कम्प्युटर शिक्षण आफैमा रमाइलो र अप्ठ्यारो विषय हो । प्राविधिक विषय हुनाले यसको अध्ययन र अध्यापनमा निरशपन हुँदैन । अंग्रेजी वा गणित जस्तो विद्यार्थीले सम्झन अल्छि मान्ने खालको विषय पनि होइन यो । एउटा शिक्षकले जसरी विद्यार्थीलाई गणित पढाउदा दिक्क लाग्दो हुन्छ त्यस विपरित कम्प्युटर पढाउँदा विद्यार्थीहरू बढि रमाउछन । किनकि यो विषय सैद्ध्यान्तिक रुपमा जम्मा ५० प्रतिशत र प्रयोगात्मक रुपमा ५० प्रतिशत आफैले तत्काल परिणाम निकाल्न सक्छन ।
म एक दृष्टिविहीन शिक्षक । एउटा Mouse Pointer को सहायताले गर्नु पर्ने सबै काम कि बोर्डको सहायताबाट मात्र गर्नु पर्दा Graphics कार्यहरू स्वाभावैले कठिन हुन्छन् । तर जहाँ इच्छा त्यहाँ उपाय भने जस्तै यो पनि असम्भव भने छैन । म आफैले कम्युटरमा विभिन्न चित्रहरू बनाउन त सक्दिन तर मैले गरेको निर्देशनको पालनाबाट मेरा विद्यार्थीहरू भने यो कार्य सहजै गर्न सक्छन, गरिरहेकै छन । मैले मेरो Laptop मा रहेको Screen Reader Software JAWS, NVDA को माध्यमबाट कम्प्युटरका Instructions र Commands हरु सुन्छु र विद्यार्थीहरूलाई सोहि बमोजिम गर्न लगाउँछु । यसरी विद्यार्थीहरूले सहजै रुपमा सिक्न सकेका छन् । नेपाल सरकारले निर्धारण गरेको पाठ्यक्रमले तोकेका सबै जसो क्रियाकलापहरू छोडिएका छैनन । सानो कक्षादेखि शुरु गरिएको Computer Education तल्ला तल्ला कक्षाहरूमा Lab Work भन्दा बढि जानकारीमूलक प्रकृतिको छ । सानो कक्षामा अध्ययनरत विद्यार्थीहरू उमेरका हिसाबले पनि माथिल्ला कक्षाकाभन्दा भिन्न र चन्चले स्वभावका हुन्छन् । उनिहरूको जिज्ञासु तर अति नै चन्चल स्वभावको सन्तुलन मिलाएर उनिहरुलाई प्राविधिक ज्ञान हासिल गराउनु त्यति सजिलो भने हुँदैन । त्यतिमात्र होइन बेलाबेला देखिने Hardware मर्मतको पक्ष अझै ठूलो समस्याका रुपमा देखा पर्छ । जसले गर्दा धेरै कम्प्युटरहरू सानो Hardware समस्याका कारण नचल्ने समस्या भोग्नु परेको छ ।
अर्काको देखा सिकि गरी सिक्ने विषयलाई निर्देशनकै भरमा सिकाउनु आफैमा बढि मेहनत गर्न पर्नुलाई अन्यथा मान्नु भएन । हाम्रा सरकारी विद्यालयका विद्यार्थी संख्या र राज्यको लगानीको सन्तुलन त मिलेको छैन नै यसमा पनि शहरिया र गाउले परिवेश धेरै भिन्न छ । स्रोत र साधनमा व्यक्तिका पहुँचका हिसाबले पनि गाउँ र शहर वीस असीको अनुपातमा छ । सोहि पाठ्यक्रममा निर्धारित पाठ्यपुस्तकलाई शैक्षिक सामाग्री सम्पन्नतामा अध्यापन गराउनु र केवल पुस्तक हेरेर मात्र अध्यापन गर्नु धेरै अन्तर हुन्छ । कोरा सैध्यान्तिक विषय पढाउनु भन्दा प्रयोगात्मक सहितको प्राविधिक विषय पढाउनु फरक र दुःख छ । किनकि सैध्यान्तिक विषयमा विद्यार्थीले ज्ञान हासिल गरे नगरेको मापक केवल परिक्षाको मार्कसिट मात्र हो तर प्रयोगात्मक विषयको मापक त तत्काल उसलाई प्रयोगशालामा परीक्षण गरी हेर्न सक्छ । मैले अनुभव गरेको अर्को कठिनाइको पक्ष हो विद्यार्थीले तयार गरेको गृह कार्य वा उनिहररूले Computer Lab मा तयार गरेका Graphics Results हरुको उचित मूल्याङ्कन गरी तत्काला सुझाव दिन पनि गाह्रो पर्छ ।
