नेपालमा मानव अधिकारको कुरा गर्नेहरूको कमि छैन । हरेक क्षेत्रमा आआफ्नै किसिमका मानव अधिकार कर्मीहरू छन् । प्रत्येक राजनैतिक दलका आआफ्नै पेशेवर मानव अधिकार कर्मीहरू निर्माण गरिएका छन् । सत्ता धारीहरूका मानव अधिकार कार्यकर्ताहरूले सरकारले गरेका कुनै पनि व्यवहारहरूबाट मानव अधिकार हनन भएको देख्दैनन् । तर ती मानव अधिकार कर्मी नै सत्ता बाहिर रहेका बेला हरेक क्षेत्रमा मानव अधिकार हनन भएको देख्छन् । मानव अधिकारको परिभाषा पनि अति नै विविधतायुक्त हुने रहेछ । त्यसैले होला आफ्नो नजिकको राजनैतिक दल सत्तामा रहेको बेला त्यही व्यवहार सामान्य लाग्छ भने सत्ता बाहिर रहेका बेला त्यही व्यवहारले जनताको सबै मानव अधिकारको हनन भएको देखिन्छ । यदि मानव अधिकारको ठोस र एक रुपतायुक्त परिभाषा भएको भए शायदै यस्तो हुने थिएन ।
मान्छेले आफू मानिस भए वापत सिर्जना हुने सबै अधिकारहरू मानव अधिकार हुन् । यो परिभाषा धेरै नै बृहत छ। यो परिभाषा सामान्य परिभाषा हो । विशिष्ट परिभाषा विभिन्न व्यक्तिहरूले विभिन्न समयमा विभिन्न परिवेशमा छुट्टाछुट्टै गरेको पाईन्छ । देश, काल र परिवेश अनुसार मानव अधिकारको व्याख्या पनि आफ्नै बनावटमा मिलाईएको हुन्छ । मानव अधिकारको आफ्नै बनावट होला तर मानव अधिकार कर्मिले माग गरेका अधिकारहरू विभिन्न देशका व्यवस्थाहरूको बनावट अनुसार चलाईएको हुन्छ । मानव अधिकारको दायरा निकै फराकिलो दृष्टिकोणबाट हेरिनु पर्छ । ब्यक्ति चाहे जस्तो सुकै होस उसको मानव अधिकार प्राप्त गर्ने पहिलो हक हुन्छ । अपराधिहरूले पनि आफ्नो मानव अधिकारको प्रयोग गरिरहेका हुन्छन् । कानूनको यही परिधिले व्यक्तिगत अधिकार र दायित्त्व निर्धारण गरेको हुन्छ । संसारमा सबैभन्दा उत्कृष्ट प्राणीको रुपमा सिर्जित मानवले भने आफ्नो मर्यादा यथास्थानमा कायम राख्न सकिरहेको पाइँदैन ।
मानव अधिकारको कुरा किन उत्पत्ती भएको हो भने मानिसले सबैको अधिकार हनन गरिदिँदै आएको छ । उसले अन्य प्राणीको अधिकार त हनन गरिदियो नै स्वयम् मानिसहरूकै अधिकार हनन गर्न पनि बाँकी छोडेन । मानिसलाई मानिसहरूबाटै आफ्नो अधिकार हनन भएकोले सो को रक्षाका निम्ति मानव अधिकारको स्थापना गर्न बाध्य हुनु परेको हो । एउटा मानिस मानिससँगै डराउन पर्ने अवस्था मान्छेले नै सिर्जना गरिदिएको हो । कहिले ठूलो र सानोको नाममा विभेद कायम गरेर, कहिले पुरूष र महिलाको रुपमा लैङ्गिक बिभेद गरेर त कहिले जातजाति, धर्म, वर्ण आदिका नाममा विभेदको स्थापना भएको हो । चाहे जुनसुकै तरिकाले होस मानिस मानिस बिच भेदभाव हुने भएकोले मानव अधिकारको कुरा शुरु भएको हो । यदि मानिसले मानव विविधताको सहजै स्विकार्य भएको भए मानव अधिकार भन्ने सिद्धान्त प्रतिपादन हुनै जरुरी थिएन । मानवले मानिस भए वापत के गर्न हुन्छ र के गर्नु हुदैन यसको ख्याल राखेर व्यवहार गर्ने गरेको भए मानव अधिकारका नाममा कसै माथी