राज्य वा संघसंस्था जे भए पनि सञ्चालन प्रकृया समान प्रकृतिको हुन्छ । सानो वा ठूलो जे भए पनि उसको प्रकृयामा समानता रहेको हुन्छ । हामीले नेतृत्व गरिरहेको निकाय जस्तो र जत्रो होस सञ्चालन पद्धति एउटै हो । भारका हिसावले ठूलो वा सानो निकायको सञ्चालन गर्नुमा भिन्नता हुनसक्छ । तर यसका अवयवहरू समान हुने हुनाले हरेक स्वभाव समान रहन्छन् । यदि कुनै निकाय ठूलो छ भने त्यसमा लाग्ने जनशक्ति, आर्थिक लगानी आदि फरक हुन सक्लान् तर तिनिहरूको उचित व्यवस्थापन हुन सकेन भने हैसियत बमोजिमको नोक्सानी सबैले उत्तिकै रुपमा सहनु पर्ने हुन्छ । हामीले कुनै पनि निकायको नेतृत्व ग्रहण गर्दा त्यसका वरिपरिको वातावरणको अध्ययन गरेर मात्र सम्हाल्नु पर्छ । त्यसो गरिएको पनि हुन्छ । तर धेरै जसो ठाउँमा पहिले नेतृत्त्वमा जान प्रोत्साहन गर्ने र जब सबैको प्रेरणाले त्यस ठाउँमा पुगिन्छ त्यस पछि हिजो सहयोग गर्नेहरूबाटै असहयोग र आफ्ना विरुद्धमा शित युद्ध शुरु गर्ने प्रचलन पनि नौलो होइन । हामीले नेतृत्व ग्रहण गर्ने बेलामा नै यसको आंकलन गरेर मात्र नेतृत्व लिएका हुन्छौ । तर पनि निकटतम साथीहरुको सहयोग विना कुनै पनि अभियान सफल हुन सक्दैन । जहिले पनि नेतृत्वको स्थान एक मात्र हुन्छ । तर आकांक्षीहरूको संख्या धेरै रहेको हुन्छ । तापनि आफूले लिएको नेतृत्वको भूमिकालाई सफलतामा पुराउने काम आफ्नै हुन्छ । यसका लागि विभिन्न सौदावाजि समेत गर्नु पर्ने हुन्छ । आफूले सोचेको र संस्थालाई वास्तविक हित हुने काममा पनि आफ्नै मित्रहरूबाट असहयोग हुन शुरु हुन्छ ।
सिद्धान्ततः कुनै पनि साथीले साथीलाई धोका दिदैन । तर व्यवहारमा भने त्यसको विपरित भएको पाइन्छ । हामीले हरेक कामको नेतृत्वमा रहँदासम्म यस्तै जटिलताहरूको सामना गर्नु परेको हुन्छ । संघर्षबाट नेतृत्वमा जाने भनेको प्रतिद्वन्दी पनि हाराहरीकै क्षमताको हुनु हो । यस्तो अवस्थामा आफूले प्रतिद्वन्दीको प्रहारको सामना गर्नु पर्ने मानसिकता बनाइ सकिएको हुने हुनाले त्यसको प्रतिवाद गर्न लाग्ने शक्तिको खर्च हिसाव गणना भएको हुदैन । मानिसले आफ्ना निकटतम मित्रहरूबाट सिर्जना हुने समस्याहरूको व्यवस्थापन गर्न कठिन परिरहेको हुन्छ । त्यस्ता कुराहरूले आफूलाई कमजोर बनाइरहेका हुन्छन् । हरेक कानून वा नीति नियम लागू गर्ने क्रममा यस्ता कुराहरू बाधक बनिरहेका हुन्छन् । विपक्षीहरूको धर्म नै नेतृत्वको कमजोरी खोजेर उछालेर