गाईजात्रालाई हामीले एउटा व्यङ्ग्य तथा मनोरन्जन पर्वको रुपमा बुझ्दै आएका छौं । परापूर्व कालदेखि नै गाईजात्रा पर्व रमाइलो पर्वको रुपमा मनाउँदै आएको पाइन्छ । समाजमा रहेका तत्कालिन विकृति विसंगतिहरूको विरोध गर्दै सबैलाई हसाउने पर्व हो गाईजात्रा । विद्यमान शासनको प्रकृति हेरी यो पर्व मनाउने तरिका निर्धारण भएको महशुस गर्न सकिन्छ । पहिला पहिला निरङ्कुस शासन हुँदा एक दिन गाईजात्राको रुपमा शासकहरू विरुद्ध व्यङ्ग्यात्मक रुपमा जनताहरूले आफ्नो मनमा कुम्स्याएर राखेका कुरालाई सभ्य तर व्यङ्ग्यात्मक रुपमा प्रहार गरी रमाइलो गर्ने प्रचलन रहेको थियो । यसलाई चतुर शासकहरूले आफ्नो कमिकमजोरीहरू सर्वसाधारण नागरिकहरूको दृष्टिमा के कस्ता रहेछन् भनी पत्ता लगाउने र आफ्नो विरोधको विषयलाई सच्याएर शासनसत्ता दीगो पार्ने अवसरमा पनि प्रयोग गरेको हुनसक्छ । त्यो भन्दा पनि पहिले उच्च घरानीया संभ्रान्त परिवारका व्यक्तिहरूको विशुद्ध मनोरञ्जनका लागि मात्र गाईजात्रा अथवा व्यङ्ग्य प्रस्तुत गर्ने गरेको पाइन्छ । त्यस पछिका निरङ्कुस शासकहरूका पालामा राजनैतिक रुपमा सचेत नागरिकहरू जसको शासकहरू सामु उचित सुनुवाइ हुनसक्दैनथ्यो त्यस्ता व्यक्तिहरूले मनोरन्जनात्मक रुपमा राजनैतिक प्रहार गर्न थालेको पाइन्छ । तर पछिल्ला दिनहरूमा यो पर्व खुल्ला विरोध गर्ने चरणमा सभ्यताको सिमा समेत उल्लङ्घन हुने गरी मनाउन थालिएको छ ।
विशुद्ध मनोरन्जन दिने यो पर्व हाल आएर मनोरन्जनका नाममा कसैलाई होच्याउने वा कसैको शारीरिक बनावट वा अपाङ्गपनलाई हास्य व्यङ्ग्यको विषयवस्तु बनाई अपाङ्गता भएका व्यक्तिहरूलाई अपमान हुने खालका व्यङ्ग्यहरू प्रस्तुत हुन थालेका छन् । हाल मनोरन्जनात्मक कार्यक्रमका रुपमा प्रस्तुत गरिने विभिन्न टेलीसिरियलहरूमा पनि अपाङ्गता भएका व्यक्तिहरूलाई पात्र बनाइ उनिहरूको अपाङ्गपनलाई हास्य व्यङ्ग्यको रुपमा प्रस्तुत गर्ने गरेको पाइन्छ । यस प्रकार कसैले कसैको शारीरिक वा मानसिक वा भौतिक बनावटका आधारमा हास्य पात्र हुनु पर्ने र समाजमा आफ्नो अपाङ्गपनको सबैले नक्कल गरी आफूलाई होच्याउने गरेको सहनु पर्ने यो कस्तो सामाजिक व्यवहार हो ? के कसैको शारीरिक वा मानसिक वा भौतिक बनावट वा अवस्थाको चित्रण गरी उसलाई आघात पर्ने गरी व्यङ्ग्य गरिनु पर्छ ? के संविधानको धारा १६ (१) मा उल्लेख भएको प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक हुनेछ । भनी सबै (अपाङ्गता भएका व्यक्तिहरू समेत) को सम्मानपूर्वक बाँच्न पाउने हक त्यहि हो त ?
