Lalitpur Metro-9, Chyashal Balkumari, Lalitpur, Nepal
12 Months, 7 Days & 24 Hours Available for all.
+977 985 109 8889
डा. लक्ष्मणप्रसाद ज्ञवाली, नेपालको प्रथम नेत्रहीन अधिवक्ता The first Blind Advocate of Nepal Dr Laxman Prasad Gnawali.

आफू, कर्तव्य र समय

मानिसले आफ्नो निहित स्वार्थका निम्ति आफू रहेको स्थानलाई नोक्सान हुने काम गरेको हुन्छ। यस्तो गरिनु आत्मघाती प्रवृत्ती हो । कसैले पनि आत्मघाती कृयाकलाप गरेर भविष्य निर्माण गर्न सक्दैन। कसैले पनि आफू रहेको धर्ती, आमा र आफूलाई पालनपोषण गर्ने नोकरी वा जागिर वा पेसाव्यवसाय प्रति आत्मघाती व्यवहार गर्छ भने उसले जीवनमा कहिल्यै पनि सुख, शान्ति र खुशि प्राप्त गर्न सक्दैन । हामीले हाम्रो समाजमा कैयौ मानिसहरू देखेका छौ जसले आमालाई अपमान गरेर अमन चयन खोजिरहेका हुन्छन् । तर त्यस्ता व्यक्तिहरूले कहिल्यै पनि आत्म सन्तुष्टि पाउन सकेका हुदैनन । आफ्ना सन्तानहरूलाई माया गर्ने र अभिभावकहरूलाई अवहेलना गर्ने मानिसहरुले देखिदा राम्रै देखिए पनि शान्तिको स्वास फेर्न सकेका हुदैनन । त्यसै गरी पृथ्वीको संरक्षणमा ध्यान नदिने व्यक्ति पनि कहिल्यै सन्तुष्ट रहन सक्दैन । आफ्नो घर, समाज र मुलुक सबैलाई सम्मान गर्न नसक्ने व्यक्तिले कुनै समयमा पनि सम्मानपूर्ण जीवन यापन गर्न सकेको हुदैन ।  ठीक त्यसै गरी आफूले अगालेको पेसालाई मर्यादा नगर्ने मानिसले पनि जीवनमा कहिल्यै प्रगति गर्न सक्दैन। जस्तोसुकै भए पनि आफूलाइ पाल्ने पेसा सबैभन्दा ठूलो हुन्छ । त्यसको मर्यादा गर्नु सबैको पहिलो कर्तव्य हुन्छ । यदि कसैले आफ्नो पेसालाइ अपहेलना गरी अन्य कुनै कुरामा अल्मलिन्छ भने उसले जीवनमा सबैभन्दा ठूलो भूल गर्दैछ । त्यसैले हामीले पृथ्वी अर्थात आश्रयस्थल, आफूलाई संसार देखाउने आमा र पालनपोषण गरेर बचाउने पेसा प्रति सधै वफादार र इमान्दारता पूर्वक व्यवहार गर्नु पर्छ ।

