दैवी प्रकोपको समय होस वा कुनै महामारीको समय त्यस्तो समयमा सबै मानिसहरू आ-आफ्नो ज्यानको सुरक्षामा लागेका हुन्छन् । बाँच र बचाऊ भन्ने सिद्धान्तबाट अभिप्रेरित भएका मानव जातिलाई यो वाक्यांश कोष कोषसम्म भिजिसकेको छ । यसैका प्रेरणाले मान्छेले आफू सुरक्षित रहेर अरुको उपकार गरिरहेको हुन्छ । अहिलेको यस विपदको समयमा पनि उपरोक्त वाक्यांश चरितार्थ बनेको छ ।
मान्छेले आफूलाई कुनैपनि किसिमको समस्या आइपरेको अवस्थामा आफूभन्दा ठूलोलाई सम्झने गर्छ । यो सामान्य कुरा हो । बालबालिकाहरूलाई कुनै अरु व्यक्तिले हेपेमा वा गाली गरेमा उनिहरूले बाबु वा आमालाई भन्दिन्छु भन्ने गर्छन् । यो कुरा पनि हाम्रो व्यवहारमा आइरहने स्वभाविक कुरा हो । त्यस्तै समाजमा कुनै समस्या आइपरेमा ठूलाबडाहरूलाई भन्ने चलन पनि हाम्रो यहि सिद्धान्तमा आधारित छ । त्यसैले मुलुकमा कुनै समस्या आइपरेमा परिवार र समाजबाट सो अवस्थाको निराकरण हुन नसकेको अवस्थामा राज्यको सहारामा जानु पर्छ । अथवा देशमा कुनै किसिमको संकट आइपरेमा सबैले राज्यको आश्रय खोज्ने कुरा पनि सामान्य र स्वभाविकै हो ।
अहिले विश्व भरिनै कोरोना भाइरसको महामारीको समस्या छ । यस्तो समयमा सबैले आ-आफ्ना सरकार समक्ष सुरक्षाको आशा गर्नु स्वभाविकै हो । विश्वको कुनैपनि मुलुक कोरोनाको त्रासबाट मुक्त छैन । सम्पूर्ण मानव मात्रको समस्याको रुपमा विश्वव्यापी महामारीको रुप लिएको यो कोरोनाबाट कोही पनि नडराउने अवस्था छैन । चाहे सर्वसाधारण नागरिक होस् वा सुरक्षा कर्मी वा सधै जनताको स्वास्थ्य सुरक्षा गरिरहेका स्वास्थ्य कर्मीहरू सबै जना त्रसित र भयभित छन् । एक मानवबाट अर्को मानवमा सहजै र छिट्टै सर्ने तथा संक्रमण भएको दुई हप्तासम्म पनि विशेष लक्षणहरू नदेखाउने हुनाले पनि यसबाट सबै पक्षलाई निकै डरलाग्नु स्वभाविकै हो । आफ्नो सुरक्षा आफै गर्न सक्ने आत्मनिर्भर अवस्थाका मानिसहरूलाई त हम्मेहम्मे परेको बेलामा अरुको सहारामा जीवन निर्वाह गर्नु पर्ने वर्ग यसबाट कति त्रसित होला सहजै अनुमान गर्न सकिन्छ ।
अहिले संसारका सबै मुलुकहरू लकडाउनको अवस्थामा छन् । सबैजसो सरकारले आ-आफ्ना नागरिकहरूलाई घरबाट बाहिर ननिस्कन भनेका छन् । अत्यावश्यक कामले घरबाहिर निस्कन परेमा पनि सामाजिक दुरी (एक ब्यक्ति र अर्को व्यक्ति बिचमा निस्चित दुरी) कायम गरी दैनिक उपभोग्य सामाग्रीहरू खरिद बिक्रीका लागि सुझाइएको छ । कुनै कुनै मुलुकमा त नागरिकहरूले पालना गर्ने अनुशासनमा मात्र विश्वास नलागी सरकारले निश्चित समयावधीको लागि कर्फ्युको आदेश समेत जारी गरेको छ । यस्तो विषम परिस्थितिमा अन्य नागरिकहरू त असुरक्षित महशुस गरिरहेका छन् भने विभिन्न प्रकारका अपाङ्गता भएका ब्यक्तिहरूको दैनिकी सोचेभन्दा धेरै कठीन र कष्टकर अवस्थाबाट गुज्री रहेको छ ।