जीवनलाई संघर्षपूर्ण अवस्थाबाट गुजारिरहेका अपाङ्गता भएका व्यक्तिहरूको सम्मान स्वरुप यस्तो व्यवहार गरिएको हो वा अनजानमा हुने गरेको हो यसको निर्क्योल हुन जरुरी छ । यदि कोहि व्यक्ति अपाङ्गता वरण गरि जन्मन्छ भने उसको यसमा के दोष हुन्छ ? यस वापत उसले समाजको हास्य पात्रको रुपमा चित्रित हुनु पर्छ । संविधानमा व्यक्तिलाई सम्मान पूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित छ भने अपाङ्गता भएका व्यक्तिहरूलाई पनि अन्य नागरिक सरह सामाजिक साँस्कृतिक सहभागिताको अधिकार रहेको छ । अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धि संयुक्त राष्ट्र संघीय महासन्धि २००६ (CRPD) को धारा १० मा व्यक्तिको सम्मान पूर्वक बाँच्नपाउने हक अर्थात Right to Life को सुनिश्चिता गरिएको छ । त्यतिमात्र होइन अपाङ्गता भएको व्यक्तिलाई आफ्नो घर समाजमा सम्मान पूर्वक आफ्नो रीति रिवाज तथा कूल परम्परा अनुसारको सांसकृतिक कृयाकलापहरूमा सहभागी हुन पाउने तथा स्वत्रन्तता पूर्वक आफ्नो अभिव्यक्ति दिने र सकृय सहभागिताको हकको सुनिश्चितता गरिएको छ । कुनै पनि अपाङ्गता भएको व्यक्तिलाई उसको आफ्नै परिवारमा अथवा घरमा र समुदायमा सम्मानसाथ रहन तथा अर्थ पूर्ण सक्रीय एवम् उत्पादनशील जीवन जिउने वातावरण सिर्जना गरिनु पर्छ ।
साथीभाइ इष्टमित्र सँगसँगै बसेर हास्य टेलिसिरियल हेर्न खोजियो भने अपाङ्गता हुने व्यक्ति आफ्नो अपाङ्गपनलाई हास्य वस्तुको रुपमा प्रस्तुत भएको देखेर लज्जित हुनु पर्ने अवस्था हुन्छ । यस्तो विषयवस्तु रचना गर्ने रचयिता वा निर्देशन गर्ने निर्देशक वा सो पात्रको अभिनय गर्ने अभिनेता अभिनेतृ कसैलाई पनि यो कुराले अरूलाई मर्माहत पारेको थाहा नभएको हुन सक्छ । यसबाट मर्का पर्ने व्यक्तिको आत्म पीडा स्वयं आफू भुक्तभोगी नभइ महशुस गर्न सकिँदैन । यसको उदाहरण “राम विलास र धनियाँ” पात्र राखेर बनाइएको रेडियो कार्यक्रमलाई आम मधेशी नागरिकहरूले विरोध गरेकोबाट प्रस्ट हुन्छ ।
शारीरिक अपाङ्गता होस वा वाक अपाङ्गता होस यस्ता व्यक्तिहरूको अभिनय गरी आम नागरिकलाई मनोरन्जन दिलाउने नाममा बनाइने खालका कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूलाई अपमान मात्र दिएको हुन्छ । कसैको जन्मजात वा शारीरिक बनावट व्यङ्ग्यका विषयवस्तु वनाइनु हुदैन । नेपाल सरकारको प्रत्यक्ष लगानीमा बनेको र नेपाल टेलीभिजनबाट प्रसारण भएको “देवी” टेलिसिरियलमा पूर्णेको अभिनय गर्ने पात्र के वास्तव मै भक्भके छन् त ? त्यसतै नेपाल टेलिभिजनबाट प्रसारण गरिने “मेरि वास्सै” साप्ताहिक सिरियलमा पन खड्का जी जस्ता पात्रहरू यसका केही उदाहरण मात्र हुन । यदि त्यो कथावस्तुले अपाङ्गता भएकै पात्र खोजेको हो भने किन प्राकृतिक रुपमा रहेका भक्भकेहरू मध्येबाट प्रतिनिधित्व गराउन सकेन राज्यले ? यदि सबैले हेर्ने टेलिभिजन कार्यक्रममा एक जना अपाङ्गता भएको व्यक्तिले स्थान पाउन सकेको भए मात्र राज्यले सहभागिता गराएको भन्न पाउने थियो । एक जना अपाङ्गता भएको व्यक्ति स्थापित हुने थियो । अपाङ्गता भएका व्यक्तिहरूको पनि समाजमा योगदान देखिने थियो । अपाङ्गता भए पनि क्षमता भएमा अवसर प्राप्त हुन्छ भन्ने कुरा प्रमाणित हुने थियो । राज्यको लगानिमा हुने गरिने कार्यक्रमहरू त यस प्रकारका विभेदकारी भएर आउछन भने अन्य नीजि क्षेत्रबाट हुने विभेदलाई राज्यले कसरी नियन्त्रण गर्न सक्छ । यसमा ध्यान पुराउनै पर्ने अवस्था छ ।
