Lalitpur Metro-9, Chyashal Balkumari, Lalitpur, Nepal
12 Months, 7 Days & 24 Hours Available for all.
+977 985 109 8889
डा. लक्ष्मणप्रसाद ज्ञवाली, नेपालको प्रथम नेत्रहीन अधिवक्ता The first Blind Advocate of Nepal Dr Laxman Prasad Gnawali.

सामाजिक मूल्यमान्यता

सामाजिक मूल्य र मान्यता प्रचलित कानूनहरू भन्दा धेरै बलिया हुन्छन् । नेपालको इतिहासको अध्ययन गरियो भने लिखित कानूनको शुरुवात भएको धेरै भएको छैन । तर हाम्रा सामाजिक मूल्य र मान्यताहरू भने धेरै पूराना छन् । त्यस्ता मान्यताहरू कहिलेदेखि शुरु भए भन्ने पनि यकिन छैन । मानव सभ्यताको शुरुवातसँगै आएका यी मान्यताहरू विधायिकि कानूनहरू भन्दा धेरै शक्तिशाली छन् । समाजमा त्यस्ता प्रचलनहरूको परिवर्तन सजिलैसित गराउन सकिँदैन । कानूनले घोषित रुपमा बर्जित गरेका कैँयौ कुराहरू हाम्रो समुदायमा अद्यावधि प्रचलनमै छन् । यतिसम्म कि कानूनले दण्डनीय घोषणा गरेका व्यवहारहरू समेत निर्मूल हुन सकेका छैनन् । कुनै पनि व्यवहार हाम्रो सामाजिक मान्यता विपरित रहेछ भने समुदायका सदस्यहरूले स्वतःस्फूर्त रुपमा त्यसको विरोध गर्ने गरेका उदाहरणहरु पनि प्राशस्तै रहेका छन् ।

अहिले हाम्रो समाजलाई नै चूनौति दिने गरी आएको विश्व महामारीले गर्दा हाम्रा शदियौँदेखि चलि आएका व्यवहारहरूमा विचलन त ल्याउने होइन भन्ने आशंका पनि एकातिर नरहेको होइन । तर मानव जीवनसँग अभिन्न सरोकार राख्ने कुराहरूमा  भै परि आउने समस्याहरूले असर त पार्लान् तर सामाजिक व्यवस्थालाई नै विखण्डित गर्न दिनु भने हुँदैन । संसारले प्रविधि लगायत धेरै कुरामा असाध्यै द्रुत गतिमा विकास गर्दै आएको कुरामा कसैको पनि विवाद छैन । भौतिक विकासले  मानव जीवनमा पुर्याएको सहयोग आफैमा अतुलनीय छ । तापनि यसले  मात्र सुख दिलाउन सक्ने रहेनछ भन्ने यथार्थ आजको सत्य हो । हाम्रो समाज युगौँदेखि निरन्तर रुपमा स्थिरता सहित चलि आएको छ । काल क्रममा अनन्त विषम परिस्थितिहरू  नआएका होइनन् । मानव लगायतका सम्पूर्ण प्राणी जगतले यस्ता उतार चढाव व्यहोर्दै आएको छ । त्यस्ता परिस्थितिहरूमा पनि समाज अविछिन्न उत्तराधिकारवाला बनेर यहाँसम्म आइपुगेको छ ।

