मानिसले आफ्नो इतिहासलाई सजिलैसँग बिर्सन खोज्छ तर जति बल गर्दा पनि बिर्सन भने सक्दैन । यदि हामीले हाम्रो बाटो, हामीले भोगेको विगतलाई चटक्कै बिर्सने प्रयास गरियो भने जीवनमा सबैभन्दा ठूलो भूल पनि त्यही हुनेछ । मान्छेले बिगतबाट सिकेर भविश्यको मार्गचित्र वर्तमानको प्रयास र मेहनतले बनाउनु पर्छ । बिगतलाई फर्केर हेर्ने शाहस यदि हामीले गरेनौँ भने कुनै पनि बेला दुर्घटनामा पर्न सकिन्छ । मानव जीवनको अर्को नाम हो संघर्ष । संघर्षले मात्र मानवलाई जीवित राख्न सक्छ । मानिसले जुन दिन संघर्षलाई अँगाल्ने हिम्मत हार्छ त्यो नै उसको अन्तिम दिन हुन्छ । अर्थात मानिसले आत्महत्या गर्छ । यो संसारमा बाँचेर के हुन्छ र भन्ने कमजोर मानसिकताको विजय प्राप्तिले नै मान्छेलाई समाप्त गराउँछ ।
यहाँसम्म आइपुग्न हाम्रो जीवनमा कोकसको केकस्तो योगदान छ भन्ने कुरा सधै भरी याद राखिरहनु पर्छ । सोही कुराले नै मानव जीवनमा उर्जा थपिरहेको हुन्छ । हामीले हाम्रो विगतलाई अध्ययन गरेनौँ भने भविश्यको यात्रा पनि तय गर्न असफल हुन्छौँ । जसको भविष्यको कुनै दिशा निर्दिष्ट छैन उसले संसारमा केही पनि गर्न सक्दैन । गन्तव्यहीन जिन्दगीले मानिसलाई बचाइ राख्न सक्दैन । जिवन जिउन आशावादि सोँच र लक्ष्यमूखि यात्रा अवश्य हुनु पर्छ । वर्तमानको प्रयोगले भविष्यको मार्गचित्र बनाउने र विगतको अनुभवले भोलिको यात्रामा अवरोधको कमि ल्याउने काम गर्न सकिन्छ । त्यसैले हामीले हाम्रो लक्ष्य तय गर्दा विगतलाई फर्केर हेर्नु पर्छ ।
वनको राजा सिंहले आफू आएको बाटोएक छिन उभिएर राम्रोसँग हेर्छ रे । त्यही कार्यलाई हाम्रा हरेक काममा प्रयोग गर्न गरिने प्रयासलाई नै सिंहावलोकन भन्ने गरिन्छ । हामीले कुनै काम गरेर त्यसको मूल्याङ्कन गरिने कामलाई अथवा हिजोका कामलाई विश्लेषणात्मक रुपले हेर्ने र त्यसबाट सिकेर भविष्यमा हिजोका कमिकमजोरीहरूलाई नदोहोर्याउने काम नै सिंहावलोकन हो । हाम्रो दैनिक जीवनमा सिंहावलोकनको प्रयोग भइनै रहेको हुन्छ । त्यसैलाई हामीले सही सदुपयोग गरिँदा जीवनमा ठूलो सफलता प्राप्त हुन्सक्छ । कुनै पनि कुराको कार्यान्वयन चरणमा कमि कमजोरी हुनु स्वभाविकै हो । संसारमा निरपेक्ष पूर्णता प्राप्त हुन सक्दैन । हरेक वस्तु सापेक्ष रुपमा ठूलो वा सानो हुन सक्छ । राम्रो वा नराम्रो पनि निरपेक्ष रुपमा मान्न सकिँदैन । यी सबै कार्यहरू तुलनात्मक हुन्छन् । अणु सानो हुन्छ । यो सुन्दा कसैलाई पनि असत्य लाग्दैन तर यो निरपेक्ष सत्य भने होइन । किनकि परमाणुभन्दा अणु सानो हुदैन । जुन बेला परमाणू र अणु संगै हुन्छन् त्यस बेला अणुलाई ठुलो हुन्छ भन्नु पर्ने हुन्छ । त्यसैले हरेक कुराको विशेषण सापेक्षतामा आधारित हुन्छ । कोही पनि जान्ने भयो भन्नेमा पनि उसको ज्ञानको निरपेक्षता हुनसक्दैन । व्यवहार, वस्तु, गुण वा दोष कुनै कुरा पनि एक्लै रहन सम्भव छैन । त्यसैले भूत, वर्तमान र भविष्य पनि एक अर्काबाट अलग्याएर मूल्याङ्कन गरियो भने अन्याय हुन्छ ।