हाम्रो समाज हिजोआज आयातित संस्कृतिबाट ग्रस्त छ । हामीले युगौदेखि मान्दै आएका हजारौं मूल्य र मान्यताका आधारमा हाम्रो व्यवहार धानिएको छ ।  हाम्रा मूल्यमान्यतामा केही गडबडि हुने बित्तिकै आफ्ना धेरै पुस्ताहरूसम्म नकारात्मक असर पर्न जान्छ । संस्कृतिले मानिसलाई धेरै तरिकाले बन्धनमा बाँधेर राखेको हुन्छ। विश्वविद्यालयका तमाम उपाधीहरू प्राप्त गरेर पनि साँस्कृतिक व्यवहारहरू सिक्न सकिएको हुदैन । हाम्रा आमाबुवाहरूबाट वा अग्रजहरूले सिकाएका कैयौ कुराहरू विद्यालय वा विश्वविद्यालयको अध्ययनले दिन सक्दैन । यस्ता कैयौ कुराहरू माथिल्लो पुस्ताले आफ्ना सन्तानहरूमा हस्तान्तरण गर्दै आएका तमाम सिप, ज्ञान र सिकाइ अति नै अमूल्य हुन्छन् । हामीले कैयौ व्यवहारहरू अग्रजको नक्कल गरेका हुन्छौ भने समकक्षी दौतरीहरूबाट सिकिने सिकाइले पनि हाम्रो जीवनको महत्त्वपूर्ण अंश ओगटेको हुन्छ । त्यसैले हामीले सङ्गतलाई निकै महत्त्व दिएका छौ । “सङ्गत गुनाको बुद्धि” भन्ने उखान जनजिभ्रोमा हमेशा सुनिने कथन हो । देख्दा सानो लागेपनि यसमा लुकेको अभिव्यक्तिले निकै बृहत्त मान्यता बोकेको छ । हामी कसैले पनि आफ्नो सन्तानलाई खराव बनाउन चाहन्नौ । त्यसैले जस्तो भए पनि सन्तानहरूले  खराव मानिसको सङ्गत नगरुन भन्ने अभिभावकहरूको चाहना हुन्छ । आफू नराम्रो कुलतमा लागेकै भए पनि उसले आफ्नो सन्तानलाई राम्रो र सुसङ्गतमा हुर्काउन चाहन्छ । चोर, डाँका वा जड्याहाले पनि आफ्ना उत्तराधिकारीहरू आफू जस्तै बनुन भन्ने कामना राखेका हुदैनन। संसारमा आफू जस्तो सुकै नराम्रो काममा  फसिएको भए पनि उसले सन्तानहरूलाई असल र राम्रा बनाउन चाहन्छ । यो नै मानवको सबैभन्दा महत्त्वपूर्ण स्वभाव हो ।

हिजोका दिनमा हामीले धर्मका नाममा भूमिको रक्षा गर्ने गरेका रहेछौ । आजआएर दण्डका भयमा र भोलिका दिनमा सन्तानका सुखका निम्ति हामीले भूसंरक्षण गर्नेछौ । चाहे जसरी होस पृथ्वीको संरक्षण हाम्रो सधै कर्तव्य भित्र पर्ने रहेछ । त्यस्तै हामीले अग्रजहरूको सम्मान र संरक्षण गर्ने प्रचलन धेरै पूरानो हो । यसको शुरुवात कहिले भयो भनेर तिथि मिति पत्ता लगाउन सकिन्न । यसको अर्थ हो हामी अघिल्लो पुस्तासँग पनि उत्तिकै जिम्मेवार र वफादार छौ । कहिले धर्मका नाममा त कहिले लोकलाजका नाममा अघिल्लो पुस्ताको सम्मान हाम्रो प्रमूख कर्तव्य नै बनिसकेको छ । त्यस्तै गरी उत्तराधिकारीहरूका सम्बन्धमा पनि हामी कहिल्यै गैर जिम्मेवार बनेका हुदैनौ । यदाकदा समाजमा सन्तानहरू प्रति जिम्मेवारी ननिभाउने व्यक्तिहरू पनि देखिन्छन। तर अधिकांशले अग्रजहरूको तुलनामा सन्तानहरूलाई बढिनै माया ममता गरेकै पाइन्छ । यसलाई सृष्ठिको साश्वत नियमको रुपमा ग्रहण गरिएको छ । कुनै व्यक्तिले बालबालिका प्रतिको दायित्व निर्वाह गरेको छैन भने उ दण्डको समेत भागिदार रहन्छ । हाम्रा पुरातनका व्यवहारहरुले पनि यस्तै  देखाएका छन् ।