कम्प्युटर एउटा विद्युतीय मेशिन हो । यसलाई प्रयोग गर्न विद्युतीय शक्तिको आवश्यक पर्छ । करेन्टकै आधारमा मात्र चलाउन सकिने यस्ता मेशिन दृष्टिविहीन शिक्षकद्वारा चलाउनु आफैमा जोखिम पनि हुन्छ त्यसै त साना विद्यार्थीहरू लाई यसको खतराबाट टाढा राख्नु पर्नेमा उनिहरूकै सहयाताबाट विद्युतीय कार्य गर्न पर्नु अतिनै संवेदनशील काम हो । ससाना विद्यार्थीहरूको पठन पाठन एउटा नौलो परिक्षण हो । हेरेर सिक्ने र भनेर सिकाउने बिचको कठिनाइ सहज रुपमा महशुस गर्न सुनेर वा पढेर होइन सम्बन्धित ठाउँमा उपस्थित भएर मात्र महशुस गर्न सकिन्छ । पहुँचयुक्तताका हिसाबमा सामान्य स्क्रिन रिडर बाहेक कुनै साधान स्रोत नभएको अवस्थामा आफ्नो नीजि ल्यापटपको स्क्रिनरिडरको सहायताले कक्षा २ देखि ८ सम्मका विविधतायुक्त विद्यार्थीहरूको आवश्यकता पुरा गर्नु त्यति सजिलो छैन । ससाना विद्यार्थीहरूले जथाभावि प्रयोग गरेर ल्याउने समस्या त्यसको नियमित मर्मत सम्भारको अभाव सबै दैनिक भोगिएका यथार्थहरू नै हुन । राज्यले अन्य विद्यालय सरह दिने सुविधा वाहेक केहि दिनु पर्छ भन्ने सम्मको चेतना समेत सम्बन्धित निकायमा नरहेको देखिन्छ । दृष्टिविहीन शिक्षक र देख्ने विद्यार्थी बिचको तालमेल अनि विद्यार्थीले स्वभाविक रुपमा गर्ने बदमासी सामान्य र यथार्थ नै हुन ।
निर्धारित पाठ्यक्रममा आधारित पाठ्यपुस्तक तथा निर्देशिकाहरू पनि दृष्टिविहीन मैत्री छैनन् । आम शिक्षकहरूलाई मध्येनजर गरि निर्धारण भएका पाठ्य र प्रयोग सामाग्रीहरूको प्रयोग गरी आधारभूत तहको शिक्षा प्रदान गर्नु एक दृष्टिविहीन शिक्षकलाई ठूलै चूनौति र अवसर हो । राज्यले प्राविधिक शिक्षा दृष्टिविहीन मैत्री बनाउन नसक्नु उसको कमजोरी हो । पाठ्यक्रम विकास केन्द्रले सरकारको पाठ्यक्रमलाई MP3 फर्म्याटमा उत्पादन गरी दृष्टिविहीन शिक्षकहरूलाई बितरण नगरिएको त होइन । तर यो अति सिमित मात्र छ ।केही संघ गैर सरकारी संस्थाहरूले सिमितरुपमा तयारगरेका अडियो MP3 र डेजी भर्सनका पाठ्य पुस्तकहरू बाहेक सरकार कुनै चासो राखेको छैन ।
नेपालको संविधानले आधारमूतहको शिक्षा सबैका लागि निशुःल्क र अनिवार्य गरेको भए पनि पाठ्यक्रमले यसलाई सर्वसुलभ गराउन सकेको छैन । हुनतः नीति निर्माण तहमा जबसम्म दृष्टिविहीन व्यक्तिहरूको उपस्थिति र हस्तक्षेपकारी पहुँच पुग्दैन त्यति बेलासम्म अपाङ्गता मैत्री परिवेशको परिकल्पनासम्म पनि गर्न सकिन्न । यसका लागि सम्बन्धित वर्गका संघसंस्थाहरूको समयोचित र आवश्यकता अनुसारको एडभोकेसीको जरुरी पर्छ ।