कुनै पनि देश धनि वा गरिव भनेर घेरो लगाउने कार्य गर्ने निकायले तय गरेको मापदण्ड कसको अनुकुल छ त्यो ख्याल गरिनु पर्छ । यदि निर्माताले आफ्नो स्वार्थ नगाँसिकनै त्यसको प्रतिपादन गरेको रहेछ भने मात्र त्यो मान्य हुनसक्छ । सम्पन्न वा विपन्न देखिनु हेराइमा निर्भर रहन्छ । कुनै पनि चिजको प्रयोग कसरी गरिन्छ भन्नेले त्यसको महत्व निर्धारण ग्छ । नदिमा पानीको बहावले कसैको केही बगाएर नोक्सान पुराएको छैन भने त्यसलाई बाढि भन्नु पर्दैन । बाढि हुनुको लागि त त्यसले बगाएर लैजानु पर्ने हुन्छ । यदि कसैको केहि बगाउने काम नदीबाट भएको छैन भने त्यो नदीमा बाढि आए नआएको कसैलाई महशुस हुँदैन । बाढि पनि निरपेक्ष नभइ सापेक्ष हुनसक्ने रहेछ भने हाम्रो जीवनमा आइ पर्ने अन्यकुराहरू निरपेक्ष हुन्छन् भन्न सकिने अवस्था हुदैन ।
हामीले सधै भरी सकारात्मक सोँचका साथ जीविकोपार्जन गर्न सिक्नु पर्छ । मानिसलाई आफूले गरेका सबै काम राम्रा लाग्न सक्छन् तर नजानेर कैयौँ काम गलत गरिदै आएको पत्तै पाइन्न । त्यसैले हामीले जे गर्छौँ त्यसको सोसल अडिट अनिवार्य रुपमा गरिनु पर्छ । मान्छेले आफ्नो कमिकमजोरी सकेसम्म ढाक छोप गर्न खोज्छ । त्यसलाई अप्राकृतिक मान्न पनि मिल्दैन । संसारमा कसैलाई पनि आफ्ना विरुद्ध साक्षी बस्न कर लाग्दैन । अर्थात कुनै पनि व्यक्ति आफ्नो रक्षाका निम्ति सधै योग्य नै मानिन्छ । आफ्ना विरुद्ध बोल्न कसैलाई पनि कानूनले बाध्य पार्न सक्दैन । त्यस कारण मानव जिवनमा हुने गरेका सबै काम समाजबाट अनुमोदन भए पछि सुरक्षित मानिन्छन् । समाजले स्वीकृती प्रदान गरेको कुनै पनि काम गैर कानूनी मानिन्न । त्यसैले यसमा पनि सापेक्षताको अनुभूति रहेको हुन्छ । कुनै काम त्यो समाजमा ग्राह्य छ तर अर्को समाजले त्यसलाई सजिलै स्वीकार्दैन भने त्यहाँ त्यो कार्य अवैध हुनसक्छ । किनकि त्यो समुदायमा त्यसको वैधता कायम हुन सकेन । यदि वैधता कायम गराउन सकियो भने जस्तो सुकै कठिन काम पनि परम्पराको रुपमा स्थापित हुनसक्छ ।
राज्यले निर्माण गर्ने विधायिकी कानूनहरू पनि समाजबाट अनुमोदित भएका र सर्व स्वीकृत छन् भने कार्यान्वयनको कुनै समस्या पर्दैन तर सामाजिक मूल्य र मान्यता भन्दा विपरित ठानेर समाजले ग्रहण गर्न सकेन भने जतिसुकै राम्रो काम भए पनि त्यसलाई समाजमा सामाजिक मूल्य र मान्यता साथ स्थापित गर्न सकिने अवस्था आउँदैन ।
