मानिसले सधै भरी सकारात्मक सोँच लिन सक्यो भने उ सधै सुखी र खुसी रहन सक्छ । मानव मष्तिष्कमा विभिन्न समयमा विभिन्न किसिमका सोंचहरू आउने गर्छन् । त्यस्ता सोंचहरू जबसम्म मान्छेले कार्यान्वयनमा ल्याउँदैन तबसम्म ती सोंचहरूले स्वयम् उसैलाई र अरु कसैलाई पनि लाभ वा हानी पुर्याउँदैनन् । विचार र सोंच आफैमा अमूर्त कुरा हुन् । अमूर्त कुरालाई मूर्त रुप प्रदान गर्नको लागि त्यसको कार्यान्वयन आवश्यक हुन्छ । मानिसले सोचेका सबै कुरा व्यवहारमा उतार्न सम्भव छैन । यदि मानिसले सम्भाव्य सोच लिन्छ भने त्यसलाई सजिलै व्यवहारमा उतार्न पनि सक्छ । कसले कस्तो सोच लिएको छ भन्ने कुरा उसले देखाउने व्यवहारबाट मात्र थाहा पाउन सकिन्छ । त्यसैले चिन्तन मनन गर्दा सधै हामीले व्यवहारिक भएर सोच्नु पर्छ । मानिसले आफूलाई सुखी राख्न सरल र सामान्य जीवन परिकल्पना गर्नु पर्छ । त्यसो भन्दैमा यथास्थिति मै सन्तोष भएर परिवर्तनको सोंच लिनु हुदैन भनेको होइन । मानिसले आफूसँग भएको चिजबाट आनन्द लिन सक्दैन र उसले अप्राप्य कुरामा आफूलाई दुःखी बनाइ रहेको हुन्छ ।
मानिसलाई हर समय खुसी रहिरहन विभिन्न कुराहरूले बाधा पुर्याइरहेका हुन्छन् । मानिसले अरुको कुरामा आफूलाई दुखी सम्झेर पनि अनावश्यक बोझ लिइरहेको हुन्छ । यदि हामीले आफ्नो बारेमा अरुले गरेको टिप्पणीमा दुखी हुने परिवेशबाट एक सिँढि माथि उक्लिएर विचार गर्न सकियो भने मात्र आफू सधै सुखि रहि रहन सकिन्छ । भोलिका सम्भाव्य दुःख, समस्या, अभाव आदिको पूर्वानुमान गरी आफूलाई मानसिक रुपले अनावश्यक बोझ थप्ने काम भइ रहेको हुन्छ । कसैले आफूलाई प्रशंशा गरिदियो भने आफू खुसी हुने र कसैले आफ्नो काम, बानी, व्यवहार आदिका बारेमा उसको मनमा लागेका कुरा व्यक्त गर्यो भने त्यसले आफूलाई चोट पुर्याएको सम्झेर दुखि हुने जस्ता ब्यवहारले मानव जीवनमा सुख र शान्तिको वातावारण बनाउन सक्दैन । फलानाले मेरो मुड अफ गरिदियो भन्ने कुरा हामीले धेरैपटक सुनेका मात्र छैनौं भनेका पनि छौँ । के मानवका मुडको स्विच अरु कसैको हातमा हुन्छ ? उसले चाहेको बेला अफ वा अन गरिदिने ? के हामीले अरुले हाम्रो मुडको स्विच अफ वा अन गर्न नमिल्ने गरी मुडलाई आफ्नै नियन्त्रणमा राख्ने व्यवस्था मिलाउन सक्दैनौं ? यी गम्भिर प्रश्नहरूको उत्तर अहिलेसम्म पाइएको छैन ।
यस्ता सबै कुराहरू मानिसको सोचले निर्धारण गर्छ । हामीले आफ्नो सोच कस्तो बनाएका छौ त्यस अनुसारको बुझाइ हुन सक्छ । हामी रातको अँध्यारोमा एक्लै हिडिरहेको समयमा बाटामा देखिने विभिन्न किसिमका छायाहरूले विभिन्न डरलाग्दा जनावर आदिको रुप लिए जस्तो लागेको हो । तर ति विभिन्न वस्तुका छायाहरूले विभिन्न रुप लिएका हुदैनन । हाम्रो सोचले मात्र ती निर्जिव आकृतिहरूलाई बाघ वा भूत वा मानिस वा अन्य के के सम्झेर मन निरर्थक रुपमा