विद्यार्थीलाई ज्ञान दिएर सक्षम बनाउनु शिक्षकहरूको काम हो । यदि शिक्षकले राम्रो ज्ञान प्रदान गर्न सकेन भने विद्यार्थीले पनि आफूलाई अब्बल सावित गर्न सक्दैन । त्यसैले हरेक शिक्षक शैक्षिक रूपमा पूर्ण सकारात्मक सोचको हुनु पर्छ । विद्यार्थीहरू बिचको व्यवहारलाई सुक्ष्म अध्ययन गरी न्यायपूर्ण व्यवहार गर्नु हरेक शिक्षकको प्रमुख दायित्व हो । यदि शिक्षकको मनोवृत्ती निष्पक्ष छैन भने उसले सबै विद्यार्थीलाई समान व्यवहार गर्न सक्दैन । विद्यार्थीहरू बिच भेदभावपूर्ण व्यवहार हुन थाल्यो भने सिकाइ प्रतिशोधमा परिणत हुन सक्छ । व्यवहार जो सँग गरिन्छ उसले सहजता महशुस गर्न सकेन भने त्यस्तो व्यवहार आफैलाई हानीकारक हुन्छ । हामीले जहिले पनि अविभेदको नीति अबलम्बन गर्नु पर्छ । आफूमा रहेका कमिकमजोरीहरूलाई आफैले पहिचान गरी परिवर्तन गरेर सच्याउँदै लैजानु पर्छ । हाम्रा पूराना गुरुकुल शिक्षादेखिकै परम्परा भनेको गुरुका सामु सबै विद्यार्थी समान हुनु पर्ने आदर्श थियो । राजा वा प्रजा, धनि वा गरिब, ठूला वा साना परिवारका सबै विद्यार्थीहरू गुरुको दृष्टिमा समान हुने परम्परा आदर्शकै रुपमा चलिआएको छ । यसैले गर्दा शिक्षक मनोवृत्तिगत हिसाबले पूर्ण र सकारात्मक हुनु पर्छ भनिएको हो । शिक्षकको व्यवहार असाध्यै सामान्य, सहज, अनुकरणीय समेत हुनु पर्छ । उसको बौद्धिकता र जीवनशैली सबैका अनुकरणिय हुनु जरूरी छ । हरेक शिक्षकले जे गर्छ त्यो समुदायमा संस्कृतिको रुपमा विकास हुन सक्छ । शिक्षाको माध्यमबाट अज्ञानको अन्धकारलाई विस्तारै चिर्दै ज्ञानको उज्ज्यालो छर्दै जानु शिक्षकको प्रमुख दायित्त्व हो । त्यसैले सबैले भन्ने गर्छन् मनोवृत्ति ठिक छ भने मात्र हामिले समाज परिवर्तन गर्न सक्छौँ । मनोवृत्तिले एउटा शिक्षकलाई सबैकुराले पूर्णता तर्फ उन्मुख गराइ रहेको हुन्छ ।
विद्यालय शिक्षाको प्रारुप कस्तो हुनु पर्छ भन्ने बारेमा विशेष प्रकारले छलफल हुनु पर्छ । जसको परिणाम स्वरुप यथार्थ र जिवनोपयोगी शैक्षिक सिकाइ शुरु हुनजान्छ । शिक्षा पद्धतिले समाजको यथार्थ र वास्तविक स्वरुपको ऐना देखाइ दिन्छ । यसरी शिक्षाको अवस्थाबाट देश र समाजको चेतनास्तरको परिस्थितिलाई बुझ्न मद्दत गर्छ । हाम्रो समाज र देशको अगुवाइ गरेका व्यक्तिहरू यथास्थितिवादि चिन्तनबाट ग्रस्त छन् भने उनिहरूले समाजमा परिवर्तन ल्याउन चाहँदैनन् । सत्ता सधै यथास्थितिमा रहिरहन चाहने सोचको हुन्छ । त्यसैले उपभोक्ता अथवा प्रयोगकर्ताहरू सधै परिवर्तित अवस्था चाहन्छन् तर शासक अर्थात सत्तासिनहरूले त्यसको विरोध गरिरहेका हुन्छन् । विश्वका अन्य मुलुकहरूमा कस्तो छ तर हाम्रो देशमा हाम्रा राजनेताहरू सहजै शैक्षिक परिवर्तनको पक्षमा रहेको देखिदैन ।