हामीले गरेका सबै कामहरूलाई समाजले विस्तृत रुपमा अध्ययन गरिरहेको हुन्छ । हामीलाई लाग्न सक्छ हाम्रा बारेमा समाज अनभिज्ञ छ तर समाजमा त्यसले पारेको असर समुदायले कुनै पनि हालतमा बेवास्ता गरेको हुँदैन । समाज सधै सचेत अवस्थाबाट अगाडि बढि रहेको हुन्छ । त्यसैले हाम्रो परम्परादेखिनै सरजमिन मुचुल्का बनाउने प्रचलन कायमै छ । आजको वैज्ञानिक भनिएको जमानामा पनि सरजमिन मुचुल्काको स्थान उत्तिकै उच्च रहेको छ । ल्याव परिक्षण रिपोर्टको विश्वसनियता भन्दा गाउँका भद्र-भलाद्मीहरूले सक्कली रुपमा उठाएको मुचुल्काको वैधानिकता बढि हुन्छ । समाजले कहिल्यै पनि सामुहिक रुपमा झुटको अवलम्बन गर्न सक्दैन । कोही व्यक्ति कसैको प्रलोभनमा पर्न सक्छ तर समुदाय सिङ्गै अबाटो हिड्न सक्दैन । यसै गम्भिर तथ्यका कारण सदियौँदेखि चलिआएको सरजमिन प्रकृया आज पनि उत्तिकै विश्वसनीय अवस्थामा कायम रहन सकेको छ । यदि यो कुरालाई हामीले फर्केर हेर्न सकेनौँ र कुनै विन्दुमा आएर भावनामा बहकिएर लत्यायौ भने समाजमा ठूलो दुर्घटना हुन सक्छ ।
हरेक घटना कुनै न कुनै तथ्यसँग जोडिएर आएको हुन्छ । अहिलेसम्म पनि रसायनको कम्पोजिसन मिलाएर कुनै मानवको सिर्जना गर्न सकिएको छैन । मानव जीवनका लागि मानवसेलकै विकासको खाचो पर्छ । कुनै सजिवलाई हाइव्रिड बनाउन सकिएला तर निर्जिव रसायनबाट प्राणीको उत्पादन गरेको इतिहास अहिलेसम्म छैन । त्यसैले हाम्रा प्रत्येक व्यवहार विगतसँग जोडिएर आएका हुन्छन् । हामीले तिनिहरूलाई सोही दृष्टिकोणबाट हेर्नसक्नु पर्छ । शुन्यबाट कुनैपनि पदार्थ पास भएर गएको हुँदैन । यसका लागि कुनैनकुनै माध्यम हुनु आवश्यक छ । हाम्रा व्यवहारहरू पनि यसै गरी बिगतदेखि परिमार्जित हुँदै आएका छन् । त्यसैले मानिसले आफ्नो बानी एकैचोटि बदल्न सक्दैन । उसलाई आफ्नो बानीमा परिवर्तन ल्याउन विस्तारै अभ्यासको खाँचो पर्छ । कालान्तरमा आफ्नो पूरानो व्यवहार सम्झेर अचम्म लाग्न सक्छ । कसरी यति ठूलो परिवर्तन गर्न सकिएहोला भन्ने लाग्न सक्छ । यदि मानिसले आफ्नो पूरानो व्यवहारको सम्झना गर्न विर्सियो भने उसमा अनावश्यक घमण्ड उत्पन्न हुन जान्छ र उसको विनासको शुरुवात हुन्छ । त्यसैले हामीले हाम्रो विगतबाट नराम्रा कुराहरूलाई बानीकै रुपमा रहेको भए पनि हटाउँदै जानु पर्छ र नयाँ कुरालाई अप्ठ्यारै अवस्थामा भए पनि अँगाल्दै जानु पर्छ । जीवनको सिँहावलोकन गर्न सकुयो भने आफू सहजै सफलता तर्फ उन्मुख हुन सकिन्छ ।
त्यसैले हामीले आफ्नो दैनिक जीवनमा प्रयोग गरिरहेका विभिन्न कुराहरू, हाम्रा बानी व्यहोराहरू, इतिहासले हामीलाई दिएर गएका अनुभवहरू समेतका आधारमा असल समाज निर्माण गर्ने प्रयत्न गरिरहनु पर्छ । आफ्नो जीवनका अनुभवहरू सबैभन्दा ठूला ल्यावटेष्टका रिपोर्टहरू हुन् भन्ने कुरा कहिल्यै विर्सनु हुदैन । जीवनको यात्रा तय गर्दा विगतका राम्रा तथा कष्टकर जस्तासुकै क्षणहरूको पनि स्मरण गर्न चुक्नु हुँदैन । अवसर अप्ठ्यारोमा नै रहेको हुन्छ । नाफा जसरी जोखिमको गर्भबाट मात्र जन्मन्छ त्यसरी नै यश पनि अप्ठ्यारो भित्रै लुकेको हुन्छ । हामीले सत्यलाई अगाल्नु पर्छ तर अप्ठ्यारोसँग डराउनु हुँदैन । सफलताको निम्ति विर्सनै नहुने रहस्य हो विगतलाई फर्केर हेर्दा !
खुला नेपाल मा प्रकाशित