हामी जहिले पनि आफ्नो कर्तव्य, दायित्त्व र जिम्मेवारीका सम्बन्धमा सचेत रहनु पर्छ । समाजमा बसे पछि हामीले आफ्नो मात्र कुरा गरेर पुग्दैन । समाजमा धेरै प्रकारका मानिसहरू रहेका हुन्छन् । एकले अर्कोको सम्मान गर्नु पर्ने नियम समाजको अनादिदेखि चलिआएको परम्परा पनि हो । प्रकृतिले सम्पूर्ण प्राणीहरुलाई एक प्रकारको नियममा बाँधेर राखेको छ।त्यो नियमलाई जोगाएर  संसारलाई निरन्तरता दिइ रहन केही महत्त्वपूर्ण प्रवृत्तीको आवश्यकता पर्छ । यो प्रवृत्ती भनेको अग्रजहरूलाई सम्मान र उत्तराधिकारीहरूलाई माया दिनु पर्ने नियम हो  । संसारका केही प्राणिहरूलाई छोडेर अन्य सबैजसो प्राणीहरूमा यो नियम लागू रहेको छ । यही नियमका कारणले सृष्टिको अनन्त यात्रामा अवरोध उत्पन्न भएको छैन । यदि सन्तानको तुलनामा बावुआमालाई मात्र बढि माया गरिने संस्कार भएको भए कुनै दिन सृष्टिको साङ्ग्लो  विखण्डित हुने थियो । सम्मान आदर र जिम्मेवारी वहन आफैमा अत्यावश्यक नियम हो तर प्रकृतिले निर्माण गरेको अधोमुखि नियमले संसारलाई निरन्तरता दिन र एक पटक सिर्जना गरेको कुरा वर्षौको लागि राखिरहन मद्दत पुगेको छ ।  यसैलाई  नै अग्रगामी परिवर्तनको रुपमा लिइदै आएको छ । हिजोका दिनमा हुने सबै कुरा आज उस्तै रुपमा आउन सक्दैनन । समयले त्यस्ता व्यवहारलाई कालक्रमकै अनुरुप परिवर्तन गराउँदै लैजान्छ । त्यसैले हामीले हाम्रो सोचलाई समयानुकुल परिवर्तन गर्दै लैजान सकेनौ भने नयाँ पुस्ताले हामीलाई वेवास्ता गर्न थाल्छन् र आफू समयको गतिबाट बाहिरिन पुगिन्छ ।यसरी समयको सिँढिको एउटा पनि खुड्किलोबाट आफू बाहिरिइयो भने अन्य कुनै अवसरले पनि विकासको सोपान चढाउन सक्दैन ।

हरेक कुराको जीवन चक्र हुन्छ भनेर हामीले पढ्दै आएका छौं । कुनै पनि चिज एकठाउँबाट सिर्जना भएर विकसित हुदै जान्छ र फेरी उहि अवस्थामा पुग्छ भन्ने सिद्धान्तनै  जीवन चक्र हो । तर समय एउटा यस्तो चिज हो जस्को जिवन हुन्छ तर चक्रको रुपमा होइन निरन्तरताको रुपमा अग्रगामी अवस्थामा चलिरहन्छ ।  कसैले पनि हिजोको समयलाई प्राप्त गर्न सकेको हुदैन । समय सधै नयाँ हुन्छ । हिजोको समय चाहेर पनि कसैले फेरी अनुभुति गर्छु भनेर त्यो प्राप्त गर्न सक्दैन । न त उसले भोलीको समयको अनुभुति आजै गर्छु भनेर त्यो प्राप्त हुन्छ । त्यसैले  सबै प्राणीहरूको निम्ति सबैभन्दा ख्याल राख्नु पर्ने कुरानै  समय हो । मानव जीवनका निम्ति त समय अतिनै महत्त्वपूर्ण  छ । त्यसैले मान्छेलाई आफ्नो हरेक क्षण अति नै महत्त्वपूर्न रहेको हुन्छ । समयको गति सधै एकनासको हुन्छ । समयले कुनै बेला पनि उतार चडाव हुदैन । यही नियमका कारण हामीले जुन समयमा जे काम गर्नु परने हो सो गरिएन ने समयले हामीलाई छोडेर अघि बढ्छ । ऐन मौकामा विचार पुराउन नसक्दा भूमी, मातृत्व र व्यवसायले मानिसलाई छोडेर  जान्छ । ती चिजले परित्याग गरिएको मानिससँग पछुतो बाहेक अन्य केही बाकी रहँदैन । अर्को कुरा आफूसंग जुन कुरा छ त्यसका बारेमा मानिसले बुझ्न सकिरहेको वा ध्यान दिइरहेको हुदैन । उसले जुन दिन त्यो गुमाउँछ वा उसलाई त्यो कुराको अभाव हुन्छ तब मात्र त्यो कुराको महत्त्व पनि थाहा हुन्छ । उदाहरणका लागि सामान्य नोकरी पराप्त गरेको व्यक्तिले विभिन्न कारणले जागिर गुमाउन पुग्यो भने मात्र त्यो जागिरको महत्त्व थाहा पाउँछ ।

