Lalitpur Metro-9, Chyashal Balkumari, Lalitpur, Nepal
12 Months, 7 Days & 24 Hours Available for all.
+977 985 109 8889
डा. लक्ष्मणप्रसाद ज्ञवाली, नेपालको प्रथम नेत्रहीन अधिवक्ता The first Blind Advocate of Nepal Dr Laxman Prasad Gnawali.

लक्ष्यप्राप्तीमा अपाङ्ग सहभागीता

प्रत्येक वर्ष 3rd December का दिन अन्तर्राष्ट्रिय अपाङ्ग दिवस मनाइन्छ । सर्व प्रथम १९९२ डिसेम्बर ३ तारिखका दिन यो दिवस मनाउन थालिएको हो । त्यसै वर्षदेखि नेपालमा पनि यो दिवस वर्षेनी मनाइँदै आएको छ । नीजि क्षेत्रका संघसंस्थाका अतिरिक्त यो दिवस विशेष गरी सरकारले आफ्नै सक्रीयतामा मनाउँदै आएको छ । संयुक्त राष्ट्र संघले मुख्य नारा तय गरेर संसारभर यो दिवस मनाइरहँदा नेपालले पनि विभिन्न कार्यक्रम गरी दिवस सफल बनाउने गरेको छ ।

विगत केही वर्षदेखि यस दिन अपाङ्गता भएका कर्मचारीहरूलाई सार्वजनिक विदा दिन थालिएको छ । अरु ३६४ दिन अपाङ्गता क्षेत्र ओझेल पर्ने भए पनि ३ डिसेम्बरका दिन भने सर्वत्र  अपाङ्गताको  चर्चा परिचर्चा हुने गरेको छ । जे होस राज्यले यो दिन अपाङ्गता भएका शिक्षक कर्मचारीहरूलाई विदा दिने व्यवस्था गरी सकारात्मक शुरुवात गरेको छ । सरकारले थुप्रै सार्वजनिक विदा कटौति गर्दा समेत अपाङ्गता भएका व्यक्तिहरूलाई दिने विदा नकाटिनुलाई पनि सकारात्मक रुपमै लिन सकिन्छ ।

यो वर्ष संयुक्त राष्ट्र संघले  Empowering persons with disabilities and ensuring inclusiveness and equality (अपाङ्गता भएका व्यक्तिहरूको सशक्तीकरण, समावेशीता र समानताको सुनिश्चितता) भन्ने नारा तय गरी दीगो विकास लक्ष्य कार्यक्रमले निर्धारण गरेका लक्ष्य हासिल गर्ने उद्देश्य राखेको छ । नाराले अपाङ्गता भएका व्यक्तिहरूको क्षमता अभिवृद्धी गराइ हरेक क्षेत्रमा समानता तथा समावेशीता कायम गरी दीगो विकास लक्ष्य प्राप्तिमा सहभागि गराउने उद्देश्य लिएको छ । यसका लागि सर्वप्रथम राज्यले अपाङ्गता भएका व्यक्तिहरूको सबै प्रकारले सिप, क्षमता र योग्यता बृद्धि गराउन विभिन्न योजनाहरू सन्चालन गरिनु पर्छ ।  यदि व्यक्ति सक्षम भएन भने उसले प्रतिस्पर्धा गर्न सक्दैन । आजको युग प्रतिस्पर्धाको युग हो । दया माया वा सहानुभूति प्रकट गरी कसैलाई विचरा बनाइराख्नु मानव अधिकार विरुद्धको कार्य हुन्छ । अपाङ्गता भएका व्यक्तिहरू समाजका बोझ होइनन् उनिहरू समुदायका उत्पादनशील नागरिक हुन् भन्ने प्रमाणित गर्न प्रतिस्पर्धी जनशक्ति तयार गरिनु पर्दछ । सबै क्षेत्रमा प्रतिस्पर्धी र सक्षम अपाङ्गता भएका व्यक्तिहरू तयार भए भने  व्यक्तिको सशक्तीकरण भएको मानिन्छ । पूर्ण रुपमा सशक्त र दक्ष अपाङ्गता भएको व्यक्तिले मात्र आफ्नो अधिकारको खोजी र उपभोग गर्न सक्छ ।

अपाङ्गताबाट हुने अवरोध वातावरणीय सुधारबाट न्यूनीकरण गर्दै जानु पर्छ । यदि अपाङ्गता भएको व्यक्तिले उपयुक्त अनुकुलता”(reasonable accommodation) को पूर्ण अवसर पायो भने अपाङ्गताबाट हुने अवरोध कम गरी अन्य नागरिक सरह कार्य क्षमता प्रदर्शन गर्न सक्छ । अपाङ्गताले गर्दा व्यक्तिमा कार्य सिमितता (functional limitation) हुन्छ जसको कारण हरेक किसिमका अन्तर्क्रियामा अवरोध हुन जान्छ । त्यसका कारण व्यक्तिले हरेक क्षेत्रमा पूर्ण र सार्थक सहभागिता प्राप्त गर्न  अवरोध हुन्छ । जसका कारण  व्यक्ति समान सहभागिताबाट बन्चित हुन पुग्छ ।