भयभित गराइ रहेका हुन्छौं । हामीले विभिन्न आकृतिहरूलाई आफ्नो मनमा रहेको विचारले निर्देशित गरे बमोजिमका स्वरुपमा सोचेर, देखिएको भानमा अल्मलिएर आफूलाई अनावश्यक रुपमा भयभित तुल्याइ रहेका हुन्छौं । यसरी मनमा त्रास उत्पन्न गराउने पहिलो हाम्रो सोंच नै हो । त्यसैले सोचलाई आफ्नो नियन्त्रणमा राख्न सकियो भने मुडको स्विच पनि आफू सँगै रहने र कसैले पनि आफूलाई दुखी तुल्याउन नसक्ने अवस्था सिर्जना हुन्छ । वास्तविक रुपमा रहेको वस्तुलाई सोहि रुपमा सोच्न नसक्दाको परिणामले हामीलाई सधै भ्रमित रुपमा राखी दुखी बनाउन सक्छ । त्यसैले सोच सधै सकारात्मक लिइयो भने यस्ता समस्याहरूबाट सहजै मुक्ति पाउन सकिन्छ । त्यसै गरी यदि हामीले बाटोमा लम्पसार परिरहेको सर्पलाई डोरीको रुपमा सोचियो भने त्यसबेला मनमा कुनै डर लाग्दैन । किनकि हामीले सर्प भन्ने सोचेकै छैनौं । हामी कुनै पनि डोरीसँग त कहिलै पनि डराउँदैनौ । बाटोमा रहेको सर्प आफैमा डोरी होइन । यदि हामीले डोरीको रुपमा उसलाई कुल्चियो भने उसले हामीलाई आक्रमण गरी ज्यानै लिन पनि बेर लगाउँदैन । तर हामीमा रहेको सोंचले त्यसलाई डोरीको रुपमा सोचिएको हुनाले मात्र मनमा डर नलागेको हो । हामीमा उमङ्ग वा डर हाम्रो सोचले बनाइ दिने रहेछ भन्ने कुरामा द्विविधा राख्न पर्दैन ।
मानिसले अधिकांश समय अरुको व्यवहार प्रति चिन्तन गरेर बिताउँछ । यसो गरेर समय बरवाद गर्नुको सट्टा कुनै नविन सम्भावनाको खोजिमा आफ्नो सोचाइ केन्द्रित गर्न सकियो भने त्यसले आफुलाई सुख दिन्छ । तर मानवीय स्वभाव भन्दै कसैले सानो टिप्पणी यदि गरि हाल्यो भने आफ्नो सम्पूर्ण शक्ति प्रयोग गरी उसको धज्जि उडाएर आत्म सन्तुष्टि महशुस गरिन्छ । जीवनमा आफूसँग रहेको सवल पक्षको आडमा आफुलाई अगाडि बढाउन खोज्ने मानिस सधै सुखी अवस्थामा रहन सक्छ । तर आफूमा निहित अपार शक्तिलाई अवमूल्यन गरी अरुको सोंचमा रुमलिनाले गन्तव्यसम्म पुग्न कठीन पर्छ । आफूमा आउने सोच विचारलाई गौण सम्झेर अरुको विचारमा अभ्यस्त हुन खोजेर धेरै मानिसहरू दुखको भुमरीबाट बाहिर निश्किन सकेका छैनन । आफ्नो विचार संसारमा सबैभन्दा सर्वोपरी हुनसक्छ । तर हामीले त्यसलाई नजिकबाट बुझ्न सकिरहेका छैनौ । यदि आफूमा उत्पन्न हुने सकारात्मक सोंचलाई कसैले उचित समयमा उपयुक्त स्थान दिन सकेन भने उसले अन्यत्र नयाँ कुरा खोजेर हिड्नु भनेको समयलाई बर्वाद गर्नु मात्र हो । त्यसैले हामी सर्व प्रथम आफूमा उत्पन्न हुने विचारलाई गम्भिर रुपले मनन गर्नु पर्छ । त्यस पछि मात्र अन्य कुराहरूको खोजिमा लाग्नु पर्छ । सधै हामीले आत्म सम्मानलाई मान्यता दिन सक्नु पर्छ । यदि आफू भित्रै विहङ्गम स्रोत छ भने उसैको खोजिमा बाहिर किन भौतारिनु ।