औँला ठड्याउँन पर्ने थिएन । यदि मान्छे सबैको समस्या वा पीडा वा संवेदना सबै एकै हुन भन्ने लागेको भए कसैले कसै माथि अन्याय गर्ने शायद थिएन होला । कहिले छोरा र छोरीको नाममा भेदभाव गरिने त कहिले सासु र बुहारीको बिचमा विभेद हुने जस्ता कुराहरूको निराकरणको लागि मानव अधिकारको परिकल्पना गर्नु परेको हो । धनि, गरिब तथा गोरो, कालो जस्ता विभेदहरूले पनि हामीलाई सोँच्न बाध्य पारेको हुनु पर्छ । यदि मानिस मानिस बिचमा समानताको व्यवहार हुन सकेको भए यस्तो अवस्था आउने थिएन । सृष्टिका सबै प्राणीहरूमा समानताको व्यवहार गर्नु पर्ने मानिस आफैले आफ्नै वर्ग मानिस माथि अन्याय गर्न शुरु गरेको हुनाले मानव अधिकारको जन्म हुन पुगेको हो ।
मानवले संसारमा विजयका निम्ति हरेक उपायको खोजि गरेको हो । उसले आफ्नो अस्तित्व सुरक्षित राख्न कैँयौ प्राणीहरूको अस्तित्व समाप्त हुने व्यवहार समेत गर्न पछि परेको छैन । मान्छेको यसै किसिमको अकर्मण्यताले गर्दा समय समयमा पृथ्वीमा अनेकौँ प्राकृतिक प्रकोपहरू समेतले सताउने गरेका छन् । प्रकृतिले प्राणीहरू बिच सह अस्तित्वको भावना राखेर इको सिस्टमको व्यवस्था मिलाएको छ । तर मानिसले त्यसको समय मै ख्याल पुराउन नसक्दा धेरै प्रकोपहरूको चपेटामा पर्नु परेको छ । प्राकृतिक सन्तुलनको वेवास्ता गर्दा मानव जीवन नै संकटमा पार्ने गरी प्रकृतिले सजाय दिने गरेको इतिहास मान्छेले छिट्टै बिर्सन्छ । अहिलेको कोरोना महामारी पनि मानिसले प्रकृति माथि गरेको अन्यायको परिणाम हो भन्ने विचारकहरूको पनि बाहुल्यता ठूलै कायम भइसकेको छ । यो विचार पनि प्रकृतिवादिहरूको पक्षबाट हेर्दा अनुपयुक्त लाग्दैन । इको सिस्टममा कुनै असन्तुलन आउन नदिन हरेक पक्षले प्रकृतिको रक्षामा ध्यान दिनु पर्छ ।
कोरोना महामारीले मानिसलाई मानव अधिकरको पाठ राम्रोसँग सिकाएको छ । हामीले मानवीय संवेदनाका कैयौँ कुराहरूलाई विकासको नामबाट लत्याउन खोजेका थियौँ । तर प्रकृतिले सिमा निर्धारण गरेर सन्तुलनमा ल्याउन खोजेको छ । मानिसले कुन समयमा खाने ? कुन समयमा सुत्ने? कति समय धनसम्पत्तीको निम्ति छुट्याउने ? कति समय परिवार, छोरा-छोरी, बुबा-आमालाई दिने आदि अत्यावश्यक कुराहरूलाई पनि मानिसले विकासको नाममा ख्याल राख्न नसक्दा अहिले यो परिस्थिति सिर्जना हुन पुगेको हुन सक्ने अनुमान छ । विकसित भनिने देशहरूमा आफ्नो लागि दैनिक खाना पकाएर खाने समयसम्म मानिसले निकाल्न नसक्ने अवस्था भए पछि संसारलाई लकडाउनमा राखेरै भए पनि प्रकृतिले यो पाठ सिकाएर पूराना कुराहरूको पुनरावृत्ती गराइ दिन खोजेको छ । मान्छेले अपराधमा समेत मानव अधिकारको दावी गरेको देख्दा प्रकृतिलाई असह्य भएको हुनु पर्छ भन्ने सम्प्रदायको मत पनि अमान्य मान्न मिल्दैन । मानव अधिकार कर्मीहरूको अतिवादि दावि देख्दा त यो सत्य नै हो भन्न मन लाग्छ । कुनै पनि कुरा सिमा भित्र गरिनु पर्छ । अतिवादि चिन्तनले अपराधीलाई समेत कार्वाही गर्न नहुने, उसको मानव अधिकारको नाममा उसले गरेको आपराधिक कृयाकलाप विरुद्ध उसलाई केही गर्न नपाइने जस्ता कुराहरूले गर्दा मानव अधिकार माथि पनि कहिले काही शंकाले डेरा जमाउन पुग्छ । तुलनात्मक हिसावले हेर्नेहो भने विकसित मुलुकका मानिसहरू मानव भन्दा पनि यन्त्र मानव जस्ता भइसकेको भान हुन्छ ।
