Lalitpur Metro-9, Chyashal Balkumari, Lalitpur, Nepal
12 Months, 7 Days & 24 Hours Available for all.
+977 985 109 8889
डा. लक्ष्मणप्रसाद ज्ञवाली, नेपालको प्रथम नेत्रहीन अधिवक्ता The first Blind Advocate of Nepal Dr Laxman Prasad Gnawali.

लुइ ब्रेल जङ्गबहादुर र नेपाली कानूनहरू

दृष्टिविहीनहरूको एक मात्र लेखन वा पठनको माध्यम ब्रेल लिपि हो । यसकै माध्यमबाट संसारभरका दृष्टिविहीनहरूले आफ्नो अध्ययन अध्यापन सुचारू गरेका छन् । देख्ने मानिसहरूले यो लिपि हेरेर पढ्न असाध्यै अप्ठ्यारो हुन्छ। यो लिपि एक अनौठो प्रकृतिको छ । एउटा विशेष प्रकारको मेशिन (स्लेट)मा बाक्लो कागज राखी सो  कागजको एकापट्टिबाट सियो जस्तो वस्तु (स्टाइलस)ले खोपेर कागजको अर्कोपट्टि स्पर्सयोग्य थोप्ला निकालेर ती थोप्लाहरू छामेर पहिचान गरिने लिपि हो ब्रेल लिपि । यो एक प्रकारको लिपि हो यो जुन भाषामा पनि प्रयोग गर्न सकिन्छ । कसै कसैले ब्रेल लिपिलाई भाषा भन्ने गरेको पाइन्छ। तर ब्रेल भाषा नभएर लिपि मात्र हो।

यस्तो अनौठो लिपिको आविस्कार फ्रान्सेली दृष्टिविहीन शिक्षाविद्  लुइ ब्रेलले गरेका थिए। उनको जन्म पिता साइमन रेने ब्रेल र माता मोनिक ब्रेलबाट सन १८०९ जनवरी ४ मा फ्रान्समा भएको हो । उनी तीन वर्षको उमेरमा आफ्ना पिताको पसलमा रहेका विभिन्न ज्यावल तथा पेन्सिलहरू चलाउने खेलाउने क्रममा तिखो वस्तुले आँखा घोचिन गइ दृष्टिविहीन हुन पुगेका थिए। शुरुमा उनको एउटा आँखा विग्रिएको थियो। पछि उपचारकै क्रममा उनको अर्को आँखामा पनि इन्फेक्सन भई तीन वर्षकै कलिलो उमेरमा दुवै आखाको दृष्टि क्षमता गुमाइ पूर्ण दृष्टिविहीन बन्न पुगेका थिए। उनले १५ वर्षको उमेरमा नै दृष्टिविहीनहरूले छामेर पहिचान गर्न सक्ने ब्रेल लिपिको आविस्कार गरेका थिए ।  उनको यो अद्भुत आविस्कारले दृष्टिविहीनहरूको जीवनमा आमूल परिवर्तन मात्र गरेन उनीहरूलाई अन्य व्यक्तिहरू सरह समाजमा शिक्षित बन्ने र प्रतिस्पर्धी बनी देश र समाजमा उत्पादनशील नागरिक बन्ने महान अवसर प्रदान समेत गरेको छ । शुरुमा अंग्रेजी भाषामा थालिएको यो लिपि अहिले संसारका सबैभाषाहरूमा व्याप्त छ । 

ब्रेल लिपिको संरचना ६ वटा साधारण थोप्लाहरूको कम्पोजिसनबाट भएको हुन्छ । तीनतीन वटा स्पर्सयोग्य थोप्लाहरूबाट संसारका सबै भाषाहरूको प्रतिनिधित्व हुन सक्ने गरी ब्रेल लिपि बनेको छ । जुन भाषा बायाँदेखि दायाँतिर पढिन्छ त्यस्को लेखन दायाँदेखि बायाँतिर  गरिन्छ । छवटा थोप्लाहरूको एउटा सेल बन्छ । त्यो सेल नै एउटा अक्षर हो । छमध्ये कुनै थोप्लाहरू हटाइ विभिन्न अक्षरहरू बनाउन सकिन्छ ।  यसरी एउटै आकारमा सबै अक्षरहरू लेख्नुपर्ने हुनाले अरू लिपिमा जस्तो अक्षरको आकार सानो वा ठूलो बनाउन सम्भव हुँदैन । विभिन्न सेल अङ्कित स्लेटमा बाक्लो खालको कागज बिचमा राखी दायाँ पट्टिबाट बायाँतर्फ खोप्दै जाने र कागजमा स्टाइलसले बनाएका स्पर्सयोग्य थोप्लाहरूलाई छामेर पढ्ने  गरिन्छ ।  सामान्य लिपिभन्दा अति नै जटिल तरिकाबाट बनेको यो लिपि निकै संवेदनशील  परिवेशबाट मात्र पहिचान गर्न सकिन्छ ।