हरेक सरसामान समेत सेनिटाइज गरेर प्रयोग गर्नु पर्ने अहिलेको परिवेशमा आफ्नो सबैकाम आफै गर्न नसक्ने अपाङ्गता भएका व्यक्तिहरूको संवेदनशीलता कति मार्मिक र कारुणिक छ यसलाई कसले बुझ्ने हो ? उनिहरूलाईकसरी यो भयावह महामारीबाट सुरक्षित राख्ने हो ? यस बारेमा निकै गम्भीर भएर सोच्नु पर्न् बेला भएको छ ।
जुनसुकै पनि देशको विकास र आर्थिक सम्पन्नताको आधारमा त्यस देशका नागरिकहरूले विभिन्न किसिमका सुविधाहरू पाउने कुरामा कुनै द्विविधा छैन । त्यसैले अपाङ्गता भएका व्यक्तिहरूको समस्या पनि त्यही हो । हाम्रो देशमा पनि अपाङ्गता भएका व्यक्तिहरूलाई राज्यले आफ्नो गच्छे अनुसारको सहुलियत दिँदै आएको छ ।
हरेक मुलुकले आफ्नो देशको अवस्था अनुसारको सुविधा राज्यले प्रदान गर्दै आएको हुन्छ । हाम्रो देशमा पनि कोरोना भाइरसको माहामारीबाट बच्नको लागि सरकारले सकेसम्मको उपाय अपनाएको छ । यस अवस्थामा नागरिकले पनि आफ्नो तर्फबाट पालना गर्नु पर्ने कर्तव्य प्रति अतिनै संवेदनशील बन्नु पर्छ । अहिलेको अवस्थामा राज्यले दिएको निर्देशन प्रत्येक नागरिकको व्यक्तिगत सुरक्षासित सम्बन्धीत छ । उमेरले निकै पाकोपन हासिल गरेका नागरिकहरूमा, गर्भवती महिला, स-साना बालबालिकाहरू, विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरू अहिलेको महामारीमा बढि जोखिममा छन् । यस अवसरमा नागरिकको सुरक्षालाई ध्यानमा राखी हाम्रो देशमा पनि राज्यका विभिन्न निकायहरूले समय समयमा आ-आफ्नो तहमा निर्णय गरी सबै नागरिकहरूलाई सुरक्षित गर्न खोजिरहेका छन् । यस्तो संवेदनशील बेलामा केही व्यक्तिहरू भने आन्दोलनको समयमा निषेधाज्ञाको घेरा तोडेर गौरव गरेजस्तो गरी निर्देशनको पालना नगरेको पनि यदाकदा देखिएको छ । यसो गर्नु काललाई निम्तो दिनु जस्तै हो ।
अहिलेको यस विपदको समयमा सबै नागरिकहरूले आ-आफ्नो स्थानमा रहेका अपाङ्गता भएका व्यक्तिहरूलाई विशेष सहयोग गर्नु पर्ने हुन्छ । हुनतः हाम्रो मुलुकमा विभिन्न किसिमका दानी व्यक्तिहरूको पनि खाँचो छैन । विहान विहानै मासु भात पकाएर स्वयम्भूका बाँदर र कुकुरहरूको भोक मेटाउने काम गर्ने दानीव्यक्तिहरूले बाटोमा बसेर मागेर खानेहरूको पीडा त देख्न सक्ने कुरै भएन । जनावर र मानव जीवन प्राणिका हिसाबले एकै होला तर मानव जीवन धेरै महत्वपूर्ण छ भन्ने कुरा व्याख्या गरिरहनु परेन ।