हामीले शिक्षालाई व्यवहारिक बनाउनु पर्छ । व्यवहारिक शिक्षाले नै समाजमा परिवर्तनको मार्ग प्रसस्त गर्न सक्छ । शिक्षा व्यवहारिक सँगसँगै व्यवसायिक हुन सकेमा उत्पादक पनि हुन सक्छ तर हाम्रो देशमा शिक्षा व्यवहारिक, व्यावसायिक भन्दा पनि व्यापारको रुपमा मौलाएको छ । हाम्रो शिक्षालाई व्यवसायिक बनाएर लैजान सकियो भने मात्र निर्वाहमुखि उत्पादनलाई निर्यातमुखि बनाउन सकिन्छ । हाम्रो समुदायको विद्यमान आवश्यकता के हो ? सोको पहिचान गरेर मात्र शैक्षिक योजनाहरू निर्धारण गरुयो भने बल्ल देशले मुहार फेर्न सक्ने आशावादि बन्न सक्छ । शैक्षिक आवश्यकताका बारेमा सर्वप्रथम अध्ययन र अनुसन्धान हुनु पर्छ । हिजो हाम्रो समाजको आवश्यकता जस्तो थियो आज त्यही मात्र रहँदैन । समयको गति सँगै आवश्यकता पनि फेरबदल भएको हुन्छ । समय र विकासले सधै परिवर्तनको अपेक्षा गरेको हुन्छ । समय कहिल्यै विश्राम गर्दैन । त्यसैले समयसँगै आफूलाई हिडाउन सक्ने मान्छे मात्र सजिव रहिरहन सक्छ । विशेष गरी शैक्षिक क्षेत्रमा कार्यरत रहने व्यक्ति सधै सिकाइ उन्मुख रहनु पर्छ जसले गर्दा समय सापेक्ष आफूलाई अद्यावधिक गराइ रहन मद्दत पुगेको हुन्छ ।
अर्को कुरा शिक्षक मनोवृत्तिगत रुपमा सकारात्मक छ तर उसको ज्ञानको कमि छ भने उसले सोँचे अनुसारको उपलब्धी हासिल गर्न सक्दैन । उसमा विषय वस्तुको पूर्ण ज्ञान हुनु पनि उत्तिकै आवश्यक छ । त्यसैले भन्ने गरिन्छ कि शिक्षक ज्ञानको भण्डार हुन् । शिक्षकले जहिले सुकै आफूलाई नयाँनयाँ खोज अनुसन्धानबाट परिपूर्ण गरिराख्नु पर्छ । संसार परिवर्तनशील छ । विकासको नियम पनि त्यही हो । परिवर्तनले ल्याएको नयाँ र अप्ठ्यारोसँग जुझेर आफूलाई अद्यावधिक गराइ राख्न सक्ने शिक्षक मात्र योग्य शिक्षक हो । समयसँग दरविला हातहरू हुन्छन् । यात्रा क्रममा समयले सबैलाई आफ्ना ती दह्रा हातहरू दिएको हुन्छ । जसले ती हातहरूमा समाएर समयका साथ हिड्न सक्यो त्यो कहिल्यै पछि पर्दैन । जसले समयको हात छोडेर आफ्नै सूरमा भौतारियो उ या त रित्तै रहन्छ या त अनावश्यक चिजबाट उसको दिमाग भरिन्छ । त्यसैले हरेक शिक्षकले समयानुकुल शैक्षिक परिवर्तन र त्यसका निम्ति आवश्यक सङ्घर्षका निम्ति तयार रहनु पर्छ । नवजात शिशु काखमा खेलाउनुपूर्व प्रशवपीडा त सहनै पर्छ । शिक्षकको संघर्ष ज्ञानको प्रशवपीडा हो ।
अर्को कुरा शिक्षक मनोवृत्तिगत रुपमा सकारात्मक छ, ज्ञानले पनि निपूर्ण छ तर उसमा त्यो ज्ञान वितरणको उपयुक्त सिप छैन भने त्यस्तो शिक्षक पनि अपूर्ण नै रहन्छ । त्यसैले शिक्षकलाई हमेशा तालिमको व्यवस्था गरी धारिलो खुकुरी जस्तै चम्किलो बनाइनु पर्ने हुन्छ । आफूमा रहेको ज्ञानलाई कुशल तरिकाले विद्यार्थीहरू माझ पस्किन सक्नु शिक्षकको अर्को महत्त्वपूर्ण क्षमता हो ।