समाज भड्काउने स्वभावको हुन्छ । त्यसैले त्यसको सामनाका निम्ति पनि नेतृत्व तयारी मानसिकतामा नै रहेको हुन्छ । तर उसलाई नसोचेको काम भनेको आफ्ना साथीहरुको अकर्मण्यताका कारण उत्पन्न व्यावधानको व्यवस्थापनमा लाग्नु पर्ने कुरा हो । यस्ता कुराहरूलाई सतहमा आउन दिइयो भने प्रतिद्वन्दीहरूलाई नै फाइदा पुग्ने हुनाले त्यस्ता कुराहरूले पारेका नकारात्मक असरहरूलाई पनि दवाएर आफू पीडित हुनु पर्ने अवस्था आउँछ । मानिसले आफूले अरुलाई सहयोग गरेको हुनाले अरुबाट पनि अपेक्षा गर्नु स्वभाविक नै हो । तर साथीहरूले विभिन्न कारणले त्यस्ता कुराहरू विर्सेर आफ्नो नैतिक मर्यादा समेत ख्याल राखेका हुदैनन् । मित्रता र नेतृत्त्वको बिचमा भिन्नता सिर्जना गराउने तत्वहरू यस्तै हुन्छन् ।
जहिले पनि आफू नेतृत्वमा जानका लागि आफ्नो समुहको सहयोग प्रयोग गरिएको हुन्छ । यो पनि एक प्रकारको संझौता हो । मानिसले आफू शक्तिमा पुग्नका निम्ति केही कुरामा कसैसँग सम्झौता गरेको हुन्छ । त्यस्तो सम्झौता सबै लिखित र औपचारिक नै हुनु पर्छ भन्ने होइन । त्यसरी समझदारी गरिएका कुरामा अपेक्षाकृत सहयोग कम रहेको पाइन्छ । जबसम्म मानिस नेतृत्वमा पुगेको हुदैन उसलाई हरेक किसिमले साथ दिने व्यक्तिहरू प्रसस्त रहन्छन् । तर जब उसले नेतृत्व सम्हाल्न पुग्छ त्यस पछि उसलाई सहयोग गर्ने भनेका मित्रहरू पनि खुट्टा तान्ने समुहमा नजिकिन पुग्छन् । मानिसमा एक प्रकारको असिमित महत्वाकांक्षा रहेको हुन्छ । नेतृत्वमा जानेले पनि सहयोगीहरूको सल्लाहको कम प्रयोग गर्ने गर्छ भने सहयोगीहरूले पनि नेतृत्वमा पठाइएको मित्रलाई आफ्नो वशमा राखेर नेतृत्व गराउन चाहन्छन् । उसको केही पनि छैन सबै हामीले भने बमोजिम गर्नु पर्छ भन्ने सोच राखेर उसलाई चटपटाउन समेत नसक्ने गरी वशमा पार्न खोज्ने प्रवृत्तिले नेतृत्व र सहयोगी बिचमा शित युद्धको विजारोपण हुन पुग्छ । जुनसुकै तरिकाले नेतृत्वमा पुगेको भएपनि सो नेतृत्व गर्ने व्यक्तिमा पनि सोच विचार र क्षमता रहेको नै हुन्छ । त्यसैले उसले पनि आफ्नो विचारलाई मारेर सबै अरुकै भरमा कार्य सञ्चालन गर्न सक्दैन । उसले आफूमा निहित क्षमताको पनि भरमग्दुर प्रयोग गर्न थाल्छ । हिजो सहयोग गर्नेहरूले आफ्नो सल्लाहको सुनुवाइ नभएको महशुस गर्न थाल्छन् भने नेतृत्वमा पुग्ने व्यक्तिले पनि आफूमा निहित क्षमताको प्रयोग नगरी सबै अरुहरूको सल्लाहमा नेतृत्व गर्न चाहन्न । त्यसैले नजानिदो रुपले दुवै थरीमा असन्तुष्टि शुरुहुन पुग्छ । ससाना कुराहरूमा भएका असमझदारीहरूले भविष्यमा बृहत रुप लिन पुग्छन् । नेतृत्वमा रहने व्यक्तिलाई अपेक्षाकृत सहयोग प्राप्त हुन छोड्छ र सहयोगीहरूका कुराहरू पनि नेतृत्वबाट सुनिन छोड्छन । फलस्वरुप सहयोगी मित्रहरूले गुट परिवर्तन गरी अन्य बैकल्पिक नेतृत्वको खोजी गर्नसम्म पछि पर्दैनन । उता आफ्नै साथीहरूको धोका पाएको नेतृत्वले विपक्षीहरूको हितमा बरु केही विचार गर्न थाल्छ तर आफ्ना धोकेवाज मित्रहरूकको समुहलाई बढि निगरानीमा राखेर अघि बढ्न थाल्छ । यो बाहेक उसको अर्को विकल्प पनि रहदैन ।
जसरी विश्वराजनीति शितयुद्धबाट ग्रसित भएको थियो त्यसरी नै संस्था शितयुद्धको मारमा परेर ठूलो नोक्सानी व्यहोर्न समेत बाध्य हुन्छ । सहयोगीहरूको मनमा हामीले गरेको सहयोगको अवमूल्यन भयो भन्ने भान पर्छ भने नेतृत्वमा सधै भरी वशमा राखेर दास बनाउन खोज्नेहरूको चङ्गुलबाट उम्कनु पर्ने सोचको विकास हुन्छ । फलस्वरुप दुवै थरिको समर्थन वा विरोधमा नलागेका व्यक्तिहरू सबैभन्दा बढि मारमा पर्न थाल्छन् । समग्र संयन्त्रमा उथल पुथल हुन पुगी अराजकता सिर्जना हुन पुग्छ । तटस्थ व्यक्तिहरूमा रहेको असन्तुष्टिले संस्था वा निकायको विकासमा बाधा पुग्छ । जुङ्गाको लडाइले गर्दा सर्वसाधारण र तटस्थ व्यक्तिहरू अनावश्यक विवादमा तानिन थाल्छन् । पक्ष वा विपक्षमा विचार व्यक्त हुन थाले पछि विभिन्न गुट उपगुटको शुरुवात हुन पुग्छ । संस्थाको एकलौटी शक्ति गुटमा विभाजित हुन गइ निकै कमजोर अवस्थाबाट गुज्रिन थाल्छ । नेतृत्वले पनि आफ्नो अस्तित्व संरक्षणका निम्ति नै अनावश्यक उर्जा खर्च गर्नु पर्ने अवस्था आउछ । सहयोगी समुहले पनि प्रतिशोधको भावनाले काम गर्न थाल्छन् । यसरी बाहीर देखिदा राम्रो तर भित्र भित्रै शक्ति क्षिण हुदै गएर संस्था अराजकता तर्फ उन्मुख हुन्छ ।
यस्तो अवस्थामा संस्थाको अस्तित्वनै संकटमा परे पनि उनिहरूको जुङ्गाको लडाइ भने कायमै रहन्छ । विशेष गरी पर्दा पछाडिबाट सहयोग वा षड्यन्त्र गर्ने दुवै थरी व्यक्तिहरूले यस्तो परिस्थितिलाई कायमै राखी आफ्नो सानोतिनो स्वार्थ पूरा गरिनै रहेका हुन्छन् । नेतृत्वमा रहने व्यक्तिले यस्ता कुराहरूमा निकै ख्याल पुराउनु पर्छ । यस्तो अवस्थामा पर्दा पछाडिबाट आफूलाई प्राप्त भएको सहयोग नै सबैभन्दा खतरा हुनसक्छ । साम्नेमा आएर हाँकदिने व्यक्तिलाई सजिलै परास्त