लुइ ब्रेलको  २०९औं जन्मजयन्ती मनाइरहँदा बेल लिपि र दृष्टिविहीनहरूको अध्ययन अध्यापनको सुअवसरलाई अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसँग पनि जोडेर हेरिनु पर्छ ।  पिता पुर्खाले गरेको अपराध वा व्यक्तिका पूर्व जन्मको पापले दृष्टिविहिन हुन पुगिने मानसिकताबाट गुज्रिरहेको हाम्रो जस्तो समाजलाई उपकारमुखी मानसिकताबाट अधिकारमुखी अवसरमा बदल्न निकै कठिन छ ।

नेपालको संविधान २०७२ मा ३१ वटा मौलिक हकहरू छन् । समानता स्वतन्त्रता लगायत व्यक्तिका अहरणीय अधिकारहरू मौलिकहकका रुपमा स्थापित भएका छन । त्यसमा  पनि जुनसुकै अपांगता भएका नागरिकलाई विविधताको पहिचान सहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक हुनेछ भन्ने व्यवस्था संविधानको धारा ४२() गरिनुले दृष्टिविहीनहरू पनि विविधताका एक भागिदार हुन् भन्ने कुरा पुष्टी हुन्छ । त्यती मात्र होइन ब्रेल लिपि दृष्टिविहीनहरूको मौलिक हकको रुपमा स्थापित भएको कुरा संविधानको धारा ३१(४) मा उल्लेख भएको  दृष्टिविहीन नागरिकलाई ब्रेललिपि तथा बहिरा र स्वर वा बोलाइ सम्बन्धी अपांगता भएका नागरिकलाई सांकेतिक भाषाको माध्यमबाट कानून बमोजिम निःशुल्क शिक्षा पाउने हक हुनेछ भन्ने तथ्यबाट प्रमाणित हुन्छ । दृष्टिविहीनहरूले ब्रेल लिपिमा अध्ययन गर्न पाउनु उनिहरूको मौलिक हक हो । संविधानले सबै भाषा तथा लिपिहरूको संरक्षण गर्ने कुरामा कसैको पनि द्वि मत रहेन । तर संविधानको मौलिक हकमा नै विशेष जोड दिएर ब्रेल लिपि र सांकेतिक भाषाका बारेमा बोल्नुपर्ने अवस्था आउनु दृष्टिविहीन र बहिराहरू आफ्ना लिपि तथा भाषाका सन्दर्भमा कति धेरै प्रभावित छन् भन्ने कुरा यसबाट पुस्टी हुन्छ ।

यस्ता संवैधानिक व्यवस्थाका साथै हाम्रा विभिन्न कानूनहरूले पनि दृष्टिविहीनहरूको मर्यादित जीवन र ब्रेल लिपिमा अध्ययन अध्यापनका निम्ती कैयौं व्यवस्था गरेका छन् ।  शिक्षा ऐन २०२८ को दफा २()मा विशेष शिक्षाको परिभाषा गर्दै दृष्टिविहीनहरू बहिरा तथा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूलाई दिइने विशेषप्रकारको शिक्षालाई विशेष शिक्षा भनिन्छ भनी ब्रेल लिपिमा पठनपाठनको व्यवस्थालाई महत्वका साथ  हेरिएको छ । त्यस्तै विशेष विद्यालय खोल्न तथा सन्चालन गर्न सकिने  व्यवस्था कानूनहरूमा गरिएको छ । अपाङ्गता भएका  व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धीको पक्ष राष्ट्र नेपाल  भएकाले उक्त महासन्धीको धारा २४ले  निर्देशित गरेको समाहित शिक्षा सम्बन्धि व्यवस्था समेतले दृष्टिविहिनहरूको शिक्षा तथा ब्रेल लिपिलाई  विशेष महत्व प्रदान गरेको छ ।