समय समयमा मानव समुदायमा जीवनलाई जोखिममा पार्ने गरी विभिन्न प्रकोपहरू आउने  गरेका छन् । जसरी  शरीरले कुनै रोगसँग लड्न (immunity power)प्रतिरोध क्षमता आफैले उत्पादन गर्छ ठीक त्यसै गरि समाजले पनि हरेक प्रतिकुल अवस्थाको सामना गर्नका निम्ति नयाँ नयाँ (social immunity)बानी व्यहोराको  विकास गर्नु परेको कुरा हामीले अग्रजहरूबाट सुन्दै आएका छौँ । त्यस्ता विषम परिस्थितिले मानव जीवनशैलीमा केही परिवर्तन ल्याउन त सक्ला तर सामाजिक मूल्य मान्यतामा खलल पुराउने कुनै व्यवहार हुनु हुँदैन । समाजले   प्रचलनका केही कुराहरूलाई खुकुलो बनाउँदै लैजान्छ भने केही कुराहरूलाई परिवर्तित रुपमा अझ बढि कडाइका साथ अबलम्बन गर्दै आएको हुन्छ । सधै भरी वर्तमानको गर्भबाट अतितले भविष्यको रुपमा जन्म लिने गरेको हुन्छ । हरेक समस्याले सम्भावनाको द्वार खोल्छ भन्ने कुरा पनि हामीले विर्सनु हुँदैन ।

समाजमा विभिन्न वर्गका मानिसहरू रहेका हुन्छन् । सबैका आ-आफ्नै किसिमका प्रथा परम्पराहरू हुन सक्छन् । विभिन्न जातजाति, समुदाय, भूगोल आदिमा प्रचलित रिति-रिवाजहरू सम्बन्धित समुदाय वा सम्प्रदायको अथाह विश्वास बोकेका हुन्छन् । त्यस्तो अवस्थामा पनि हाम्रो प्रथा परम्परा अनुसार नै जीवनशैलीले निरन्तरता पाउँदै आएको छ । निरपेक्ष रुपमा कुनै पनि प्रचलन राम्रो वा नराम्रो हुँदैन । एउटै व्यवहार कुनै समुदायलाई शुभ लाग्न सक्छ भने सोहि व्यवहार कसैको लागि अशुभ मान्ने गरिन्छ । यो सबै आफ्नो चालचलनको सापेक्ष विश्वासमा  आधारित हुन्छ ।

अहिलेको विश्वमहामारीमा पनि कुनै नयाँ चालचलनको थप विकास गर्नु पर्ने पो होकि भन्ने लागेको छ । अनन्त कालदेखि चलिआएका व्यवहारहरूले  नै हाम्रो समाजलाई सभ्यता प्रदान गर्न सकेको हो । यदि सामाजिक मूल्य र मान्यताहरूलाई नै वेवास्ता गर्दै जाने हो भने यसले समाजमा असहज परिस्थिति सिर्जना गर्न सक्छ । हाम्रा कैयौँ प्रचलनहरू पश्चिमी सभ्यताको तुलनामा धेरै राम्रा मानिन्छन् । त्यसको  उदाहरणको रुपमा रहेको संयुक्त परिवार पद्दतिलाई लिन सकिन्छ । एउटै परिवारमा  चार पाँच पुस्ताका व्यक्तिहरू मिलेर बस्न सक्ने हाम्रो संस्कृति छ त्यति मात्र होइन परिवारमा एकजना व्यक्तिको कुनै नोकरी वा जागिर छ भने उसले चार पाँच पुस्ताक सबै सदस्यहरूको पालन पोषण गर्ने गरेको हाम्रो समाजमा नविनतम विक्रितिले आक्रमण गर्ने हो कि भन्ने त्रास बढ्दै गएको छ ।  ।  पछिल्ला दिनहरूमा  यो विस्तारै एकात्मक परिवार मोहको विकास हुँदै जाँदा समाजमा  धेरै नराम्रा विकृतिहरू पनि देखिन थालेका छन् । पूरानो पुस्तामा रहेको अनुभवलाई तेस्रो पुस्तामा सार्दा व्यवहारिक मर्यादाको च्यानल मजबुत रहिरहने हुन्छ ।

प्रकोप वा माहामारी असाध्य अवस्थामा रहुन्जेल  मानिसहरूमा  भय हुनु स्वभाविक हो । तर त्यस्तो डरले  पनि आदिम कालदेखि चलिआएका कैयौँ सभ्यताहरूको क्रम भङ्ग गर्नु भने हुँदैन । हाम्रो समाज अन्तर निर्भर रुपमा अडेको छ । समाजका हरेक सदस्यहरूको भूमिका आफ्नै महत्व बोकेर रहेको हुन्छ ।

