हामिले हाम्रो धरातललाई कहिल्यै पनि नजर अन्दाज गर्नु हुँदैन । कुनै पनि मानिस धरातलको आधार विना सफलताको शिखरमा पुग्न सक्दैन । हरेक व्यक्तिका आ-आफ्नै समस्याहरू रहेका हुन्छन् । समस्या विनाको व्यक्ति यस संसारमा सम्भव छैन । समस्याका आ-आफ्नै मात्रा, दर, घनत्व हुन सक्छन् तर कोही पनि समस्या रहित हुन सक्दैन । आफूले आफ्नो कर्तव्य पालना गरिरहेको छ तर आफूले प्राप्त गर्नु पर्ने अधिकार वा सेवा सहुलियत केही पाउन सकिरहेको छैन । त्यस प्रकारका अन्यायबाट गुज्रिरहेका मानिसहरूको संख्या पनि हाम्रो समाजमा कमि छैन । विशेष गरी अभिभावकले यस्तो खालको अन्याय गरेको पाइन्छ । आफ्नो दायित्वको समयमा बालबच्चाहरूलाई माया, ममता तथा असल गाइडलाइन दिन तत्पर नहुने तर बुढेसकालमा सन्तानको आदर, सत्कार तथा जिम्मेवारी खोज्नेहरू पनि समाजमा कमि छैन । हामीले सधै सम्झी रहनु पर्ने कुरा के हो भने जुन विउ रोपिन्छ त्यही फल्छ । कोदो रोपेर धानको आशा गरियो भने पक्कै असफल भइन्छ । धान चामलको अपेक्षा गर्ने व्यक्तिले खेतिपाति लगाउने समयमै ख्याल पुराउन सक्नु पर्यो कि म भविष्यमा चामलको भात खाने विचारमा छु । ठिक त्यस्तै हो आफ्ना सन्तानहरूलाई असल बनाउन उचित संस्कार, गुणस्तरीय शिक्षा र पर्याप्त ममताको लगानी गरिएन भने आफूले भविष्यमा कस्तो फल प्राप्त गर्न सकिन्छ भन्ने ऐना आजै देख्न सकिन्छ । हाम्रो समाजमा यस्ता व्यक्तिहरूको पनि कमि छैन कि बल वैँसमा आफ्नो कमाइ मोजमस्तिमा लगानी गर्ने र बुढेसकालमा सन्तानहरूबाट माया ममता तथा स्याहार सुसारको अपेक्षा गर्ने । कसरी सम्भव हुनसक्छ ? त्यस्ता अभिभावकलाई सन्तानहरूको उचित सम्मान, आदर र दायित्व ।
मानिस धनि वा गरिव हुनुले उसका सन्ततिहरू असल वा खराव हुने होइनन् । बरू आफ्नो संस्कार, सभ्यतार अग्रजहरू प्रति आफूले निर्वाह गरेको भूमिकाले यसमा ठूलो महत्व राखेको हुन्छ । आफूले आफ्ना आमा बुवालाई सम्मान नगर्ने,उनिहरूको सधै वेवास्ता गर्ने, हैसियत अनुसारको सुविधा समेत दिन नखोज्ने, उचित स्याहार संभारको कुरै नगर्ने तर आफ्ना सन्तानहरूलाई आफू प्रति उत्तरदायि बनाउन खोज्ने जस्ता परस्पर विरोधी व्यवहारका कारण त्यस्ता व्यक्तिहरू सधै दुखि भइ रहन्छन् । यदि आफूले राम्रोसँग आफ्ना मातापिताको मर्यादा गरेको छ, क्षमता अनुसारको सेवा पुराउन हिचकिच्याएको छैन, अग्रजको विचारको सधै सम्मान गर्ने गरेको छ भने त्यस्ता व्यक्तिका सन्तानहरू स्वभाविक रुपमै असल र व्यवहारिक बन्दै गएका हुन्छन् । उनिहरूलाई कुनै विशेष प्रशिक्षणको खाँचो पर्दैन । किनकि वालबालिकाले सिक्ने प्रथम सिकाइ आमाबुवा र घरबाटै हुने हुनाले उमेरको कलिलो अवस्थामा सिकेका कुरा अपरिवर्तनीय छाप सहित सिकिएका हुन्छन् । सधै आफूले आफ्ना सन्तानहरूलाई मात्र माया गर्ने तर अभिभावकहरूलाई वेवास्ता गर्नेहरूका सन्ततिहरू चाहेर पनि आफूलाई माया गर्न सक्ने खालका हुन सक्दैनन् । हामीले हाम्रो व्यवहार नजानेर हाम्रा सन्ततिहरूमा हस्तान्तरण गरिरहेका हुन्छौँ । छोराछोरीलाई चुरोट सल्काएर ल्याउन पठाउने र उनिहरूलाई