वैज्ञानिकहरूले जति सुकै प्रयास गरे पनि मानवको मृत्यू रोक्ने उपाय पत्ता लगाउन सकेका छैनन् । विज्ञानको प्रगति यात्राको उद्गम विन्दु भनेको पनि प्रकृति नै हो । त्यसैले बाँच्नको लागि मानवलाई खाना खानु अनिवार्य छ । खाद्यान्नका विविध आयामहरू बनाइए होलान् तर मानवले नखाइ बाँच्न सक्ने उपाय आजसम्म पत्ता लाग्न सकेको छैन । चाहे मानव चन्द्रमामा पुगोस् वा मङ्गल ग्रहमा मानवलाई बाच्नको लागि केही न केही खानै पर्ने हुन्छ । अहिले संसार कोरोनाको माहमारीको चपेटामा परी विश्वको अधिकांश भाग लकडाउनको अवस्थामा छ । यस्तो विकराल र विषम परिस्थितिमा पनि मान्छेले आफ्नो समयमा खाना खानै पर्छ । खानाको लागि कुनै न कुनै उत्पादित चिजको आवश्यकता पर्ने गर्छ । चाहे वनस्पति होस् वा प्राणि जे भए पनि मान्छेको आहाराको रुपमा पृथ्वीबाट उत्पादन भएको प्रकृतिको सन्तान नै आवश्यक पर्छ । विभिन्न रसायनहरूको माध्यमबाट अन्य आवश्यक वस्तु उत्पादन गर्न सकिएला तर खाना उत्पादन गर्न प्रकृतिको भर पर्नु पर्ने हुन्छ । यस्तो अवस्थालाई ध्यानमा राखि हामीले जस्तो सुकै अप्ठ्यारो परिस्थितिमा पनि खाद्यान्न उत्पादनलाई पहिलो प्राथमिकता साथ महत्त्व दिनु पर्छ ।
संसारका अन्य मुलुकहरूमा विघिन्न उद्योग धन्दाहरू सन्चालनमा रहेको भएपनि हाम्रो देशमा ब्यक्तिगत दूरी कायम गरी खेतिपाति गर्न मात्र लकडाउनमा छुट दिइएको छ । हाम्रो देशमा यो समय भनेको खेतिपाति लगाउने सिजन हो । यो उच्च तथा मध्य पहाडी क्षेत्रमा मकै लगायतका नियमित खेति लगाउने बेला हो । गाउँघरमा वर्षायामलाई आवश्यक पर्ने दाउरा आदिको जोहो गरेर राख्ने वेला पनि हो । मानवीय यस संकटको घडिमा प्रत्येक नागरिकले आफू व्यक्तिगत तथा पारिवारिक स्वास्थ्य,समाज र समुदायको मूल्य मान्यता र राज्यप्रति जिम्मेवार अनि जवाफदेही बनेर सुरक्षित भइ राज्यको कानून पालना गर्दै उत्पादनको क्षेत्रमा लाग्नु जरुरी हुन्छ । पृथ्वीको कुनै एक भागमा भएको अभाव भए अन्य भागको उत्पादनबाट समस्या समाधान हुन सक्ने थियो तर यो विश्वव्यापी समस्याको समयमा यदि आफू न्यूनतम कुराहरूमा आत्म निर्भर बन्न सकिएन भने त्यस बेला कसैको पनि मद्दत प्राप्त हुन सक्ने छैन । हो हाम्रो देशमा नून उत्पादन गर्न समस्या होला तर धान, मकै, कोदो, गहुँ, दलहन, तेलहन, फलफूल, तरकारी आदि सबै हाम्रै माटोमा उत्पादन गर्न सम्भव छ । त्यसै गरी पशुपालनबाट दुध, अण्डा, मासु आदिमा पनि हामी कसैको भर पर्नु पर्दैन । सरकारले मानवको जीवन रक्षाका निम्ति नभइ नहुने औषधि, खाद्यान्न आदि वस्तुहरूको उत्पादनमा विशेष जोड दिएर नागरिकहरूलाई त्यस्ता वस्तु उत्पादनमा लगाउनु पर्ने हुन्छ ।