नेपालमा ब्रेल लिपिको शुरुवात गर्ने श्रेय ल्याब्रेटरी विद्यालयका दृष्टिविहीन शिक्षक स्व. जङ्गबहादुर बोगटीलाई जान्छ । उनी बझाङ जिल्लामा जन्मेर भारतका विभिन्न ठाउँबाट  शिक्षित भइ नेपाली भाषामा पनि ब्रेल लिपि बनाउनु पर्छ भन्ने अवधारणा ल्याएका व्यक्ति हुन् । उनको त्यही सोँचबाट नै आज नेपाली दृष्टिविहीनहरूले आफ्नै भाषाको ब्रेल लिपि प्रयोग गर्ने सुनौलो अवसर पाएका छन् । त्यसैले जङ्गबहादुरलाई नेपालका लुइ ब्रेलको संज्ञा दिने गरिएको छ ।स्मरण रहोस् विसं २०२१मा तत्कालीन सरकारले दृष्टिविहीनहरूको अध्ययनका लागिप्रथम पटक विशेष शिक्षाको व्यवस्था गरेको थियो ।  नयाँ शिक्षा पद्धती २०२८ ले ब्यवस्था गरे अनुसार शिक्षा मन्त्रालयले वि.सं. २०३० सालमा विशेष शिक्षा परिषद्को स्थापना गरी दृष्टिबिहिनहरूलाई ब्रेल लिपिमा पठनपाठन गराउन थालेको छ । दृष्टिबिहिनहरूको लागि ७७ स्रोत कक्षा १६ एकिकृत माध्यमिक विद्धालय र एक विशेश माध्यमिक विद्धालय हाल सन्चालनमा छन् जहाँ ब्रेल लिपिको माध्यमबाट शिक्षा प्रदान गरिन्छ ।

त्यस्तै २०२० साल चैत्र १८ गतेको राजपत्रमा प्रकाशित हुलाक नियमावली २०२० को परिच्छेद दुईको नियम १३ मा भएको व्यवस्थाले नेपालमा ब्रेल  लिपि सम्बन्धी तत्कालीन सरकार कति सचेत थियो भन्ने पुस्टि हुन्छ ।उक्त नियममा विभिन्न छवटा उपनियमहरूमा यी कुराहरू खुलस्त रुपमा लेखिएको छ जुन आज पनि लागू छन् ।

(क) ब्रेलमा वा अन्धाहरूको प्रयोगको निमित्त खास किसिमबाट मुद्रित कुनै कागज, समाचार पत्रपत्रिका, पुस्तक र साउण्ड रिकर्ड, लेख वा अÔर पठाउने प्लेट अन्धा साहित्यमा लिइन्छन्,

 (ख) उक्त वस्तुहरू नेपाल सरकारद्वारा मान्यता प्राप्त कुनै शिक्षण संस्थाको नाममा पठाइको वा सो द्वारा पठाइएको हुनुपर्नेछ । यस्तो वस्तुको प्याकेटमा यसै नियमका खण्ड (क) मा उल्लिखित खास गरी अन्धाहरूको उपयोगको लागि नै मुद्रित भएका चीजहरू हुनुपर्छ र लिखितमा वा छपाईमा सो वस्तु सम्बन्धी नाम, सूचि र यसको प्रयोग सम्बन्धी निर्देश बाहेक अरू खबरको आदान प्रदान रहेको हुनुहुँदैन ।

(ग) सो वस्तुको बाहिर वा कभरको बाहिरपट्टि अन्धा साहित्यभन्ने लेखिएको र पठाउनेको नाम र ठेगाना हुनु अनिवार्य छ ।

(घ) कभर भए दुबै छेउ खुला भएको र नभए पनि सजिलोसँग जाँच्न हुने गरी हुलाक दाखिल गरेको हुनुपर्छ ।

(ङ) अन्धा साहित्यको प्याकेटको लम्बाई, चौडाई र मोटाई चिठ्ठी सरहनै हुनेछ र त्यसको अधिकतम तौल सात किलोसम्म मात्र हुन सक्नेछ ।

(च) अन्धा साहित्यको प्याकेट उपरोक्त खण्डहरू अनुसार नभएमा चलान गरिने छैन र प्रेषक कहाँ ˚फिर्ता पठाइनेछ ।

उक्त नियममा हाल प्रयोग गर्न थालिएको श्रुतिमधुर शब्द दृष्टिविहीनको सट्टा ‘अन्धा’ प्रयोग भएको भए तापनि उनीहरूको शिक्षाको आवश्यकता महशुस गरी निःशुल्क सामग्री ओसारपसार गर्ने व्यवस्थाले तत्कालीन सरकार उदार रहेको पुस्टि हुन्छ । वर्तमानमा व्यवहारमा भन्दा शब्दमा मात्र सुधार भएको देखिन्छ । साढे पाँच दशक वित्दा पनि दृष्टिविहीनहरू ब्रेलमा अध्ययन गर्नबाट बन्चित हुनु लज्जास्पद कुरा हो । सबैका लागि शिक्षा भन्ने सरकारी उद्घोष अझै पनि अधुरो रहने निश्चित छ । अन्तर्राष्ट्रिय तथा राष्ट्रिय कानुनहरूमा व्यवस्था गरिँदै आएको र चेतनाको विकास भएकाले केही न केही काम भएको छ । तर लुइ ब्रेल नजन्मेको भए यस लिपिको आविष्कार कसले कहिले गर्थ्यो? भन्ने कल्पना गर्न सकिँदैन । त्यसैले अन्त्यमा उनै लुइ ब्रेलप्रति श्रद्धा सुमन !

Gorakhapatra मा प्रकाशित