धुम्रपान गर्नु हुँदैन भनेर शिक्षा दिने व्यक्तिको जे हाल हुन्छ ठीक त्यस्तै अवस्था आफूले बुढाबुढीलाई हेला गरेर छोराछोरीलाई मात्र माया गर्ने व्यक्तिहरूको हुन्छ । आफुले सन्ततिहरूबाट बुढेसकालमा जे अपेक्षा गर्ने हो त्यो आफूले अहिले गरेर देखाउनु पर्छ । जसबाट सन्तानहरूले कसैले नसिकाइकनै सिकिरहेका हुन्छन् । औपचारिक शिक्षाभन्दा पारिवारिक सिकाइ लाखौँ गुणा प्रभावकारी र अपरिवर्तनीय हुन्छ । त्यसैले आफ्नो कमिकमजोरीसन्तानका सामु दोहोराउनु भविष्यका लागि निकै हानीकारक हुन्छ । ससाना बालबालिकाले बुझ्नेहोइनन् भनेर गरिने व्यवहारको परिणाम सोँचेभन्दा फरक आउनसक्छ । त्यसैले कसैको आलोचना गर्नुछ भने बालबालिकाका सामु कहिल्यै नगर्नु उचित हुन्छ ।
आफूले गरेका व्यवहारबाट छोराछोरीहरूले सिक्ने हुनाले आफूले गर्ने व्यवहार सामान्य हुनु जरूरी हुन्छ । सधै सरल र सहज व्यवहार गर्ने अभिभावकलाई सन्तानका सामु कुनै कुरा छिपाएर राख्नु पर्ने कुनै कुरै हुदैन । सबै पारदर्शी हुन्छन् । त्यस्ता सन्तानहरू कसैबाट पनि ठगिनु पर्ने अवस्था सिर्जना हुँदैन । मान्छेले सधै आफुले गरेका कामको बचाउ गर्न खोजिरहन्छ । यो सामान्य मानवीय स्वभाव मानिन्छ । तर आफूले गरेका कमजोरीहरूको बचाउ गर्नुको सट्टा त्यसको महशुस गरी त्यसबाट शिक्षा ग्रहण गर्न सके भविष्यका पिँढिमा पनि त्यो संस्कारको विकास हस्तान्तरित हुँदै जान्छ । जसका कारण मानिसले कामका शिलशिलामा हुने गल्ती कमजोरीहरूलाई सच्याएर जान सकिन्छ भन्ने पाठ सिक्छ । यदि कमजोरीलाई ढाकछोप गर्ने र आफ्ना कमजोरीको जबरजस्ती बचाउ गर्ने हो भने नयाँ पुस्तामा पनि झुठको विजारोपण हुन्छ र भविष्यमा त्यसको असर आफू माथि नै प्रहार हुन पुग्छ । त्यसैले ससाना बालबालिकाका जिज्ञासामा कसैले पनि हल्का र जथाभावि उत्तर दिने गर्नु हुदैन । बालमष्तिष्कमा परेको छाप सबैभन्दा गहिरो हुन्छ । हाम्रो समाजमा साना बालबालिकाको कुरालाई खासै महत्व दिने प्रचलन छैन । तर त्यसो गरिनु सर्वथा बेठिक हुनजान्छ । बालकले राखेका कुराहरूले अभिभावकलाई अप्रत्यक्ष रुपमा ठूलाठूला सूचनाहरू पनि प्राप्त हुन सक्छन् । अवोध अवस्थामा अप्रासँगिक प्रश्न यदि कुनै बालकले गर्छ भने त्यसका पछाडि धेरै कारण हुन सक्छन् । किन उसले यस्तो कुरा सोध्यो ? यो कुरा उसका मनमा आउनका पछाडि के कारण हुन सक्छ ? जस्ता कुराहरूको विश्लेषण अभिभावकले गर्ने र बालबालिकाहरूको जिज्ञासालाई गम्भिरता पूर्वक लिने बानिले हामीलाई खतरा हुनबाट बचाउने मात्र होइन आफू र आफ्नो परिवार प्रति आमसमुदायको विचार बारे बुझ्ने अवसर पनि प्राप्त हुन सक्छ ।