यसबाट संसारमा रहेका अपाङ्गता भएका सबै व्यक्तिहरू शसक्तीकरण र समानता, समावेशीता तथा समान पहुँचबाट अझै पनि विमुख छन् भन्ने कुरा प्रमाणित गर्छ । समानता व्यवहारमा ल्यउन अझै सकिएको छैन ।  त्यसैले सन २०३० सम्म  अपाङ्गता भएका व्यक्तिहरू पनि  अन्य नागरिक सरह सक्षम र समान हैसियतमा आफ्नो जिविकोपार्जन गर्न सक्ने अवस्थामा पुराउने प्रावधान गर्न खोजिएको छ । शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता न्यूनतम आधारभूत आवश्यकता समेतका अभावले अपाङ्गता भएका व्यक्तिहरूलाई पर्तिस्पर्धी बन्न बाधा पुराएको छ ।

सरसर्ति हेर्दा संसारको विकासको  गतिसँगै हिड्न सक्ने सबै वर्गका व्यक्तिहरू  छैनन् । समानताको दौडमा समान पहुँचको अभावले दौडन नसक्नेहरू पनि छन् । दीगो विकास लक्ष्यले कसैलाई पनि पछि नछोडौं leave no one behind  भन्दै अपाङ्गता भएका व्यक्तिहरूलाई समावेशीता तथा समानताको आधारमा सँगसँगै हिडाउनु पर्ने उद्देश्य लिएको छ । अन्य आम समुदायका नागरिकहरूको जसरी गरिबीको अन्त्य गरिनु पर्ने पहिलो लक्ष्य छ त्यसमा अपाङ्गता भएका व्यक्तिहरू बिच पनि गरिबीको अन्त्य हुनु पर्छ । कुनै पनि अपाङ्गता भएको व्यक्ति भोको रहनु हुँदैन किनकी दोस्रो लक्ष्यमा भोक शुन्य संसार बनाउने परिकल्पना गरिएको छ । त्यस्तै  अन्य धेरैकुराहरूमा अपाङ्गता भएका व्यक्तिहरूको पहुँच बृद्धि गरी उनिहरूलाई सक्षम र सम्बृद्ध गराउने भनिएको छ । दीगो विकासका लागि तय गरिएका १७ लक्ष्यहरू सबैमा अपाङ्गता भएका व्यक्तिहरू कुनै न कुनै किसिमले प्रत्यक्ष सरोकारवाला हुन् । कुनै पनि लक्ष्य प्राप्तिको कार्यक्रम बनाइँदा यदि अपाङ्गता वर्ग छुट्यो भने दीगो विकास लक्ष्य कार्यक्रम सफल रुपमा सम्पन्न हुन सक्ने छैन ।

यस वर्ष  अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको नारा तय गर्दा संयुक्त राष्ट्र संघले दीगो विकास लक्ष्यका १७ वटै लक्ष्य पूरा गर्ने मनसायले समाजका विभिन्न पक्षहरूको सहकार्यमा जोड दिएको छ । अपाङ्गता क्षेत्रको विकास र अपाङ्गता भएका व्यक्तिहरूको क्षमता अभिबृद्धिका निम्ति राज्य पक्ष मात्र वा नीजि क्षेत्र मात्र पर्याप्त हुँदैन । यसका लागि समाजमा क्रियाशील सबै निकायहरू उत्तिकै जिम्मेवार रहन्छन् भन्ने प्रस्ट पार्न खोजेको छ । स्वयं अपाङ्गता भएका व्यक्तिहरू आफ्नो क्षमता सीप दक्षता आदि बृद्धिका लागि अग्रसर भएर लाग्नु पर्छ । यसमा सरकारले पूर्ण रुपमा  उचित वातावरण र पहुँचयोग्य अवसरको सिर्जना गरी उक्त कुराको सुनिश्चितताको विश्वास दिलाउनु पर्छ । यस कार्यमा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सेवा सुविधा आदिमा कार्यरत संघसंस्थाहरू पनि उत्तिकै सशक्त रुपमा लागि पर्नु पर्छ । त्यसै गरी अपाङ्गता क्षेत्रको विकास र दीगो विकास लक्ष्य प्राप्तिका निमित्त अपाङ्गता भएका व्यक्ति सो क्षेत्रमा कार्यरत निकायहरू र सरकारको प्रयासले मात्र पुग्दैन यसका अतिरिक्त  शैक्षिक निकायहरू सक्रीय सजग र सशक्त रुपमा कस्सिनु पर्छ । यी सबै निकायहरूसँगै नीजि क्षेत्रले पूर्णरुपमा साथ नदिए लक्ष्य प्राप्ति अधुरै हुन्छ । त्यसैले यसका निम्ति अपाङ्गता भएका व्यक्ति, सरकार, शैक्षिक संघसंस्था तथा निकायहरू, अपाङ्गता भएका व्यक्तिहरूका प्रतिनिधि संस्थाहरू, नीजि क्षेत्र एकापसमा मिलेर दीगो विकास लक्ष्य प्राप्तिका निम्ती काम गरिनु पर्छ ।