हाम्रो राज्यले चालेका सक्षम कदमहरूको कारणबाट कोरोनाको नियन्त्रणमा सफलता प्राप्त हुँदै आएको छ । हालसम्म कोरोनाबाट नेपालको माटोमा कुनै व्यक्तिको मृत्यू भएको छैन । यो खुशिको कुरा हो । त्यस सँगै भोलिका दिनमा आइपर्ने संकटको बारेमा पनि सरकार र नागरिकहरू चनाखो हुनु अतिनै आवश्यक छ । यदि हाम्रो खाद्यान्नको भण्डारण रित्तियो र उत्पादनमा ध्यान पुर्याउन सकिएन भने मानव जिवन रोगको भन्दा ठूलो भोकमारीको चपेटामा पर्नसक्छ । त्यस बेला मानव जीवनका धेरै विकल्पहरू समाप्त भैसकेर परिस्थितिले अर्कै रुप लिइसकेको हुनेछ ।
अहिले चलिरहेको लकडाउनमा देशका सबै कृषियोग्य भूमिमा उत्पादनका सम्भावनाहरू पहिचान गरी सबैजसो मानिसहरूलाई कृषिमा व्यस्त गराइ राख्न सकियो भने मात्र यो समस्याको समयमा निकासको बाटो खुल्नसक्छ । हाम्रो देश सामान्य परिस्थितिमा जे जसरी आयातमुखि अवस्थाबाट गुज्रीरहेको भए पनि अव नेपालले कृषिमा विशेष लगानी गरि ठूलै फड्को मार्नु पर्छ । यस परिस्थितिमा एक ठाउँमा रहेका कोरोना संक्रमणको समस्या देखा नपरेका क्षेत्र र त्यहाँका नागरिकहरूबाट मात्र सन्चालन गर्न मिल्ने उद्योगहरू पनि सन्चालन गरिनु पर्छ । हाम्रो देशमा समुदाय स्तरमा कोरोना फैलिइ नसकेको यस घडिमा सबै मानिसहरूलाई बन्दाबन्दीमा मात्र राखिरहनुको सट्टा उनिहरूलाई काममा पनि लगाउनु पर्छ । कैँयौ ठेकेदारहरूले मजदुरहरूलाई काम विहीन अवस्थामा पालिरहनु परेको छ भने कैयौ मजदुरहरू विहान बेलुका हातमुख जोर्न भने मातरकृषिमा व्यस्त गराइ रसन नसकेर पैदलै आफ्नै घर तिर हिडेको अवस्था छ । यस्तो अवस्थालाई नियन्त्रण गर्न सरकारलाई पनि हम्मे हम्मे परेको छ । जो जहाँ छ उसलाई खाने वस्ने व्यबस्था मिलाउन सरकारको निर्देशन हुँदाहुँदै पनि सयौ मानिसहरू पैदलै आफ्नो गाउँ तिर लाग्न पर्नुको कारण पनि गास, बासकै समस्या हो । हातमा सीप मनमा अलिअलि कोरोनाको भय र शरीरमा जाँगर हुँदाहुँदै पनि मानिसहरू सरकारको आज्ञाको अवज्ञा गर्दै पैदलै आफ्नो गन्तव्यतिर जबरजस्ती लाग्नु प्राण रक्षाको बाध्यता हुन सक्छ । त्यसैले संकटको बेलामा हुने यस प्रकारका असहज व्यवहारलाई उच्चस्तरीय निकायबाटै नियन्त्रण र निगरानी गरिनु पर्छ ।
त्यस प्रकारको स्थितिलाई नियन्त्रण गर्न र त्यस्ता मानिसको न्यूनतम आवश्यकता परिपूर्तीको लागि यसबेला सरकारले रणनैतिक योजनाका साथ विशेष कदम चाल्नु पर्ने हुन्छ । त्यस्ता मानिसहरूलाई सिमित स्थानमा उत्पादनमूखि कार्यमा लगाइनु पर्छ । निश्चित एरियामा सिमित राखेर मानिसहरूलाई उत्पादन वा निर्माण कार्यमा लगाउन सकियो भने मजदुरहरूको दैनिकि चल्ने र समाज विकासको गति पनि नरोकिने हुन्छ । जसरी सरकारले खाद्यान्न लगायतका अत्यावश्यक वस्तुको आपूर्ती गर्ने नीति लिएकोछ त्यसै गरी निर्माण सामाग्रीहरूको पनि आपूर्ती गरेर निर्माण कार्यहरू सुचारू गरिनु पर्छ ।