झण्डै ५५ वर्ष पहिले बनेको संक्रामक रोग ऐन २०२० ले आजको लकडाउनको परिस्थितिलाई अनुमान गरेको मान्न सकिन्छ । २०२० सालमा यो ऐन जुन सुकै परिवेशमा आएको भएपनि अहिलेको परिवेशमा पनि उत्तिकै सानदर्भिक रहेको उक्त ऐनको दफा २ मा विशेष व्यवस्था गर्ने अधिकारः को प्रावधान गर्दै नेपालभर वा त्यसको कुनै भागमा मानिसमा कुनै संक्रामक रोग उब्जेमा वा फैलिएमा वा फैलिने सम्भावना देखिएमा नेपाल सरकारले सो रोग निर्मूल गर्न वा रोकथाम गर्न आवश्यक कार्बाही गर्न सक्छ र सर्वसाधारण जनता वा कुनै व्यक्तिहरूको समूह उपर लागू हुने गरी आवश्यक आदेश जारी गर्न सक्नेछ” भन्दै सरकारलाई विशेष निर्णय गर्नसक्ने मार्ग प्रशस्त गरेको छ । उक्त दफामा कुनै संक्रामक रोग फैलिन सक्ने सम्भावना रहेमा नागरिकहरूको कुनै समूहलाई मात्र लागू हुने गरी समेत आदेश जारी गर्न सक्ने व्यवस्था गरिएको छ । त्यसै गरी सोही ऐनको दफा ३ मा “... त्यस्ता यात्रुलाई कुनै संक्रामक रोग लागेको छ भन्ने शंका लागेमा जाँचबुझ गर्न खटिएको कर्मचारीले त्यस्तो यात्रुलाई अस्पताल वा अन्य स्थानहरूमा अलग गरी राख्न वा कुनै किसिमबाट ल्याउन लैजान वा सफर गर्नमा समेत निरिक्षण र नियन्त्रण गर्नका लागि आवश्यक आदेशहरू जारी गर्न सक्नेछ” भन्दै शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिने, जाँचबुझका लागि अस्पताल पठाउने वा छुट्टै कुनै ठाउँमा राख्न सक्ने व्यवस्था गरिएको छ । यसबाट अहिलेको क्वारेन्टाइन वा आइसोलेशनको परिकल्पना उहिलेनै गरिएको र त्यस्तो समयमा विशेष व्यवस्था गर्न सकिने प्रावधान गरिएको छ । सोहि प्रावधान अनुरुप सरकारलाई असहाय तथा असंगठित मजदुरहरूलाई विशेष राहत प्याकेजको व्यवस्था गर्न बाटो खुलेको छ । सोहि बमोजिम हाम्रो सरकारले दैनिक ज्याला मजदुरी गरी खाने, आफ्नो रोजगारी केही नभएका व्यक्तिहरूलाई लक्षित गरी राहत वितरण गर्ने निर्णय गरिसकेको छ । आफ्ना विपन्न नागरिकहरूलाई सहुलियत राहत दिनु राज्यको कर्तव्य नै हो । हाम्रो सरकारले गर्ने निर्णयहरूमा कुनै शंका गर्नुपर्ने ठाउँ हुँदैन तर यसको कार्यान्वयन पक्ष भने सारैनै फितलो हुने गर्छ । निर्णय जतिसुकै राम्रो भएपनि यसको कार्यान्वयन राम्रो हुनसकेन भने त्यसको अर्थ रहँदैन ।