मानव र यन्त्रमानवमा के भिन्नता छ भन्ने छुट्याउनु पर्ने आवश्यकता छ । यदि हामीले मानवमा हुनु पर्ने संवेदनशिलता गुमायौ भने हामी पनि यन्त्र मानव नै हुन पुग्छौ । यन्त्रमानवमा कुनै किसिमको संवेदनशिलता, विवेक हुँदैन । जुन कुरा प्रोग्रामिङ्गमा सेट गरिएको छ त्यो मात्रै यन्त्रले कार्यान्वयन गर्छ तर मानिसमा आफ्नो विवेक र सोँच पनि रहेको हुन्छ । त्यसैले आजसम्म पनि न्यायाधिशमा मानिसहरू नै कायम छन् । कम्प्युटरले जजको काम गर्न सक्दैन । निशाफ गर्न मानवीय संवेदनशिलता आवश्यक पर्ने हुनाले न्यायाधिशको ठाउँमा कम्प्युटरले स्थान पाउन सकेको छैन । यन्त्र मानवले अर्को यन्त्रमानवलाई कुनै किसिमको भेदभाव नगर्ने हुनाले यन्त्राधिकारको आवश्यकता पर्दैन । मानिसले मात्र अर्को मान्छेलाई विभेद गर्ने हुनाले मानव अधिकारको आवश्यकता परेको हो । यदि यन्त्रले पनि अर्को यन्त्रलाई शोषण, दमन, विभेद, अन्याय, अत्याचार आदि गर्ने भए यन्त्राधिकारको पनि आवश्यकता पर्ने थियो । जसरी मानव मानव बिचमा विभेद हुन्छ त्यसरी यन्त्रयन्त्र बिच भेदभाव नहुनाले उनिहरूमा त्यो अधिकारको आवश्यकता पर्दैन ।
प्रकृति, मानव र यन्त्रमानवको संयोगबाट मात्र आजको विश्व सञ्चालन सम्भव छ । यदि यी तीन चिज मध्ये कुनैको पनि कमि रह्यो भने सन्तुलन सजिलै बिग्रिन्छ । हामीले सर्व प्रथम प्रकृति जोगाउन सक्नु पर्छ । प्रकृतिको संरक्षण समेत मानवको जिम्मामा रहेको छ । प्रकृतिको संरक्षण सँगसँगै मानवताको रक्षा प्राथमिकताको दोस्रो चरणमा आउँछ । मानवता र प्रकृति अन्योन्याश्रित सम्बन्धमा आश्रित छन् । त्यस पछि मात्र मानवले विकास र यान्त्रिक सुविधाको प्रयोग गर्न सक्छ । यसरी सबैको भूमिका र स्थानको अन्तर सम्बन्धलाई जोगाइ राख्न सकियो भने मात्र पृथ्वीले हामीलाई सुख दिन र खुशि प्रदान गर्न सक्छ । अन्यायपूर्ण तरिकाले प्राकृतिक स्रोतको दोहनको दुष्परिणाम स्वरूप विभिन्न प्राकृतिक प्रकोप तथा विनाशको अवस्था सिर्जना हुन पुगेको छ । त्यसैले हामीले यी तिनै कुराको सन्तुलित प्रयोग गर्ने बानिको विकास गरियो भने कुनै किसिमको प्रकोप महामारी आदि विनासको मारमा मानव जीवन पर्ने छैन । मानव मानव बिचको विभेदको मात्रा कमि हुँदै गुयो भने अन्त्यमा मानव अधिकारको पनि आवश्यकता पर्ने छैन । संसारमा सबैले आआफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारको हनन गरेनन भने सबैको सहअस्तित्व कायम हुन गइ खुसि र सुखि संसार निर्माण हुनेछ ।
संकल्प खबर मा प्रकाशित