यसरी काममा लगाइने कामदारहरू र सन्चालक सवैलाइई व्यक्तिगत स्वास्थ्य सुरक्षाको भर पर्दो व्यवस्था मिलाइनु पर्छ । यसरी उत्पादन वा निर्माणको काममा लगाइँदा आफ्नै ठाउँमा अत्यावश्यक वस्तुहरूको उत्पादन तथा आपूर्ती हुनसक्ने र राज्य स्वनिर्भरताको बाटोमा अघि बढ्नमा मद्दत पुग्छ । आफ्ना नागरिकहरू काम विहीन नहुने र सरकारले बाहिरबाट आयात गर्नु पर्ने वस्तुमा कमि आउँछ ।
अहिले पनि सरकारले खाद्यान्न, पेट्रोलियम पदार्थ, औषधि, तरकारी आदि ओसारपसारमा प्रतिबन्ध लगाएको छैन । लकडाउनको नियम पालना गराउँदै अत्यावश्यक वस्तुहरूको ढुवानी सुचारू गर्ने भनेकै छ । अर्को तर्फ ढुबानी खुल्ला गरिएकै अवस्थामा मानव आवत जावत भइरहेको कुराबाट राज्य अनभिज्ञ पनि छैन । यस्तो अवस्थामा सिमित क्षेत्रमा त्यस क्षेत्रकै मानिसहरूबाट चल्नसक्ने काम चलाएर सामान्य उद्योग धन्दा सन्चालन गर्न आवश्यक छ । अर्थात अन्य ठाउँबाट आइजाइ नगरिकनै कुनै उद्योग धन्दा चलाउन सम्भव छ भने त्यसो गरिनु कोरोना नियन्त्रण र अत्यावश्यक वस्तु उत्पादनका दृष्टिले उपयोगी नै हुने छ ।
केही मानिसहरूले लकडाउनको बसाइलाई कुनै आन्दोलनको बन्द उल्लङ्घन गरे जसरी उल्लङ्घन गर्ने गरेको पाइन्छ । देशमा शान्ति सुरक्षा कायम गर्नका निम्ति निश्चित समयका लागि कर्फ्यू लगाएको वा कुनै आन्दोलनकारीले बन्दको घोषणा गरेको समय समाप्त भए पछि हुने जस्तो भिडभाड गरेर दैनिक उपभोग्य सामाग्रीहरू खरिद गर्ने, बाटोमा धेरै संख्यामा भिड लागेर हिड्ने जस्ता कृयाकलापहरूले लकडाउनको मर्म सबैले बुझ्न नसकेको हो कि भन्ने भान हुन्छ । यसो हुनुको मुख्य कारण जनचेतनाको कमि नैहो । अहिले बिहान बेलुका मानौ कोरोना निस्कृय हुन्छ भन्ने जस्तै गरी मानिसहरू सडकका चोक चोकमा निस्कने, भिडभाडका साथ पसलहरूमा झुम्मिने जस्ता क्रियाकलापहरू लकडाउनको नियम विपरित भए जस्तो लाग्छ । आम सर्वसाधारणको यस्तो बुझाइ र कुनै कुनै सुरक्षा कर्मिहरूको व्यवहार पनि अतिनै क्रुर, अमानवीय र अव्यवहारिक रहेको महशुस हुन्छ । दैनिक जीवनका अत्यावश्यक चिजवस्तु चामल, ग्याँस, तरकारी आदि किनेर आफ्नो गन्तव्य तर्फ जाँदै गरेका पैदल यात्रीहरूसँग सुरक्षा कर्मीहरूले गरेको सारै तुच्छ र तल्लो तहको व्यवहार देख्दा निकै दुख लाग्छ ।
तल्लो तहबाट हुने यसप्रकारको व्यवहारले सरकारको लोकप्रियता माथिनै धावा बोलिरहेको हुन्छ । व्यवहारिक रुपमा आम नागरिकले सहजता महसुस गर्न सकेनन भने सरकारका निर्देशनहरूको सजिलैसँग अवज्ञा हुँदै जान्छ । राज्य सन्चालनको अप्ठ्यारो परिस्थितिमा आफ्नो स्वार्थ सिद्ध गरिन खोज्नु विरोधिहरूको धर्म नै हो । यस्तो धर्म पालना गर्ने विरोधिहरूका कारण सरकारले आफूलाई चुस्त, दुरुस्त, पारदर्शी, जवाफदेही र सक्षम बनाउने मौका प्राप्त गर्नसक्छ । हरेक संकटले कुनै न कुनै सम्भावना पनि बोकेर आएको हुन्छ । त्यसैले यस्ता सम्भावनाहरू पहिल्याएर भविश्यको लागि आफ्नो सक्षमता प्रमाणित गर्ने अवसर हाम्रो सरकारलाइ पनि छ ।
देश सञ्चार मा प्रकाशित