ज्ञानको भण्डार असिमित छ, उसको सोंच पनि पूर्णरुपमा सकारात्मक छ तर उसले आफूमा निहित ज्ञान सागरलाई सुमधुर, रोचक र सरल तरिकाले विद्यार्थीहरूलाई उपलब्ध गराउन सकेन भने त्यस्तो ज्ञान अनुत्पादक हुन सक्छ । ज्ञान पनि कलात्मक तरिकाले प्रस्तुत गरेमा मात्र विद्यार्थीहरू लाभान्वित हुन सक्छन् । प्रस्तुतिलाई कलात्मक र रोचक बनाउने काम सिपर अनुभवले मात्र गर्न सक्छ । सिप मानिसको निखारबाट तयार हुने कला हो । सोही कलाको चमत्कारिताबाट उसले आफूलाई अब्बल सावित गर्न सक्छ । अहिले सबै क्षेत्र निकै प्रतिस्पर्धी बनिसकेका छन् । कुनै त्यस्तो क्षेत्र छैन जहाँ कडा प्रतिस्पर्धा नहोस् । त्यसैले हरेक शिक्षकले आफूमा निहित ज्ञानलाई रोचक तरिकाले विद्यार्थीहरू बिचमा प्रस्तुत गर्न सक्ने कलाको विकास गर्नु पर्छ ।
एउटा शिक्षकले देशको नागरिक कस्तो उत्पादन गर्ने भन्ने चिन्तन गर्न सक्छ । शिक्षकले जे बनाउन चाह्यो विद्यात्थी त्यही बन्ने गर्छ । विद्यार्थीको रुचिमा शिक्षकको मार्ग निर्देशनले गर्दा माध्यमिक शिक्षा उत्तीर्ण गरेको एउटा सामान्य विद्यार्थी चार वर्ष पछि मान्छेलाई चिरफार गर्न सक्ने सर्जन बनेर निस्कन्छ । अथवा सोही विद्यार्थी चार वर्ष शिक्षकको मार्ग निर्देशनबाट सक्षम इन्जिनियर बन्न सक्छ । त्यसैले शिक्षकले मानिसलाई जे बनाउन चाहन्छ सो बनाउन सक्छ । नैतिक मर्यादा आदिको उचित ज्ञान दिने वातावरण यदि शिक्षकलाई राज्यले मिलाईदिन सक्यो भने शिक्षकले देशलाई आवश्यक पर्ने उत्तम गुण सहितको सक्षम राजनेता बनाएर दिन किन सक्धैन ? अवश्य सक्छ । त्यसको लागि सर्वप्रथम शिक्षक उच्च मनोबलको, सकारात्मक मनोवृत्तिको, ज्ञानले निपूर्ण र सिपले दक्षतायुक्त बनाइनु पर्छ । त्यसै गरी समय सापेक्ष शिक्षा पद्दतिको पनि व्यवस्था हुनु पर्छ । सबैलाई निर्दिष्ट गर्ने विधि अझ राम्रो र प्रभावकारी हुनु पर्छ । यदि त्यस्ता कुराहरू उपलब्ध हुन सके भने एउटा शिक्षकले ततकालिन समाजलाई आवश्यक पर्ने उपयुक्त पात्र उत्पादन गरिदिन सक्छ । जसरी माहुरीले आफूलाई आवश्यक पर्ने ज्यामी मौरी, भाले वा रानी मौरी आफ्नै इच्छा अनुसार उत्पादन गर्न सक्छ त्यसै गरी सक्षम शिक्षा प्रणालीमा एउटा योग्य शिक्षकले जुन क्षेत्रमा जति जस्तो आवश्यकताका नागरिकहरू चाहिने हो सो सजिलैसँग उत्पादन गर्न सक्छ । त्यसको लागि उपयुक्त शिक्षा पद्धति र योग्य व्यक्ति शिक्षक बन्ने वातावरण राज्येले बनाउनु पर्छ ।
अतः सरकारले समय सापेक्ष शिक्षा प्रणाली, युगानुकुल ज्ञान सिप तथा दक्षताले निपूर्ण शिक्षक र समुचित वातावरण विलाउन सक्यो भने देश विकासहुनुमा कसैले कुनै हिसावले पनि अवरोध गर्न सक्दैन । दृढ र सवल सोचका अगाडि अन्य कुराहरू गौण हुन जान्छन् । त्यसैले सबैभन्दा पहिले शिक्षकहरूको मनोबल उच्च राख्नको लागि आवश्यक व्यवस्था राज्यले शुरु गर्नु पर्छ । त्यसबाट सामान्य रुपबाटै समाज परिवर्तन भइ मुलुक विकासको गति तर्फ लाग्नेछ ।
खुला नेपाल मा प्रकाशित