हाम्रो समाजमा धनि मानिसको भन्दा गरिबहरूको संख्या धेरै गुणाले बढि छ । तर धनिहरूका सन्तानहरू भन्दा गरिव गुरुवाहरूका सन्ततिहरू असल रहेको संख्या पनि उस्तै धेरैनै छ । पैसा नभइ नहुने प्रारम्भिक आवश्यकता हो । यो साध्य होइन साधन मात्र हो । साधनको प्रयोग सही किसिमले हुन सकेन भने दुर्घटना सजिलै हुन सक्छ । धन सम्पत्तीको पनि यस्तै अवस्था हुन्छ । यदि धन सही मार्गमा उचित किसिमले प्रयोग भएको छ भने धनि व्यक्तिका सन्ततिहरू गरिवका सन्तानका तुलनामा सजिलैसँग प्रगति गर्न सफल हुन्छन् किनकि उनिहरूलाई गरिविको अभावको पीडा सहनु परेको हुँदैन । मानिसले आफ्नो उर्जा उत्पादनमा लगाउनुको सट्टा जीवन रक्षाका लागि खर्चिनु पर्ने हुनाले गरिवी अन्य अवरोधका तुलनामा बढि नै खतरा हुन्छ । व्यक्तिको संस्कारले सम्पात्ति कुन् क्षेत्रमा लगानी गर्ने भन्ने निर्देशित गर्न सक्छ । सबै मानिसहरूलाई प्रगतिका निम्ति सधै अनुकुल परिस्थिति हुदैन । तर पनि व्यक्तिले जबरजस्ती नै भए पनि अग्रगामी मार्ग छोडेको हुँदैन । त्यसो गराउनुमा उसको पारिवारिक र सामाजिक संस्कारको पनि अहम् भूमिका रहेको हुन्छ । हामीले हाम्रो परिवारबाट जे सिकेका छौँ त्यसैको प्रयोग जिवनमा गरिरहेका हुन्छौँ । जिवन र जगतलाई हेर्ने दृष्टिकोण हाम्रो परिवेशले निर्धारण गरेको हुनसक्छ । आफूले भोगेका समस्या आफ्ना उत्तराधिकारीहरूले भोग्न नपरोस भन्ने चाहना सबैको हुन्छ । हरेक मानवको चाहाना आफ्ना सन्तान र अभिभावकलाई खुशि र सुखि राख्ने हुन्छ । तर चाहनाले मात्र पनि त्यो पूरा हुन सक्दैन । त्यसका लागि धेरै कुरा मिल्नु पर्ने हुन्छ । प्रशस्त धनसम्पत्ति छ र उसको लगानी सही ठाउँमा भएको छ भने त्यस व्यक्तिलाई आफ्नो परिवार सुखि र खुशि राख्न खासै गाह्रो पर्दैन । उसले अग्रजहरूलाई र सन्ततिहरूलाई सन्तुलित अवस्थामा राखेर मर्यादित सामाजिक जिवन स्थापना गर्न सफल हुन्छ ।
हामीले पारिवारिक र सामाजिक सन्तुलन कायम राख्न धेरै दृष्टिकोणबाट संसारलाई हेर्न सक्नु पर्छ । जीवन अप्राप्य चिज हो जसलाई संरक्षण गर्नु हाम्रो पहिलो कर्तव्य हो । मानव जिवन सुसंस्कृत अवस्थामा जोगाइ राख्नु पनि एक कठीन कुरा हो । त्यसका लागि धेरै मानिसले कष्ट सहिरहेका छन् । तर केही मानिसहरूले आफू र आफ्नो धरातललाई चटक्कै विर्सेर अस्वभाविक व्यवहार गरेको देख्दा भने अचम्म लाग्छ। जति पनि प्रगति हामीले गर्न सक्छौँ यसै धर्तीमा रहेर यसै धरातलको मद्दतले प्रगती गर्न सकिन्छ । यदि आफूले टेकेको धरातल विर्सियो भने जो कोही पनि सजिलै दलदलमा भासिन सक्छ । त्यसैले सन्तुलित जिवन अपरियार्य उपलब्धि हो । सबैले आफ्नो जिवनलाई सन्तुलित राख्न त खोजिरहेका हुन्छन् तर त्यसका लागि गरिनु पर्ने प्रारम्भिक आधारभूत कारमा ध्यान दिन सकिरहेका हुँदैनन् ।
हामीले संस्कारको प्रयोग धरातलको पहिचान सहित गर्नसक्नु पर्छ । जसले जस्तो व्यवहार गरेको छ त्यसले उस्तै किसिमको परिणाम पनि भोगिरहेको हुन्छ । अग्रजको सम्मान नगर्ने व्यक्तिले आफ्ना सन्ततिहरूबाट सबै कुरा खोज्नु कोदो रोपेर धानको अपेक्षा गर्नु जस्तो हो । मानिसका सामु धेरै कष्टकर चूनौतिहरू रहेका हुन्छन् तर ती चूनौतिहरूलाई अवसरमा बदलेर अगाडि बढ्ने चाहना जसले राख्न सक्छ उसैले जिवनमा प्रगति पनि गर्न सक्दछ । त्यसैले हामीले हाम्रा असल साथीको रुपमा हरेक धनसम्पत्तीलाई प्रयोग गरौँ र त्यसबाट धेरै भन्दा धेरै उपलब्धि हासिल गर्ने प्रयास गरौँ । यसैमा हामी सफल, खुशि र सुखी रहन सक्छौँ ।
संकल्प खबर मा प्रकाशित