विभिन्न संघसंस्था तथा सरकारका विभिन्न निकायहरूबाट वितरण हुने राहतमा सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरूको सहज पहुँच पुगोस भन्ने हाम्रो चाहना हो । हाम्रो परम्परागत चिन्तन भनेको बलिया बाङ्गाहरूको पहुँच पुग्ने तर निमुखाहरूले राहत प्राप्त गर्ने अवस्था नहुने हो । तर अहिले आएर त्यस किसिमको कुप्रथाको अन्त्य गर्दै सकारात्मक रुपमा सोच्न थालिएको छ । राज्य कल्याणकारी हुनु पर्छ । कानूनले निर्बलियाले बलियाबाट अधिकार पाउनमा मद्दत गर्नुपर्छ ।
असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायहरूलाई उपलब्ध गराइने राहत सम्बन्धी मापदण्ड २०७६ को दफा २(ख) मा ”असहाय भन्नाले कसैको लालनपालनमा नरही अशक्त तथा आवास विहीन भइ मन्दीर, आश्रम, धर्मशाला, गुम्बा, मस्जिद, गुरुद्वारा, चर्च वा बृद्धाश्रममा बस्ने व्यक्ति सम्झनु पर्छ” भन्दै असहायको परिभाषा गरि रहँदा पराश्रित, आफ्नो कोही र केही नभएका विभिन्न प्रकारका असहाय-अपाङ्गता भएका व्यक्तिहरूलाई कतैबाट पनि सम्बोधन गरिएको छैन । यस किसिमको मापदण्ड बनाइदा अपाङ्गता भएका व्यक्तिहरू किन र कसरी छुटाइए यो भने सोचनीय विषय हो । यो मापदण्ड सरसर्ती हेर्दा यसले अपाङ्गता भएका व्यक्तिहरूलाई समेट्न सकेको देखिएन । अपाङ्गता अधिकारको आन्दोलनमा कार्यरत रहिरहँदा राज्य पक्षबाट घोषणा हुने राहत सहुलियतमा सामान्य परिस्थितिमा समेत काम गर्न विशेष व्यवस्थाको आवश्यकता पर्ने व्यक्तिहरूलाई यस्तो विषम परिस्थितिमा छुटाइनु कति गम्भीर विषय हो ? यसमा सम्बन्धित सबैको ध्यान जान जरूरी छ । जोखिमको यस घडिमा शारीरिक बनावटका कारणले गर्दा सरुवा रोगबाट जोगिन अतिनै गाह्रो पर्ने वर्ग् राज्यबाट प्राप्त हुने राहत तथा सहुलियतमा पनि कृपापात्रको रुपमा विचरा बनेर आशावादि मात्र हुनु पर्ने हो भने यो विडम्बना नै हुनेछ ।
जेहोस् सम्पूर्ण विश्व जगत नै महामारीबाट आक्रान्त रहेको अवस्थामा राज्यले असहाय वर्गका लागि ल्याएको राहत कार्यक्रम सह्रानीय नै छ । एकातिर सबै जना व्यक्तिगत रुपमा कोरोना संक्रमणबाट जोगिनु पर्ने अवस्था छ भने अर्को तर्फ विभिन्न संवेदनशील वर्गहरूलाई सुरक्षित राख्नु पर्ने दायित्व पनि उत्तिकै महत्त्वपूर्ण छ । त्यसैले यो विषम परिस्थितिमा सबै नागरिकहरू आ-आफ्नोठाउँमा कर्तव्यनिष्ठ र राज्यका निकायहरू जिम्मेबार र उत्तरदायी बनेर विश्वब्यपी यस महामारीबाट मानव जगतलाई सुरक्षित राख्नु आजको प्रमुख कार्य बनेकोछ । हाम्रा विद्यमान कानूनहरूको उचित कार्यान्वयन गरी आवश्यक परेमा विशेष निर्णय समेत गर्दै आम नागरिकहरूलाई अभिभावकत्त्व प्रदान गर्नु सरकारको दायित्व हो भने जिम्मेवार र कर्तव्यनिष्ठ नागरिक बन्नु हामी सबैको उत्तरदायित्त्व हो ।
कान्तिपुर मा प्रकाशित