गर्न सकिन्छ तर पर्दा पछाडि बसेर षड्यन्त्र गर्नेहरूसँग निकै ठूलो मूल्य चुकाउनु पर्न सक्छ । त्यसैले हामीले नेतृत्वमा जानेसमयमा लिने सहयोग प्रत्यक्ष हो वा अदृष्यरुपमा गरिएको हो त्यसमा ध्यान पुराउनु पर्छ । प्रत्यक्ष रुपमा विरोध गर्ने भन्दा लुकेर सहयोग गर्नेसँग बढि सतर्क रहनु पर्छ । जसरी आफूलाई अरुले थाहा नपाउने गरी सहयोग गरेको हुन्छ त्यसै गरी आफूले थाहा नपाउने गरी अरुलाई नै सघाएको पनि हुनसक्छ । आफ्ना सामु अरुलाई होच्याएर बोल्ने व्यक्तिले अरु समक्ष आफूलाई पनि होच्याएर व्यवहार गर्छ भन्ने सिद्धान्त हामीले भुल्नु हुदैन । अरुलाई नोक्सान पुराएर आफूलाई सहयोग गरेको छ भने त्यसबाट निकै नै जोगिनु पर्ने हुन्छ । किनकि उसले जसरी आफूलाई सहयोग गरने नाममा अरुको नोकसान पुराएको छ त्यसै गरी आफूलाई हानी गराएर अरुको भालाइ सजिलै गर्न सक्छ भन्ने बुझ्नु जरुरी हुन्छ ।
हामीले जहिले पनि सम्झि रहनु पर्ने कुरा के हो भने कसैलाई सहयोग गरिन्छ भने पनि निश्वार्थ रुपमा गर्न सक्नु पर्छ । त्यसै गरी कसैको सहयोग लिइन्छ भने पनि त्यो वापत केही मूल्य चुकाउनु पर्ने अवस्था आउनु हुदैन । विभिन्न समयमा व्यक्तिले ग्रहण गर्ने पद अस्थायी हुन्छ । क्षणिक रुपमा आउने जाने पद तथा जिम्मेवारीको आधआरमा मित्रताको तुलना गरिनु हुदैन । मित्रता त्यस्तो स्थायी सम्बन्ध हो जुन सबै भन्दा नजिकको हुन्छ । आफ्ना बाबुआमा, दाजुभाइ, दिदिबहिनी, छोराछोरी आदिभन्दा धेरै नजिकको सम्बन्ध साथीहरूसँग रहन सक्छ । त्यस्ता साथीहरू ससाना कुराहरूबाट टाढिन पनि सक्दैनन र सामान्य लाभबाट बढि नजिकिन पनि सक्दैनन । व्यक्तिलाई साथीभाइ ईष्टमित्र सबैसँग टाढा पुराउने चिज भनेको शक्ति र पद हो । शक्ति र पदको प्राप्तिमा निश्वार्थ सहयोग पाइएको भए त्यसबाट मित्रतामा कुनै फरक पर्दैन तर पर्दा पछाडिको प्रभाव परेको रहेछ भने मात्र मित्रतामा फरक पर्नसक्छ । स्वार्थी मित्र त्यो पनि परनिर्देशित उसबाट कति सहयोगको अपेक्षा गर्नु । साथीको शक्तिको दुरुपयोग गरेर आफ्नो स्वार्थ सिद्ध गर्न सक्ने मित्रहरूले शक्तिमा रहुन्जेल मात्र सहयोग गर्छन् । तर असल मित्रले दुख वा सुखमा विना भेदभाव समान सम्बन्धका साथ निरन्तर साथ दिइनै रहेका हुन्छन् । त्यसैले मित्रको परिक्षण दुखमा समस्यामा परेको बेला गर्न सकिन्छ । त्यसकारण मित्र थोरै होउन तर असल निस्वार्थी होउन भन्ने कामना गरिन्छ ।
खुला नेपाल मा प्रकाशित