विद्यमानमा देखा परेको यो कोरोना माहामारीले कतै अनन्तदेखि सिक्रिको रुपमा अडेको सामाजिक मान्यतामा आघात पुर्याउने त होइन भन्ने डर मात्र हो । अहिले मानिसहरूले सामान्य विरामी पर्दा सजिलै औषधि उपचार गराउन सक्ने अवस्था छैन । मान्छेले  मान्छेलाई  नै कालको पर्तिमूर्तीको  रुपमा देखे जस्तो व्यवहार गर्न थालेको हो कि जस्तो लाग्न थालेको छ । हामी सरुवा रोगसँग सतर्क हुनु पर्छ यसमा  कुनै प्रश्नै छैन तर  संक्रमणबाटै किन नहोस मृत्यु भएको आफ्नो परिवारको सदस्यको शव परैबाट टुलुटुलु हेरेर मात्र बस्नु पर्न् परिस्थिति सिर्जना हुनु भएन । सनातनदेखि चलिआएका हाम्रा दैनिक व्यवहारहरू चटक्कै छोडिनु भने हुँदैन । मानिस समाजमा बसे पछि जीवनसँग सम्बन्धित जन्म, मृत्यु, विवाह आदि जस्ता कुराहरूमा  अन्तर निर्भरको अवस्था विद्यमान हुन्छ । मानिस जति सुकै सम्पन्न भएपनि यस्ता जीवन संस्कारसँग जोडिएका व्यवहारहरू उसले  एक्लै गर्न सक्दैन । जिउँदाको जन्ति मर्दाको मलामी भन्ने हाम्रो कथन त्यसै प्रचलनमा आएको होइन । तर अहिले विवाह वा जन्ती त पछि गरौला भनेपनि हुन्छ तर मर्नेकुरा कसैले  पनि टार्न सक्दैन । अहिले कोरोना प्रकोपको  भयले गर्दा यस्ता अत्यन्त संवेदनशील घडिमा  पनि मानव सहयोग कठीन हुन थालेको होकि भन्ने आभास हुन थालेको छ । विरामी परेर अस्पताल पुगेका व्यक्तिलाई चिकित्सकहरूले सहज रुपमा नलिने,  मृत्यु पछिको दाहसंस्कारका लागि घाटसम्म प्रयोग गर्न नपाउने, शव उठाएर लैजाने मलामीहरूको समेत समुदायमा तत्परताको कमि हुने जस्ता कुराहरू देखा पर्न थाले भने यसले समाजलाई विनाश तर्फ लैजाने हो कि भन्ने डर पनि लाग्छ । प्रिकसन नलिइ जोखिम मोल्नु भन्ने होइन तर जुनसुकै कारणबाट मृत्यु भएका व्यक्तिको पनि आफ्नो रिति अनुसारको अन्त्येष्ठी गरिनु पर्छ । यसमा  कमि हुनु हुँदैन ।

हाम्रो देशमा अन्य मुलुकहरूको तुलनामा कोरोनाबाट मृत्यु हुनेको  दर कम छ । तर यो माहामारीअनियन्त्रित रुपमा नपुग्ला भन्न सकिने अवस्था पनि छैन । यदि कुनै समुदायमा कोरोनाबाट अनियन्त्रित मृत्युको अवस्था सिर्जना भयो भने त्यस बेला के होला ? यो गम्भीर रुपमा सोचनीय कुरा हो ।  विद्यमान परिस्थितिमा जसरी कोरोना संक्रमणलाई बुझिएको छ त्यो  अल्प बुझाइ हुन सक्छ । महामारी आफैमा भयानक हो तर त्यसो भन्दैमा सदियौँदेखि हाम्रो समाजले अङ्गिकार गर्दै आएका मान्यताहरूलाई लत्त्याइ हाल्ने अवस्था पनि हुँदैन । संक्रमण जो कसैलाई जुनसुकै समयमा हुनसक्छ र कोरोना संक्रमण हुनासाथ मृत्यु भइहाल्ने भन्ने पनि होइन । हामी कोरोना संक्रमणबाट भन्दा बढि त्यसको त्रासबाट समाजलाई खल्बल्याइ रहेका छौ कि भन्ने कुरामा पनि ध्यान दिनु पर्छ ।