 

नेपालको सन्दर्भमा आवधिक योजनाहरूले पनि अपाङ्गता भएका व्यक्तिहरूको विकासका लागि योजनाबद्ध कार्यक्रमहरू बनाइ लागू गर्दै आएका छन् । विगतका पञ्चवर्षीय तथा त्रीवर्षीय योजनाहरूमा पनि अपाङ्ग क्षेत्रको विकासका कार्यक्रमहरू राखिएका थिए । चालू चौधौं त्रीवर्षीय योजनामा पनि विगतका योजनाहरूमा जस्तै अपाङ्गताका क्षेत्रमा काम गर्ने  गरी व्यवस्था गरिएको छ । यस योजनाको मुख्य कार्यक्रमहरूमा CRPD र इन्चोन रणनीतिको प्रभावकारी कार्यान्वयन, विद्यमान ऐन कानूनमा समय सापेक्ष सुधार, अपाङ्गता सेवा कोषको स्थापना तथा सन्चालन, सरकारी/गैरसरकारी संस्थाबाट सन्चालित अपाङ्गता सम्बन्धी कार्यक्रमहरूको अनुगमन तथा अभिलेख व्यवस्थापन जस्ता कार्यक्रमहरूलाई मुख्य कार्यक्रमको रुपमा स्थापित गरिएको छ । उक्त कार्यक्रमबाट कानूनी संस्थागत तथा भौतिक पूर्वाधारहरूको विस्तार भइ अपाङ्गता मैत्री र अवरोधमुक्त वातावरणको निर्माण, विभिन्न अपाङ्गता भएका व्यक्तिहरूका लागि पुनर्स्थापना कार्यक्रम सन्चालन, सातै प्रदेशमा अपाङ्गता पुनर्स्थापना केन्द्रको स्थापना तथा सन्चालन, सहायक सामाग्रीहरू स्वदेशमै उत्पादन तथा वितरण, अपाङ्गता क्षेत्रमा विभिन्न ज्ञान सिप भएका जनशक्तिको विकास र रोजगारी एवं स्वरोजगारीमा पहुँच हुनेसम्मको उपलब्धीहरूको अपेक्षा गरिएको छ । चालू आवधिक योजनाको अन्तीम वर्ष चलिरहँदा यसले  राखेका अपेक्षाहरू कति पूरा हुन्छन्  त्यसको मूल्याङ्कन गर्न बाँकी नै छ । जेहोस सरकारले अपाङ्गता भएका व्यक्तिहरूलाई  मूल प्रवाहमा समावेश गर्न खोजेको भने पक्कै हो । यसरी  आवधिक योजनाले अन्य व्यक्तिहरूको समग्र विकासका निम्ति जति संवेदनशील भएर योजना निर्माण गर्छ त्योभन्दा बढि अपाङ्गता क्षेत्रका लागि संवेदनशील हुनुपर्छ ।

त्यस्तै चालू आर्थिक वर्षको सरकारको नीतितथा कार्यक्रम र बजेटमार्फत पनि सरकारले अपाङ्गता भएका व्यक्तिहरूका क्षेत्रमा गर्ने कार्यक्रमहरूको निर्धारण गरेको छ ।  आवधिक योजनाले तय गरेको कार्यक्रम र त्यसको उपलब्धी हासिल गर्न सरकारले विभिन्न रणनीतिहरू अवलम्बन गरेको छ । यसका लागि आवश्यक बजेट विनियोजन समेत भएको छ । चालू आर्थिक वर्षको बजेटले निर्देशित गरेका कार्यक्रमहरूलाई अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसको अवसरमा तय गरिएको यस वर्षको नाराले उद्देश्य प्राप्तिको औजारको रुपमा कार्य गर्ने छ । अपाङ्गता भएका व्यक्तिहरूको सशक्तीकरण, समावेशीता र समानताको सुनिश्चितता भन्ने नारालाई हाम्रा विभिन्न कार्यक्रमहरूले साकार गराउने काम गर्न खोजेका छन् ।

 हरेक वर्ष मनाउने अन्तर्राष्ट्रिय अपाङ्ग दिवसले कुनै न कुनै नयाँ कुराको परिकल्पना गरेको हुन्छ  । यो वर्ष पनि यस्तै थिम राखेर दिवस मनाइरहँदा सबै अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित हुन सकोस र सक्षम बनी सबै क्षेत्रमा समान सहभागिताको सुनिश्चितता कायम होस भन्ने कामना गरौं ।

Gorakhapatra मा प्रकाशित