकिदैन । हामीमा निहित ज्ञान पनि त्यस्तै हो । यसलाई जति बाढेर सबैलाई दिन सकियो त्यतिनै बृद्धि हुदै जाने हो ।
सारमा हामी दत्तात्रयले जस्तै साना ठूलाबाट सिप र ज्ञान सिक्न सक्ने मानसिकताका गुरु बन्न सकौं । नजानेको कुरा निर्धक्क सोध्न सकौं । जानेको कुरा ढुक्क सिकाउन सकौं । ज्ञान बाढ्न कन्जुस्याँइ नगरौं । हामी सफल गुरु बन्न र बनाउन सकौ । हामीले हाम्रो पेसा प्रति गौरव गर्ने वातावरण निर्माण गरौं । हाम्रा आगामी पुस्ताले हाम्रो पथप्रदर्शनमा उज्यालो पाउन सकुन ।
गोरखापत्र मा प्रकाशित