हुनत दृष्टिविहीन शिक्षकले देख्ने विद्यार्थीहरूलाई प्राविधिक विषय अध्यापन गराउनेको संख्या थोरै होला । त्यसैले यसमा राज्यपक्षले ध्यान नदिएको पनि हुन सक्छ । यसो भनेर राज्यले आफ्नो लाचारीपन ढाकछोप गर्न मिल्दैन । प्राविधिक विषयको शिक्षण गर्ने दृष्टिविहिन शिक्षकहरू कम संख्यामा रहेको भए पनि गैर दृष्टिविहीन विद्यार्थीहरूलाई विभिन्न विषयहरू अध्यापन गराउने दृष्टिविहीनशिक्षकहरूको संख्या भने आधा हजार जति छ । मुलुकको यति ठूलो जनशक्तिले आफू अनुकुल कुनै पठन पाठनका सामाग्री पाउन सकेको छैन । चाहे सामाजिक नेपाली गणित नैतिक वा अंग्रेजी अध्यापन गर्ने शिक्षक जो कोहि किन नहोस उसले दृष्टिविहीन मैत्री शैक्षिक सामाग्री प्राप्त गर्न सकेको छैन ।
आदिम काल तिरका अपाङ्गता भएका व्यक्तिहरू जसरी समाजमा घृणित व्यवहार सहन वाध्य थिए त्यो व्यवहार आजको एक्काइसौ शताब्धीमा पनि महशुस गर्न पर्नु हुँदैन । आजको युग सबै नागरिकहरू उत्पादनमूलक हुनु पर्ने युग हो । राज्यले भत्ता ख्वाएर पाल्नु पर्ने दृष्टिविहीनहरूको ठूलो हिस्सा आमनागरिक सरह देश निर्माणमा सरिक छ । थोरै उचित अनुकुलताको व्यवस्था राज्यले मिलाउने चेष्टा मात्र गरिदिने हो भने पनि देशभरका सबै उच्चशिक्षा हासिल गरेका दृष्टिविहीनहरू मुलुक निर्माणमा अन्य आम नागरिक सरह योगदान गर्न तयार छन् । यसका लागि राज्यले नीति निर्माण तह र कार्यान्वयन तहमा सबैको पहुँचको उचित प्रवन्ध मिलाई हरेक संयन्त्र संविधानको मर्म अनुरुप समावेशी बनाइनु पर्छ । प्राविधिक शिक्षण समेत पहुँचयुक्त बनाइनु पर्छ ।
राज्यका हरेक सूचनाहरू दृष्छिविहीनहरूले थाहा पाउन वा पढ्न सक्ने फर्म्याटमा उपलब्ध हुनु पर्छ । सबै सरकारी कागजातका E-copy हरू कम्तिमा युनिकोडमा राखिनु पर्छ । उदाहरणका लागि नेपाल कानून आयोगले तयार गरी आफ्नो वेभ पेजमा राखेका सबै ऐन कानूनहरू यदि युनिकोडमा राखिएको भए कति सहजरुपमा दृष्टिविहीनहरूले आफै अरुकसैको सहयोग विना अध्ययन गर्न पाउने थिए । के कानून आयोग यो कुरामा सचेत छ ? वा जानिजानी उसले बदनियत पुर्वक दृष्टिविहीनहरूलाई बन्चित गर्न खोजेको हो ? यसको निर्क्योल हुनु जरुरी छ । त्यसै गरी पाठ्यक्रम विकास केन्द्रले जारी गरेका सबै पाठ्यक्रमहरू युनिकोडमा राखिदिदा के आपत्ति छ ? आखिर युनिकोडमा राखिएका सबै दस्तावेज दृष्टिविहीनहरू बाहेक अन्य नागरिकहरूले पढ्न त कुनै बाधा पर्दैन नि ।
जे होस तलतिर गइरहेको बिजुली भर्याङ्गमा माथि चढे सरी मेहनत गरेरै भए पनि सबै दृष्टिविहीन शिक्षकले प्रतिकुल र शैक्षिक सामाग्री अभावमा समेत राज्यको निर्धारित नियमकानून बमोजिम नै पठन पाठन गरिरेकै छन् । राज्यले दृष्टिविहीन मैत्री र पहुँचयोग्य वातावरणको सिर्जना गरी देशका सबै नागरिकहरूलाई वास्तविक समानताको व्यवहार गर्ने मनसाय राखोस । हामी जस्ता दृष्टिविहीन शिक्षकहरूले पनि अपनत्वका साथ मुलुकका सबैसूचनाहरू ग्रहण गर्न सकौं र मुलुकलाई केहि न केही योगदान गर्न सक्ने वातावरण बनोस ।सबै प्राविधिक शिक्षा शिक्षण सर्व सुलभ र दृष्टिविहीन मैत्री बनाइयोस ।
कान्तिपुर मा प्रकाशित