रेनेशा पूर्वको कालखण्डमा अपाङ्गता भएर जन्मनु पूर्व जन्मको पाप हो । यस्तो बच्चा जन्माउने बाबु आमा पापी हुन भन्ने व्यवहार गरिन्थ्यो । त्यस समयमा आफ्नो सन्तान अपाङ्ग जन्मियो भने परिवारले समाजमा नदेखाउने र घर भित्रै बन्दी बनाइ राख्ने अवस्था थियो । यो संसार भरिकै अपाङ्गता हुने व्यक्तिहरूको वास्तविकता थियो । अपाङ्गता हुनु पूर्व जन्मको पाप वा बाबु बाजेले गरेको पापको परिणाम मानिन्थ्यो । तर विस्तारै रेनेशा कालखण्ढ पछि युरोपीयन मुलुकबाट आएको परिवर्तनले अपाङ्गता भएका व्यक्तिहरूलाई घृणा होइन दया मायाले हेरिनु पर्छ भन्ने विचारको विकास भयो । यो विचार संसारमा केही शताब्धि मात्र रह्यो । जब दोस्रो विश्वयुद्ध भयो र सो युद्धमा धेरै सैनिकहरू अपाङ्ग हुन पुगे त्यस पछि मात्र अपाङ्गहरूलाई पुनस्थापना गर्ने र समाजमा स्थापित गरि राख्ने किसिमका कार्यक्रमहरू बनाइए । सन १९४८ मा संयुक्त राष्ट्र संघले मानव अधिकारको विश्वव्यापि घोषणा जारी गर्यो त्यस पछि मात्र अपाङ्गता भएका व्यक्तिहरूको पनि अरु सरहको अधिकार हुनु पर्छ भन्ने कानूनी मान्यता सिर्जना भएको हो । यो समयलाई उपकारमुखी समयबाट अधिकारमुखी अवस्थामा विकसित भएको मानिन्छ । तर यसको कार्यान्वयन पक्ष हेर्ने हो भने त हाम्रो मुलुकमा वा गाउँघरमा अझै पनि दयामुखी अवस्थामा नै अल्झिरहेको छ । युगले कोल्टे फेर्दै जाँदा संसार भरका अपाङ्गता भएका व्यक्तिहरू प्रति आम समुदायको दृष्टिकोण केहि भए पनि सकारात्मक रुपमा परिवर्तन हुँदै आएको छ । यसको चौथो तथा विद्यमान अवस्था भनेको हालको अवस्था अर्थात अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धि महासन्धि २००६ जारी भए पछिको समय हो । यो समय अवधि भनेको अपाङ्गता भएका व्यक्तिहरू पनि अन्य नागरिकहरू सरह उत्पादनशील छन् भन्ने युग हो । यहि मान्यताका आधारमा अपाङ्गता भएका व्यक्तिहरूलाई विकासको मूल प्रवाहमा प्रवाहीकरण गरी आम नागरिक सरहको व्यवहार गरिनु पर्छ ।
अपाङ्गता भएका व्यक्तिहरू घृणा, दया, समान अधिकार र उत्पादनशील नागरिकको रुपसम्म आइपुग्दासम्म हाम्रो समाजमा भने अपाङ्गता भएका व्यक्तिहरू अथवा अपाङ्गपन हास्यव्यङ्ग्य कै विषयवस्तुमा पीडित गराइएका छन ।यसमा राज्य र आम अपाङ्गता भएको वर्ग सचेत हुनु जरुरी छ । राज्यले संविधान र अन्य कानूनहरूको सशक्तरुपमा कार्यान्वयनको आँट गर्ने हो भने कुनै अपाङ्ग पनि र अपाङ्गता पनि हास्य पात्रको रुपमा अपमानित भइरहनु पर्ने छैन । अपाङ्गताका आधारमा गरिने विभेद विधि विधान वा कानूनहरूबाट विस्तरै हट्दै गएको भए पनि सामाजिक व्यवहारमा भने खासै ठूलो परिवर्तन आएको महशुस गर्न सकिने अवस्था अझै बन्न सकेको छैन ।
आशा गरौं यस वर्षको गाईजात्रा पर्व अपाङ्गपनलाई अपमान गर्ने र हास्यपात्रको रुपमा जनसमक्ष प्रस्तुत गर्ने अवस्थामा नभइ सबैलाई मर्यादित रुपमा सामाजिक विकृति र विसंगतिको विरोध गरी सर्वसाधारणमा सकारात्मक सन्देश दिने खालको हुनेछ । कसैले पनि आफ्नो अपाङ्गता लिङ्ग जातजाति धर्मवर्ण क्षेत्र भौगोलिक अवस्था गरिवी वा अन्य कुनै कुराको आधारमा आफू व्यङ्ग्य पात्रको रुपमा गाईजात्रको पात्र बनिरहनु नपरोस । यसमा राज्य समाज तथा सबै नागरिकहरू सचेत रहुन ।
अन्नपुर्ण पोष्ट मा प्रकाशित