कस्तुरीको गन्धका प्रभावले जङ्गलमा अलमलिइ रहने मृग जस्तै मानिसले पनि आफ्नो आन्तरिक क्षमता पहिचान गर्न नसकेर बाह्य शक्तिको खोजिमा घुम्दै महत्वपूर्ण समय खेर फाल्नु हुदैन । सबैभन्दा महत्त्वपूर्ण शिक्षा भनेको आफूले आफैलाई चिन्न सक्ने क्षमताको विकास गर्नु पर्छ । यदि आफू भित्रको क्षमता पहिचान गर्न सकियो भने संसारलाई यथार्थ विश्लेषण गर्ने क्षमता पनि विकास गर्न सम्भव रहन्छ । जसले आफूलाई नै पहिचान गर्न सक्दैन उसले चिनेको संसारले उसलाई कुनै काम दिँदैन । प्रकृतिले मानवलाई विशेष स्थान सहितको प्राणीको रुपमा स्थापित गरेको छ । तर मानिसले प्रकृतिलाई निकैनै वेवास्ता गरिरहेको छ । त्यसैको फलस्वरुप विश्वमा वर्षेनी अनेकौं प्रकोप, महामारी, संकट आदि आइलाग्दछन् । हामीले प्रकृतिको आवश्यक सन्तुलनको ख्याल पुराउन सक्नु पर्छ । प्रकृतिमा वैज्ञानिक अदृष्य शक्ति निहित रहेको हुन्छ । त्यसैका प्रभावले प्रकृतिले सजिवको सिर्जना गर्न सक्छ । मानिसले त्यस्तो महत्वपूर्ण तथ्यको वेवास्ता गरिरहेको पाइन्छ । त्यसो गरिनु मानव मात्रको होइन संसारका सबै सजिव प्राणीहरू प्रतिको अन्याय हो । त्यसैले होला हाम्रा अग्रजहरूले विभिन्न बहानामा प्रकृतिका हरेक प्राणी वा सम्पदालाई देवता स्वरूप पूजा गर्ने गरेको । हामीले रुढिवादका नाममा छोडेका कैयौ कुराहरु प्रकृति संरक्षणसँग गाँसिएका छन् । धार्मिक जस्ता देखिने हाम्रा दैनिकीहरू प्रत्यक्ष रुपमा मानव स्वास्थ्यको अबिन्न अङ्गको रुपमा स्थापित गरिएका रहेको कुरा हाल आएर प्रमाणित हुदै गएका छन् ।
अतः हामीले मानव जीवनलाई सुखी र खुसी राख्न प्राकृतिक नियमलाई परिपालना गर्नु पर्ने रहेछ । प्राकृतिक न्यायले व्यक्तिलाई आफ्नो विरुद्ध बोल्न कर लगाएको छैन । अर्थात आफ्नो आत्माले देखेको कुरा उसको लागि सबै भन्दा महत्त्वपूर्ण छ । अपराधीलाई पनि आत्म रक्षाको अधिकार प्राप्त छ । यीनै महत्वपूर्ण तथ्यहरूबाट प्रमाणित हुन्छ कि मानिसले आफ्नो निम्ति आफूले सोचेको सोच नै सबैभन्दा महत्त्वपूर्ण हुने रहेछ । आफूले आफूलाई स्थापित गर्न आफ्नो विचारलाई प्रस्ट रुपमा राख्न सक्नु पर्ने रहेछ । आफूमा उत्पन हुने विचारले अरुलाई हानी नपुर्याओस भनि विभिन्न दृष्टिकोणले आफ्नो अवधारणालाई निखार्नु बुद्धिमानी हुन्छ । मानिसले लिने सोच नै उसको मार्गदर्शक हो । त्यसैले हामीले हाम्रो बाटो कस्तो बनाउने भन्ने हाम्रो सोचमा निहित रहन्छ । यदि सकारात्मक सोचका साथ अघि बढिएको छ भने परिणाम पनि सकारात्मक नै आउछ । नकारात्मक सोचले हामीलाई निर्देशित गरेको छ बने हाम्रा सबै व्यवहारहरू पनि त्यसै किसिमका हुन्छन् । मानव मष्तिष्कमा सुषुप्त अवस्थामा रहेको विचारलाई हामीले सकारात्मक सोचका माध्यमबाट बाहिर निकालियो भने त्यसले समाजमा सकारात्मक ऊर्जा प्रदान गर्छ । आफ्नो विचारले आम जगतलाई सन्तुष्टि प्रदान गर्दछ भने मानिस खुसी र सुखी हुन सक्छ ।
खुला नेपाल मा प्रकाशित