त्यस्तै हाम्रो समाजमा बावुआमा छउन्जेल अपमान गर्ने र मरेपछि धुमधाम दानदक्षिणा गरिदिने व्यक्तिहरूको पनि कमि छैन । विरामी परेको वेला औषधि उपचार नगर्ने, अशक्त अवस्थामा पुगेको बेला पीडा मात्र थप्ने र देखावटी औपचारिकताका निम्ति मृत्यू पर्यान्त विभिन्न ढोंग गर्ने प्रवृत्ति नै हाम्रो समाजको सबै भन्दा ठूलो विकृति को रुप लिएको छ । हामीले समयमा यी कुराहरूमा ख्याल गर्न नसक्दा वा नचाहदा विकराल परिस्थितिको सिर्जना हुन सक्ने कुराको अनुमान समेत गरिएको हुदैन । घरमा बृद्ध मा बुबाले सामान्य भन्दा सामान्य उपचार पाएका हुदैनन तर समाजमा आफूलाई अब्बल देखाउन विभिन्न कृतिम कुरा गरेर अरुलाई अल्मल्याउन खोजे पनि सम्बन्धित व्यक्तिले भने आफुले भोगेको यथार्थ परिस्थितिको विवरण बताउन समेत सकेको हुदैन ।  त्यसले निम्त्याउने  परिवेश भने अनुमान गरे भन्दा निकै विकराल हुन्छ ।

त्यसैले हामीले समय छदै यस्ता कुरामा ध्यान दिएर आफुलाई पछुतो बाट बचाइ राखौ । मानवताको कर्तव्य भित्र रहेका सबै कुरामा आफूलाई सचेत बनाऔं । जीवनमा सुख र शान्तिका निम्ति बिभिन्न तीर्थ व्रत आदिमा भौतारिनु भन्दा सामान्य कर्तव्य भित्रका अति सामान्य व्यवहार गरियो भने आफु खुसि र सुखि रहन सकिन्छ । आफ्नो भविष्य पनि उज्यालो तर्फमोडिन्छ र सन्ततिहरूले आफु प्रति पनि सोही व्यवहार सिकेर आफ्नो दायित्व पूरा गर्छन त्यसैले हामिले हाम्रो आश्रय स्थल मातृत्व वा पितृत्व र पेसालाई सरवोपरी महत्त्व दिएर सोही अनुरुपको व्यवहार गरियो भने समाजमा शिर निहुर्याउनु पर्ने अवस्था कहिल्यै पनि आउँदैन । आफ्नो मौलिक मूल्यमान्यता विपरित  गरिने हरेक व्यवहार हाम्रो निम्ति हानिकारक सिद्ध हुन्छन् । हामीले बेलैमा समयको महत्वलाई बुझेर कर्तव्यको ख्याल गर्दै सामान्य जीवन जिउने प्रयास गरियो भने सबैभन्दा उत्तम जीवन त्यहीनै हुनेछ

खुला नेपाल मा प्रकाशित