हाम्रो समाजको सम्पन्नता भनेको आपसी सद्भाव र भाइचारा व्यवहार नै हो । सद्भाव सम्पत्ती भन्दा धेरै गुणा शक्तिशाली हुन्छ । आर्थिक रुपले हामी पछाडि रहेकोमा  द्विविधा छैन तर यति हुँदा हुँदै पनि सुखि र खुशि अवस्थामा नेपालीहरू रहिरहन सक्नु भनेकै सद्भाव र एकापसको सहयोग नै हो । धनले मात्र मानव आवश्यकता परिपूर्ति गर्न सक्दैन । हाम्रा बानी व्यवहार नै यसका प्रमुख जिम्मेवार हुनेछन् ।

सामान्य अवस्थामा त नेपाली युवाहरू वैदेशिक रोजगारीको नाममा आफ्नो जीवनको महत्त्वपूर्ण समय विदेशमा विताउन बाध्य छन् । गाउँमा कि जेष्ठ नागरिकहरू वा स-साना विद्यालय उमेरका बालबालिकाहरू मात्र छन् । जसले गर्दा देशको उत्पादनमा त नकारात्मक असर पर्यो नै अर्को तर्फ गाउँ घरमा कोही विरामी पर्यो भने पनि अस्पतालसम्म पुर्याउने जनशक्तिको समेत अभाव छ ।  गाउँघरमा  मलामी जाने युवाहरूको समेत अभाव खड्किन थालेको छ । यसो हुनुमा हामीले हाम्रो सद्भावपूर्ण व्यवहारलाई भन्दा पैसालाई धेरै महत्त्व दियौँ कि भन्ने पनि लाग्छ । हो सम्पत्ती नभइ नहुने कुरा हो । धन विना जीवन सञ्चालन सम्भव पनि छैन । तर धनमात्र सबैथोक भने होइन । फलानाका छोराछोरी अमेरीका, वेलायत वा अष्ट्रेलिया छन् मेरा त नेपालमै अल्झिइ रहेका छन् भन्ने मानसिकतामा परिवर्तन हुन जरुरी छ । विरामी पर्दा सँगै बसेर औषधि पानी खान दिने सन्तानका बाबुआमा विदेशबाट डलर पठाउनेका बाबुआमाको तुलनामा धेरै सुखि हुन्छन् ।

अहिले हामीले मनन गर्नु पर्ने कुरा त के हो भने नेपाली सामाजिक मूल्य र मान्यता हिजोका दिनमा बोकेको आदर्शलाई घटाउनु परेन भने समुदायमा सामाजिक विचलन आउन पाउने छैन र समाज सधै सम्बृद्ध रहिरहने छ । सहयोगी भावना कुनै दासता होइन भन्ने कुरा पनि आत्मसात गर्न सकिएन र धनभन्दा ठूलो जीवन पनि होइन भन्ने मान्यतालाई परिवर्तन  गर्न सकियो भने हाम्रो समाज, यसले अङ्गिकार गरेका सामाजिक मूल्य र मान्यता उत्तिकै सशक्त र सक्षम रहिरहन सक्नेछन् । कोरोना महामारी होस वा अन्य कुनै प्रकोप कुनैले पनि हाम्रो सामाजिक सद्भावपूर्ण व्यवहारमा कमि ल्याउने छैन । हिजोका दिनमा जसरी आदर्श समाज थियो सोही कायम रहिरहने छ ।  

देश सञ्चार मा प्रकाशित